००>> कथा <<०० "डायरी" - ऋिषिराम पाण्डेय





म डायरी लेख्ने मानिस नै कहाँ हुँ र ? साहै्र अल्छी लाग्छ डायरी लेख्न । २८ वसन्त पार गरिसक्दा जम्मा दुई-तीनपल्ट लेखें हुँला । आज पनि विशेष दिन परेकाले मात्र हो नत्र किन लेख्थें ? गीत गाउन भनेर निमन्त्रणा गरेपछि म अमेरिका आएकी छु । यो मेरो पहिलो रात हो-विदेशमा । कस्तो-कस्तो लागिरहेछ । म अचम्मित हुन्छु आफ्नो विगत सम्झँदा । यो दुई महिनामा कति परिवर्तन आयो ममा ? छ महिनाअघि मेरो गीत एक्कासि सुपरहिट भयो । सोच्दै सोचेकी थिइन । खासै परिश्रम पनि कहाँ गरियो र ? कहिले कसरी हिट भइन्छ थाहै नहुने रहेछ । यो राम्रो हुन्छ होला भन्ने गीत फ्लप जान्छ जुनबाट आशा गरिँदैन त्यसैले परिचय बनाइदिन्छ आफ्नो । मेरो गीत लोकपि्रय भएपछि जीवनमा पनि एकाएक परिवर्तन आयो । सोच्दै नसोचेको परिवर्तन । घर र गाडी किनें । म पहिले पैदल हिँड्थें । त्यही एउटा गीतले नाम र पैसा सबै दियो । 

हुन त म १० वर्षदेखि संगीत क्षेत्रमा समर्पित हुँदै आएकी छु । दस वर्षभित्रमा त्यस्तो कुनै खास उल्लेख्य घटना घटेनन् । आठ-आठवटा एल्बम निकालिसक्दा पनि मलाई कसैले चिनेका थिएनन् । मेरो आर्थिक अवस्था अत्यन्तै कमजोर थियो । भाडाको एउटा कोठामा साथीसँग मिलेर गुजारा गरिरहेकी थिएँ । विवाहका सम्बन्धमा त सोचेकै थिइन । घरपरिवारले पनि त्यति वास्ता नगर्ने । दसैंमा गइन्थ्यो, खासै राम्रो सम्बन्ध पनि हुन सकेन । गीत हिट भएपछि त उनीहरूले पनि दिनहँु फोन गर्न थाले । केटाहरू पनि तर्किएर हिँड्थे । अहिलेसम्म २ सयजति प्रेमपत्र आइसके । कम्प्युटर पनि सपनै थियो । अहिले ल्यापटप छ, नेट जोडेकी छु । फेसबुकमा १० हजारभन्दा बढी प्रशंसक भैसके । फुर्सद नै कहाँ हुन्छ र अचेल ? एकछिन पनि फुर्सद नपाइने । सेलीब्रेटी हुनु पनि अनौठो कुरा रहेछ । अरूकै लागि बाँचिदिनुपर्ने जस्तो । कहिले कुन एफएमले बोलाउँछन् कहिले कुन टेलिभिजनले ? एफएम र टेलिभिजन त छ्यासछ्यास्ती भैसके नेपालमा । कहिले फेरि सद्भावना दूत भैदिनुपर्‍यो भन्छन् विभिन्न संघ-संस्थाले । हामी कलाकारहरूको गीत हिट नहुन्जेलसम्म हरिबिजोग हुन्छ । यो पनि छ भनेर कसैले वास्ता गर्दैनन्, पछि सबैजना झुक्न आउँछन् । एकैपटक पाँचवटा फिल्ममा गाउन अनुबन्धित भैसकें । अर्काे आधुनिक गीतको एल्बम निकाल्नुपर्छ भनेर म्युजिक कम्पनीहरू पछाडि लाग्यालाग्यै छन् । आठवटा एल्बम निकाल्दा कम्ती दुःख पाइन मैले । अरूकै चाकडी गर्नुपर्ने । जागिरबाट कमाएको ८-१० हजार पनि जम्मा गरेर मिसाएँ । एल्बमबाट नाफै हुँदैन भनेर कसैले वास्ता नगर्ने । साथीहरूलाई भनेर मिलाइयो । पढ्दै पनि थिएँ । नपढेकी भए ठूलो दुःख पाउने रहेछु । क्याम्पस नै नगई डिग्री पास गरें, राम्रो जागिर पनि पाएँ । गीत-संगीतको काममा सधैं १०-११ बज्थ्यो कोठा पुग्न । अहिले जागिर छोडें तर पनि फुर्सद छैन । 

के सम्भिmनु ती कुराहरू ? एल्बम निकाल्यो, एफएमका कार्यक्रम संचालकहरूको हात जोड्नुपथ्र्यो । एफएम र टेलिभिजनमा विज्ञापन नदिइनहुने । पैसाको निकै समस्या हुने । सबै एफएम र टेलिभिजनमा आफैं धायो, ताकेता गर्‍यो । कहिले संचालकसँग भेट नहुने, कहिले फुर्सद नहुने । यो गीत-संगीत क्षेत्र नै छोडिदिऊँजस्तो लागेको थियो । साथीहरूसँग मिलेर स्कुल खोल्नुपर्ला भन्ने लागेको थियो । जति संघर्ष गरे पनि उपलब्धि भने हुँदै नहुने । रुचि हो मात्र भनेर के गर्नु भन्ने लागेको थियो । धन्न त्यतिबेला छोडिएन । छोडेको भए यो अवस्था नआउने रहेछ । धैर्य भन्ने कुरा पनि कस्तो हुँदो रहेछ । धैर्य गर्न सार्‍है गार्‍हो । धैर्य नगरी सफलता नै हासिल नहुने । धैर्य नगर्ने मानिसले वास्तविक सफलता हासिल गरेका छन् र ? 

बितेका १० वर्षमा मैले धेरै अनुभव प्राप्त गरिसकेकी छु । स्टुडियोबाट फकर्ंदा पाएका सास्तीहरू कहाँ बिर्सन सकिन्छ र ? पुरुषहरूले हेर्ने दृष्टिकोण पनि गबजको हुँदो रहेछ । एकपटक एक जनाले आफ्नो बाइकमा कोठामा पुर्‍याउन लग्दा अन्तै लगेर जबर्जस्ती गर्न खोजेको थियो तर मैले उसलाई त्यस्तो अवसर नै दिइन । त्यतिबेला उसले मलाई निकै प्रलोभन देखाएको थियो । यस्तै प्रकृतिका धेरै घटना घटे तर मैले आफ्नो आत्मविश्वासलाई कहिल्यै डगमगाउन दिइन । आ...सबै पुरुष कहाँ त्यस्ता हुन्छन् र ? मलाई निःस्वार्थ भावले सहयोग गर्ने धेरै पुरुष नै छन् । 

जीवन पनि अचम्मको हुँदो रहेछ । आफैंले आफैंलाई बुझ्न नसकिने । गीत सुपरहिट भएपछि मैले बोल्न सिकंे, आफूलाई आकर्षक बनाउनुका साथै मेकअप पनि गर्न सिकें, त्यसअघि मैले कहिल्यै मेकअप गरिन । मलाई मन पनि पर्दैनथ्यो । म यस्ती कहाँ थिएँ र पहिलेको फोटो हेर्दा छुट्याउनै गार्‍हो पर्छ ।

अहिले त सीआरबीटी पनि खुब चलेको छ । मेरै गीत २ लाखजतिले डाउनलोड गरे । मैले फोन गर्दा पनि सबैको मोबाइलको रिङव्याक टोन मेरै गीत हुन्छ । बाटोमा हिँड्नै नहुने, ठूलै भीड लाग्छ । समय नभएको बेलामा अझ गार्‍हो हुने, अटोग्राफ मागेर हैरान । अहिले त दुःख मान्ने फुर्सद पनि हुँदैन । 

भेटघाट पनि अहिले निकै बाक्लो हुन्छ । सबैलाई समय दिन पनि मुस्किल पर्छ । भेट हुने अवसर मिलेन भने कति ठूली भइछ भन्छन् । व्यक्तिगत जीवन नै नहुने । पहिले-पहिले बसेर घन्टौं गफ गर्ने साथीहरूले अझ नराम्रो भन्छन्, 'को हो र त्यो अस्ति भर्खर हामीसँग दुःख पोख्थी । खानै मुस्किल परेको कुरा गर्थी । अहिले च्याठ्ठएिर हिँड्छे । हामीलाई त गन्दै नगन्ने भई ।' यस्ता कुरा सुनेर दुःख लागे पनि मैले केही गर्न सक्ने स्थिति छैन । उनीहरूको कुरा पनि ठीकै हो । जस्तो देखे त्यस्तै भने । मेरो ठाउँमा उनीहरू भैदिएको भए थाहा पाउने थिए । ठीकै छ अरूको दृष्टिकोण जस्तो भए पनि मैले आफूप्रतिको दृष्टिकोण बदल्नु हुँदैन । म एक सफल गायिका हुँ र मैले सकेसम्म अरूलाई खुसी बनाउने प्रयत्न गर्नुपर्छ । बिनाकारण अरू दुःखी बन्छन् भने मेरो के लाग्छ र ? 

देशभरि डुलेर गीत गाएँ । श्रोताहरूको माया सम्झँदा अझै पनि आँखाबाट हर्षका आँसु बग्छन् । माया भन्ने कुरा पनि कस्तो ? निःस्वार्थ मायाले मुटु नै भरिएर आउँछ । गाउँतिर जाँदा त उनीहरूले भगवान् नै सम्झेर सत्कार गरे । भक्तिभाव पनि अनौठो ? त्यस्तो सत्कारका निम्ति म योग्य छैन कि जस्तो लाग्छ । हजारौंको भीडमा गीत गाउँदाको अर्कै मज्जा हुन्छ । केटाकेटीले अझ पछ्याउने । मैले नम्र भएर बोली दिएर होला । एउटी ६-७ वर्षकी बच्चीले भनेकी थिई-'म पनि ठूली भएर तपाइर्ंजस्तै गीत गाउने,' उसले त्यो कुरा गर्दा मलाई मेरो बाल्यकालको सम्झना आयो ।

अफिसमा कामकाजमा पनि कति सजिलो भएको छ । काम लिएर जाँदा पर्खनै नपर्ने । पत्रपत्रिकाले मेरा बारेमा लेखिरहने । टेलिभिजन र रेडियोले प्रसारण गर्ने । सानो कुरालाई पनि महत्वका साथ बाहिर ल्याउने । कहिलेकाहीँ त नभएका कुराहरू पनि बाहिर आएका छन् । म पनि ती कुरालाई वास्ता नगरी हिँड्छु । 

अमेरिका आउने बेलामा पनि त कति सजिलो भयो । पासपोर्ट बनाएपछि भिसाका लागि पर्खनै परेन । अमेरिकामा रहेका नेपालीहरूले निमन्त्रणा गर्नुभयो । भोलि एउटा स्टेज कार्यक्रम छ । एक सातापछि अर्काे । नेपाल फर्किएपछि हङकङ, दुबई, मलेसिया आदि देशबाट निमन्त्रणा आएकाले त्यता जाने प्रक्रिया पनि सुरु गर्नुपर्ला । 

डायरी भयो कि अरू केही भयो ? वास्तवमा मलाई डायरी लेख्न आउँदैन । ठीकै त छ नि कसैले पढ्ने पनि होइनन् किन त्यति सार्‍हो डराउनुपर्‍यो । यो त नितान्त व्यक्तिगत हुन्छ नि । ओहो, एक बजिसकेछ, अब राम्रोसँग सुतिएन भने भोलि गार्‍हो पर्ला ।