सूचना-प्रविधि सिक्दै कांग्रेस सचिवहरु

पोखरा, साउन २१ (नागरिक)- पार्टीलाई प्रविधिको पहुँचसम्म पुर्‍याउने रणनीतिअनुरुप नेपाली कांग्रेसले सबै जिल्लास्थित सचिवहरुलाई सूचना-प्रविधिको प्रशिक्षण गराउन थालेको छ। पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले पहिलोपटक गरेको यस्तो प्रशिक्षणले पचहत्तरै जिल्लाका सचिवलाई प्रविधिको एउटै जालोमा समेट्ने उदेश्य लिइएको छ। सचिवहरुलाई सूचना संकलन र सम्प्रेषणका काममा चुस्त गराउन प्रविधिसम्बन्धी प्रशिक्षणको आवश्यकता धेरै पहिलेदेखि महसुस गरिँदै आए पनि यसको सुरुवात हुन सकेको थिएन। 


सोही आवश्यकताअनुरुप कास्की कांग्रेसको व्यवस्थापनमा शनिबार पोखरामा देशभरका सचिवहरुको प्रशिक्षण सुरु भएको हो। पार्टीका सभापति सुशील कोइरालाले शनिबार बिहान उद्‍घाटन गरेको प्रशिक्षणमा पचहत्तरै जिल्लाका एक सय ५० सचिव सहभागी छन्। तीन दिनसम्म चल्ने प्रशिक्षणमा उनीहरुलाई सूचना प्रविधिको प्रयोग, सूचना सम्प्रेषको तरीका र संगठन सुधारलगायतका विषयमा प्रशिक्षण गराइने कांग्रेसले जनाएको छ।
यस्तो प्रशिक्षणले पार्टीको केन्द्रिय सूचना तल्लो तहसम्म पुर्‍याउन र गाउँ-गाउँका सूचना तथा गतिविधि केन्द्रसम्म सजिलै प्रवाह गर्न सजिलो हुने काँग्रेसको विश्वास छ। काँग्रेसले आफ्नो कार्यालय र पदाधिकारीलाई सूचना-प्रविधिमा अभ्यस्त गराउन नसक्दा अन्य राजनीतिक दलको तुलनामा पछि पर्ने स्थिति छ। अहिले एक ठाउँबाट अर्को ठाउँमा सूचना पुग्न पुरानै हुलाकी शैली विद्यमान हुँदा त्यसको प्रभावकारितासमेत हुन छाडेपछि कांग्रेस यस्तो अभ्यासका लागि बाध्य भएको हो।
'त्यसैले कांग्रेस पहिलोपटक आफ्ना सचिवहरुलाई 'व्यवस्थापन विधि तथा प्रविधि'को प्रशिक्षणका लागि जुटेको हो' कास्की कांग्रेस सभापति यज्ञबहादुर थापाले भने,'सचिवहरुको काम-कारबाही चुस्त दुरुस्त गराउन हिजै यस्तो प्रशिक्षण अत्यावश्यक र महत्वपूर्ण थियो। ढिलै भए पनि हामी सही ट्रयाकमा छौं।'
उनले पार्टीका हरेक गतिविधिलाई सूचना-प्रविधिको पहुँचसम्म पुर्‍याउन र कार्यालय व्यवस्थापनदेखि संगठन विस्तारमा ठूलो सघाउ पुग्ने भएकाले यस्तो प्रशिक्षण लामो समयदेखि प्रतिक्षा गरिएको बताए।
'पार्टीको सम्पूर्ण सूचना संकलन र संप्रेषणको काम सचिवले नै गर्छन्' थापाले भने,'उनीहरुलाई उचित ज्ञान र प्रविधिको साथ नभई हुँदैन।' उनले पार्टीका सबै जिल्लास्थित कार्यालयलाई बेवसाइट र इमेलको सञ्जालमार्फत् जोडिने जानकारी दिए। यो कांग्रेस र अन्य पार्टीहरुकै इतिहासमा पनि पहिलो हुने उनको दावी छ।
पहिलोपटकको कार्यक्रम व्यवस्थापन गर्ने जिम्मा पाएको कास्की कांग्रेसका सचिव कृष्ण केसीले तीन दिने अवधिमा पार्टीको विधान, नियम र सांगठनिक संरचना, कार्यालय व्यवस्थापन, राजनीतिक सञ्चार, सोसल मिडिया, प्रतिपक्षीहरुको प्रचार संयन्त्र तथा प्रपोगाण्डा लगायतका विषयमा प्रशिक्षण गराइने जानकारी दिए।
'प्रशिक्षणमा प्रविधिलाई समयसापेक्ष रुपमा पार्टीका काममा उपयोग गर्ने व्यवहारिक ज्ञान मुख्यरुपमा रहनेछ,' केसीले भने, 'यस्तो प्रशिक्षणले पुरानो शैलीमा रहेको पार्टीको कार्यशैलीमा आमूल परिवर्तन आई कार्यालयको काम तथा सूचना प्रवाहमा छिटो-छरितोपना आउने विश्वास छ।'
उनकाअनुसार सहभागी सचिवहरुलाई १३ जनाले प्रशिक्षण गराउने छन्। जसमा प्रविधिसँग नजिक र अभ्यस्त रहेका पार्टीकै नेताहरु र केही व्यवसायीक एवं प्राविधिकले सघाउने छन्। प्रशिक्षणका लागि पार्टीकै आदर्शवादी नेता नरहरी आचार्यदेखि युवा नेता गगन थापा र अन्यमा बिनोद भट्टराई, धर्मेन्द्र झा, जय निशान्त, बसन्त गौतम लगायतलाई आमन्त्रण गरिएको छ।
उनीहरुले तीन दिनसम्म सैद्वान्तिक र व्यवहारिकरुपमा सचिवहरुलाई युग सुहाउँदो काम गर्ने गरी प्रशिक्षण गराउने केसीले बताए। प्रशिक्षणको औपचारिक उद्‍घाटनका लागि केन्द्रीय सभापति सुशील काइरालादेखि उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु गोपालमान श्रेष्ठ, सुजाता कोइराला, मिनेन्द्र रिजाल, कृष्णचन्द्र नेपाली लगायतका नेता पोखरा आएका छन्। पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवा भने प्रशिक्षणको समापनका लागि आउने कास्कीका सचिव केसीले बताए। उनले केन्द्रीय तहको आन्तरिक विवादका कारण नभई कार्य व्यस्तताले गर्दा प्रशिक्षणको उद्‍घाटन सभापति कोइराला र समापन वरिष्ठ नेता देउवाले गर्ने गरी तय गरिएको बताए।