उच्च शिक्षामा गर्नुपर्ने लगानीबाट सरकारले हात झिक्न खोजेको आरोप


काठमाडौं, चैत १२- अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले उच्च शिक्षामा गर्नुपर्ने लगानीबाट सरकारले क्रमशः हात झिक्न खोजेको भनी त्यसप्रति गम्भीर असहमति जनाएको छ।




अनेरास्ववियूको यही चैत ७ देखि ९ गतेसम्म पोखराको लुम्लेमा बसेको २१औं राष्ट्रिय सम्मेलन आयोजक कमिटीको प्रथम बैठकले गरेका निर्णयहरु आज यहाँ पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै मुलुकका विभिन्न स्थानमा विश्वविद्यालयको घोषणा मात्र गरिएको भन्दै सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण र सञ्चालनमा सहयोग पुर्‍याउन सम्बन्धित पक्षसँग माग गरेको हो।
बैठकले त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान डिनको कार्यालयले उपत्यकाभन्दा बाहिर इन्जिनियरिङ अध्ययन संस्थानहरुलाई अध्यापन अनुमति दिन आनाकानी गरिरहेकोप्रति आपत्ति जनाउँदै मोफसलमा रहेर मापदण्ड पूरा गरेका शैक्षिक संस्थाहरुलाई अध्ययन अनुमति प्रदान गर्न माग गरेको छ।
विज्ञप्तिमा भनिएको छ, "भर्खरै सरकारले यातायातको क्षेत्रमा गरेको भाडावृद्धि तुरुन्त फिर्ता गर्नुपर्छ, ४५ प्रतिशत विद्यार्थी सहुलियतलाई कडाइकासाथ कार्यान्वयन गरिनुपर्छ।"

अनेरास्ववियूका अध्यक्ष माधव ढुङ्गेलले सर्वोच्च अदालतले आजीवन काराबासको सजाय तोकेका बालकृष्ण ढुङ्गेललाई गिरफ्तार गरी कारबाही गर्नुपर्ने, सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्नुपर्ने, भारतसँग गरिएको बिप्पा सम्झौता खारेज गर्नुपर्ने बताए। रासस