साइबर बन्दै छ अपराध माध्यम



काठमाडौं, भाद्र २८ - हिमालयन ह्वाइटहाउस कलेजमा बीबीए (मोडिएटर) कार्यक्रम संयोजक नरेन्द्र देवकोटा आफ्नै क्याम्पसका निर्देशकदेखि शिक्षिकालाई फेक इमेलबाट धम्क्याएको आरोपमा समातिएका छन् ।
देवकोटाले रञ्जित हमालको नामबाट फेक इमेल आइडी खोलेर क्याम्पसका निर्देशकदेखि महिला शिक्षिकाको चारित्रिक आचरणमा आँच आउने किसिमका इमेल पठाएको खबरपछि महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई पक्राउ गरेको हो ।
उनले २ वर्षअघिदेखि क्याम्पसमा इमेल गरेर अपशब्द प्रयोग गर्दै चरित्रमाथि प्रश्नचिह्न उठाएर विभिन्न सञ्चार माध्यमलगायत ७० वटा इमेललाई सिसी गरेर उक्त इमेल पठाउने गरेको देखिएको छ ।
मोरङ घर भएका कीर्तन पोख्रेलले सामाजिक सञ्जाल फेसबुकमार्फत 'बुङ्गा बुङ्गा पार्टी' का लागि विदेशी ग्राहक खोज्न फेसबुकलाई माध्यम बनाए । उनी फेसबुकमा फेक नाम 'कृष केष' राखेर यौन व्यवसाय सञ्चालन गर्न खोज्दा पक्राउ परे ।
उनले वालमा 'बुङ्गा बुङ्गा' पार्टी इभेन्ट गर्न लागेको र त्यसमा १० देखि १७ वर्ष उमेर समूहमा किशोरी मात्र समावेश हुने बताएका थिए । यसका लागि उनले प्रतिव्यक्ति २ हजार युरो र नेपालमा हुनेले ७ सय युरोमा उक्त पार्टीमा प्रवेश पाउने उल्लेख गरेका थिए । यस्तो सूचना पाएपछि प्रहरीले कीर्तनलाई पक्राउ गरेको थियो ।
यस्तै इन्जिनियरिङ संस्थान पुल्चोकको प्रश्नपत्र आउट भएको खुलासासमेत फेसबुकमार्फत नै भएको थियो । फेसबुक प्रयोगकर्ता करण चौरासियाले प्रवेश परीक्षाको प्रश्नपत्रको अडियो क्लिप अपलोड नगरेको भए प्रश्नपत्र बाहिरिएको पत्तो सायद कसैले पाउँदैनथ्यो । नाइटिङ्गेल हायर सेकेन्डरी स्कुलका ९ कक्षामा पढ्ने चौरासियाले अपलोड गरेको अडियोका कारण ११ हजार विद्यार्थीले दिएको प्रवेश परीक्षा रद्द भयो । र प्रश्नपत्र आउट गर्नेहरू समातिए ।
यी उदाहरणले इमेल, फेसबुक र टि्वटर जस्ता इन्टरनेट सञ्जाल अचेल आपराधिक गतिविधिका लागि प्रयोग हुने गरेको देखाउँछ । साथी-साथीबीच भएका सामान्य विवाद, प्रेम सम्बन्ध टुटेको, केटीले प्रेम प्रस्ताव अस्वीकार गरेका जस्ता रिसिइबी पोख्नका लागि सामाजिक सञ्जाल फेसबुक दुुरुपयोगको मात्रा बढेको देखिएको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाले केही समयअघि निकालेको त्रिववर्षीय साइबर क्राइमको तथ्यांकले सामाजिक सञ्जाल फेसबुुक टि्वटरबाट अपराध बढी भएको र पछिल्लो एक वर्षमा त्यसको मात्रा ह्वात्तै बढेको देखाएको छ ।
फेसबुक वा इमेलबाट अश्लील गाली गर्ने, तस्बिर राखेर बदनाम गराउनेमाथि विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही हुुन्छ । फेसबुकमा महिलाका पुराना अश्लील तस्बिर राखेर बदनाम गराएको अवस्थामा कारबाही गर्न सकिन्छ ।
महिलाले उजुरी दिएपछि पुरानो सम्बन्धका बारेमा महिलाबाटै जानकारी लिएर चरित्र हत्या गर्ने व्यक्तिलाई पक्राउ गर्न सकिने प्रहरी अधिकारीको भनाइ छ । तर पत्तो लगाउन गाह्रो हुन्छ । अन्य अपराध व्यक्ति व्यक्तिबीचमा हुने गर्छ । तर साइबर अपराध मान्छेका बीचमा कम्प्युटर आइदिन्छ । यस्तो अवस्थामा कारबाही गर्न जटिल हुने अनुसन्धान अधिकारीहरू बताउँछन् ।
इन्टरनेटबाट डाउनलोड गरेर अश्लील चित्र पोस्ट गरेको भए पत्ता लगाउन गाह्रो हुन्छ । फेसबुक कम्पनीबाट त्यस्ता चित्र पोस्ट गरेको कम्प्युटरको आइपी ठेगाना लिनुपर्ने हुन्छ । तर, नेपालबाट फेसबुकको कम्पनीसँग समन्वय गरेर माग गर्ने कुनै निकाय नभएका कारण त्यस्ता अपराध गर्ने व्यक्तिको पहिचान गर्न गाह्रो हुने गर्छ ।
प्रहरी अधिकारीहरू साइबर अपराध हेर्ने सीईआरटी (कम्प्युटर इमर्जेन्सी रेस्पोन्स टिम) बनाउन जरुरी भएको बताउँछन् । त्यसले विदेशी इन्टरनेट सेवा प्रदायकसँग समन्वय गरेर यस्ता अपराध नियन्त्रणमा मदत पुर्‍याउने उनीहरूको भनाइ छ । नेपालमा विदेशी संस्थासँग समन्वय गर्ने कुनै निकाय नभएका कारण साइबर अपराध नियन्त्रणमा समस्या भएको प्रहरीको भनाइ छ ।
महाशाखाका एक अधिकारी साइबर अपराध विश्वमै समयसँगै दिनहुँ बढिरहेको बताउँछन् । विकसित देशमा समेत साइबरलाई आपराधिक गतिविधिका लागि प्रयोग गर्ने गरेको पाइएको छ । 'फरक के मात्र हो भने, त्यहाँ साइबर अपराध नियन्त्रण गर्ने प्रविधि छन्, नेपालमा छैनन्,' ती अधिकारीले भने, 'प्रविधिको दुुरुपयोग रोक्न प्रविधि नै जरुरी हुन्छ ।'
महाशाखाको तथ्यांकअनुसार आर्थिक वर्ष २०६६/०६७ मा सामाजिक सञ्जालमार्फत भएका अपराधको उजुरी संख्या ३ थियो । ०६७/०६८ मा त्यसको संख्या बढेर १२ पुगेको छ । आर्थिक वर्ष २०६८/०६९ मा उजुरी संख्या ३२ पुगेको देखाउँछ । यीमध्ये धेरै फेसबुुकसँगै जोडिएका अपराध छन् । अपराध महाशाखा प्रमुख एसएसपी देवेन्द्र सुवेदीले प्रयोगकर्ताको असावधानी र लापरबाहीका कारण यस प्रकारका अपराध बढेको बताए । सोसियल वेर्कस डटकमका अनुसार नेपालमा फेसबुकका प्रयोगकर्ता १७ लाख ३४ हजार ५ सय ८० छन् ।
सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमलाई जेठ १८ गते गोली हानी हत्या गरेपछि घटनास्थलमा नेपालवाद लेखिएको पर्चा फेला पर्‍र्यो । त्यसको एक दिनपछि विभिन्न सञ्चारमाध्यममा नेपालवादकै नाममा धम्कीसहितको इमेल आयो ।
प्रहरीले त्यो इमेलको आइपी ठेगाना पत्ता लगाउँदै जाँदा बागबजारको एउटा साइबरबाट पठाएको भेटिएको थियो । प्रहरीले साइबर सञ्चालकलाई पक्राउ गरी सोधपुछ गर्दा साइबर प्रयोग गर्ने व्यक्ति को थियो पत्ता लागेन ।
यस्तै समस्याबाट आजित भएर अपराध महाशाखाले डेढ वर्षअघि राजधानीका साइबर क्याफेको सूचना संकलन कार्य गरेको थियो । राजधानीमा साइबरको तथ्यांक नहुँदा अपराध अनुसन्धानमा समस्या परेको भन्दै ३ सयभन्दा बढी साइबर क्याफेको सूचना संकलन गरेको थियो । तथ्यांक संकलन गरेर ती क्याफेमा आउने ग्राहकको विवरण राखिने बताइएको थियो ।
त्यो बेला राजधानीका सुन्धारा, न्युरोड, कालिमाटी, कुलेश्वर, पुतलीसडक र बागबजार क्षेत्रमा रहेका क्याफेका सञ्चालकको विवरण राखेर उनीहरूलाई कागजसमेत गराइएको थियो ।
साइबर प्रयोग गर्ने ग्राहकले नाम, उमेर, ठेगाना, सम्पर्क नम्बर, इन्टरनेट प्रयोग गरेको समय र  परिचयपत्र राख्नुपर्ने थियो । त्यति नगरेको र त्यहाँबाट कुनै किसिमको अपराध भएको पाइए त्यसको जिम्मा साइबर सञ्चालकले नै लिनुपर्ने थियो ।