कृषि क्याम्पसको लागि ३२ लाखको जग्गा दान


सुर्खेत, चैत १२- कृषि क्याम्पस स्थापनाको लागि कुनाथरीका सहबीर थापाले ३२ लाख रुपैयाँ बराबर जग्गा दान गरेका छन्। बड्डीचौरमा सञ्चालन भइरहेको धार्मिक महायज्ञमा उनले आइतबार १६ रोपनी खेत दिएका हुन्।


थापाले स्वर्गीय बुवा रत्नबहादुरको प्रेरणामा शिक्षाको लागि जग्गा दान गरेको बताए। रत्नबहादुर कुनाथरीस्थित जनज्योती उच्च माविका संस्थापक हुन्। 'धन सम्पत्तिभन्दा शिक्षा ठूलो हो भन्ने बुवाको प्रेरणाबाट उहाँकै सम्झनामा जग्गा दान गरेको हुँ,' उनले भने, 'मेरो योगदानले शिक्षाको ज्योती फैलिन्छ भने म यसमै खुसी हुनेछु।' आमाको हौसलाले जग्गा दान गर्न थप प्रेरणा मिलेको उनले बताए।




जग्गा दान गरेपछि महायज्ञ आयोजकले थापालाई फूलमाला र अबिर लगाएर बजार परिक्रमासहित अभिनन्दन गरेका थिए। जनज्योती उमाविका प्राचार्य नारायण सिग्देलले महायज्ञमा संकलित यो सबैभन्दा ठूलो दान भएको बताए। 'शिक्षाको लागि मान्छेले ठूलो मनसहित दान गर्न अग्रसर हुनु खुसीको क्षण हो,' उनले भने, 'यसबाट कृषि क्याम्पस स्थापना गर्ने हाम्रो सपना पूरा हुने निश्चित भएको छ।' उनले पहिलो र दोस्रो दिन करिब ४६ लाख रुपैयाँ संकलन भएको उनले बताए।
महायज्ञ आयोजक समितिको घोषणा अनुसार स्थापना हुने कृषि क्याम्पस भवनको नाम थापाले चाहेको नामबाट राखिने छ। आयोजक समितिले ४१ लाखभन्दा बढी दान गर्नेले चाहेको नाममा भवनको नामाकरण गर्ने प्रतिवद्धता गरेको थियो। ५१ लाखभन्दा बढी दान गर्नेको नाममा क्याम्पसको नामाकरण गरिने आयोजकको भनाइ छ।
महायज्ञमा हालसम्म जगत मर्स्याङीले दुई लाख ११ हजार, भीमराज पौडेलले एक लाख ११ हजार, धनबहादुर सिजालीले ८५ हजार, धीरज महताराले ६२ हजार, झक्कड बस्नेतले ५२ हजार, यदु ज्ञवालीले ५१ हजार, शीतत एग्रोभेटका डिल्लीप्रसाद पाण्डेल ११ हजार दान गरेका छन्। अन्यले जग्गा दान गरेका महायज्ञ आयोजक समितिका किरण बस्नेतले जानकारी दिए।