लामखुट्टेबाट बच्ने उपाय



वषर्ा बोट-बिरुवा तथा वातावरणका लागि उपयुक्त मानिन्छ । चारैतिर हरियाली तथा पानी परेर रोकिएपछि देखिने सफा वातावरणले सबैलाई लोभ्याउँछ तर यसका साथमा आउने कीरा, लामखुट्टे, साङ्ला, जुका आदिले भने हैरान पार्छन् । त्यसमा पनि यो मौसममा लामखुट्टेको रजाइँ चल्छ । लामखुट्टे सूर्योदय हुनुभन्दा पहिले तथा बेलुका देखिन्छन् । यो समयमा आफूलाई लामखुट्टेको टोकाइबाट सुरक्षित राख्नुपर्छ  । अण्डा बनाउन मानिसको रगतको सहारा चाहिने हँुदा पोथी लामखुट्टेले मानिसलाई टोक्छ । यसको टोकाइले मानिसमा एलर्जी हुन्छ । दैनिक बाहिर हिँड्नुपर्ने मानिस, कमजोर, रोगप्रतिरोधक क्षमता नभएका मानिस, बालबालिका तथा बाहिरबाट आउने मानिसलाई लामखुट्टेले बढी टोक्छ । लामखुट्टेले डेंगु, इन्सेफ्लाइटिस, मलेरिया आदि रोग सार्छ । यसबाट बच्न मस्क्युटो नेट, मस्क्युटो क्वायल, मस्क्युटो किलिङ बाई र्‍याकेट आदि प्रयोग गर्न सकिन्छ । यसका लागि सबैभन्दा सजिलो उपाय सुत्दा दैनिक झुल प्रयोग गर्नु हो। झुलको प्रयोगले केमिकलबाट हुने एलर्जीबाट टाढा रहन सकिन्छ । यसका साथै यो वातावरणमैत्री पनि हुन्छ । झुल लगाउन झन्झट मान्ने मानिसका लागि बजारमा विभिन्न खालका स्प्रे पनि उपलब्ध छन् । कुनै पनि खालको स्प्रे प्रयोग गर्नुभन्दा पहिले त्यसमा भएको लेबल राम्रोसँग पढ्नुपर्छ । कतिपय स्प्रे बालबालिकाका लागि हानिकारक पनि हुनसक्छन् । अहिले मस्क्युटो किलर र्‍याकेट पनि उपलब्ध छन् । त्यसैगरी बाहिर निस्कदा हातखुट्टालगायत खुल्ला ठाउँमा प्रयोग गर्ने क्रिम पनि पाइन्छ । लामखुट्टे आउने समयमा बाहिर निस्कदा क्रिम प्रयोग गर्नु राम्रो हुन्छ । 

लामखुट्टेबाट बच्न निम्न उपाय अवलम्बन गर्न सकिन्छ

    घरभित्र र बाहिर मस्क्युटो क्वायल प्रयोग गर्ने । 

    बिहान-बेलुकी घरबाहिर बस्दा पूर्णरूपमा शरीर छोप्ने पातलो पहिरन लगाउने । 

    बाथरुम प्रयोग गरेपछि त्यसको ढोका बन्द गर्दा पनि लामखुट्टे आउने समस्या धेरै हदसम्म कम हुन्छ । 

    सकेसम्म लामखुट्टे आउने समयमा बाहिर ननिस्कने । यदि निस्कनुपरे लामखुट्टेबाट बच्न खुल्ला ठाउँमा प्रयोग गरिने क्रिम प्रयोग गर्न सकिन्छ । यो क्रिम पहिरनले छोपिएको भागमा लगाउनु हुँदैन ।  

    सुत्नुभन्दा २-३ घन्टा पहिले लिक्विड अथवा स्प्रे प्रयोग गर्ने । यसले पनि लामखुट्टेबाट मुक्ति मिल्छ । 

    घरअघि पानी जम्मा हुने ठाउँ छ भने त्यसको रोकथाम गरी घर तथा वरपरको वातावरण सफा राख्नुपर्छ ।  

    प्राचीन समयमा लामखुट्टे भगाउन निमको पात प्रयोग गरिन्थ्यो । घरमा निमको रुख भए पात बालेर लामखुट्टे भगाउन सकिन्छ ।

लामखुट्टेले टोके निम्न उपाय 

अपनाउन सकिन्छ 

    लामखुट्टेले टोकेर चिलाएको ठाउँमा कागतीको रसले रब गर्न सकिन्छ । कागतीको रसमा चिलाउन कम गर्ने क्षमता हुन्छ । 

    लामखुट्टेले टोकेको ठाउँमा केराको बोक्राको भित्री भागले रगड्दा पनि केही हदसम्म ठीक हुन्छ । 

    लामखुट्टेले टोकेको ठाउँमा मह पनि लगाउन सकिन्छ । 

    लसुनले रगड्दा पनि लामखुट्टेले टोकेको दाग कम हुन्छ ।