विद्युत चुहावट, छ जनाको जरिवाना तीन लाख रुपैयाँ



ललितपुर, श्रावण २१ - चुहावट नियन्त्रणका लागि अनुगमन र कारवाही अभियान थालेको विद्युत प्राधिकरणले दुई दिन छ जनाबाट ३ लाख रुपैया जरिवाना असुल्ने निर्णय गरेको छ । कुल विक्रीको एक तिहाई हिस्सा चुहावट भएपछि नियनत्रण अभियान थालेको अनुगमन टोलीले एएटा सामान्य घरबाट ७० हजार रुपैयासम्म जरिवना गरेको हो । 
कुनैपनि घरमा अवैध ढंगले चोरीको विद्युत उपयोग गरेको भेटिएन विद्युत ऐन अनुसार कारवाही हुने विद्युत प्राधिकरण लगनखेल शाखाका प्रमुख मदन चापागाँईले बताए । 'चुहावटको जरिवानाका लागि २०५९ सालमा बनेको विनियम अनुसा हामीले जरिवाना उठाउछौं' चापागाँईले कान्तिपुरसित भने, 'सामान्य परिमाणमा चोर्नेले समेत १३ हजार रुपैंया तिरेका छन्, दुई ठूला घरको जरिवाना ७०/७० हजारको दरले उठेको छ ।' चोरीको विजुली बालेको देख्नासाथ लाईन काट्न थालेको प्राधिकरणको टोलीले समेत मिटर जफत गर्न थालेको छ । भोलीपल्ट नियम अनुसार जरिवाना तिरेपछि लाईन जोडिने चापागाँईले बताए ।
प्राधिकरणको लगनखेल शाखामा कार्यरत एक इञ्जिनियरका अनुसार, चुहावट भेट्नासाथ घरमा प्रयोग भएको विद्युत उपकरण अर्थात लोडका आधारमा जरिवाना हुने गरेको छ । 'उपकरणले खपत गर्ने विद्युतको महशुल हिसाव गरी एक वर्षको शुल्क र त्यति नै जरिवाना लिने नियम छ' ती इञ्जिनियरले भने, 'त्यसविचमा तिरेको शुल्क घटाएर बाकी रकम विद्युत चोर्ने उपभोक्ताले तिर्नुपर्छ ।' प्राधिकरणले जनाए अनुसार पछिल्लो साता दुई पटकको अनुगमनमा छ वटा घरको मिटर जफत भएकोमा करिव तीन लाख रुपैंया जरिवाना गर्ने निर्णय भएको शाखाप्रमुख चापागाँईले बताए । 'केही बाहेक अधिकांशले जरिवाना तिरिसकेका छन्' उनले भने ।
पाटनको कनिवहालमा एक घरधनीले प्वाल पारेर मिटरको चक्का घुम्न रोकी विजुली चोरेका थिए । विजुलीमात्रै प्रयोग गरेक उनलाई तेह्र हजार रुपैंया तिराउने निर्णय भएको छ । कनिवहालकै एक घरमा विजुली चोरेर दुई घरमा बाल्ने गरेको भेटिएको छ । ती उपभोक्तालाई ७० हजार रुपैंयाभन्दा बढी तिराउने निर्णय भएको प्राधिकरणले जनाएको छ । 'पहिलो चरणमा चोर्नु हुन्न भनेर प्रचारात्मक ढंगले हिडेका हौं' ती इञ्जिनियरले भने, 'नियम अनुसार चोरीबाट प्रयोग गरेका उपकरण समेत जफत गरेको भए उनीहरु एक लाख रुपैयासम्मको जरिवानामा पर्थे ।' वर्गर हाउस रहेको मंगलबजारको एक घरधनी सूर्या ताम्राकारलाई ६५ हजार जरिवाना तिराउने निर्णय भएको छ । ललितपुर उपमहानगरकी लेखाप्रमुख ताम्राकारले बुधवारसम्म जरिवाना नतिरेको प्राधिकरणले जनाएको छ ।
प्राविधिकहरुका अनुसार, चोरीमा संलग्नहरुको मिटरमा प्रायः न्यूनतम महशुलभन्दा बढी रकम उठ्दैछ । विभिन्न उपायबाट विजुली चोर्नेमध्ये कतिपयले छिमेकीलाई समेत चोरीको विजुली उपयोग गर्न दिने गरेको भेटिएको छ । आमस्तरमा हुने नयाँ प्रवृतिको चोरीले ठूलो परिमाणमा चुहावट हुने भन्दै प्राधिकरणले मुख्य वितरण लाईनबाटै अनुगमन गर्ने जनाएको छ । हालसम्म करिव दुई दर्जन घरधनीको लाईन काटिएको छ । लामाटार, लाकुरीभञ्ज्याङ, कोटडाडा लगायतका ठाउमा हुकिङबाट चोरी गर्ने क्रम बढेको भन्दै टोलीले अव त्यसक्रममा भेटिएका उपकरण जफत गर्ने तयारी गरेको छ ।
सोमवार सर्वपक्षिय भेला
प्राधिकरणले चुहावट नियन्त्रणका थालेको जिल्लाव्यापी अभियान प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालयको पहलमा सर्वपक्षिय छलफल हुने भएको छ । दलका नेताहरुलाई अभियानवारे स्पष्ट पार्न र अभियानका क्रममा दलहरुबाट अवरोध हुन नदिन प्राधिकरणले दलका नेताहरु सहित सरोकारवालाहरुसँग छलफल गर्न लागेको हो । 'छलफलका क्रममा हाम्रा कमी कमजोरी औल्याउन र चुहावट नियन्त्रणका लागि सबैसँग सल्लाह र सुझाव माग्नेछौं' शाखा प्रमुख चापागाईले भने ।
चुहावट नियन्त्रणमा जाँदा केही ठाँउमा एकिकृत माओवादी सहित प्रमुख दलका स्थानिय नेताहरुले अवरोध गरेपछि यस्तो छलफल आयोजना गरिएको हो । दलिय सहमती जुटाई अभियान प्रभावकारी बनाउने र अभियानमा अवरोध गर्नेलाई कारवाहीको समर्थन जुटाउने एक अधिकृतले बताए । 'जो सुकैले विजुली चोरे वा चोर्नेको समर्थनमा हुलहुज्जत गरे पक्राउ गरेर सार्वजनिक अपराधको अभियोगमा कारवाही गर्ने प्रतिवद्धता आउनुपर्छ' ती अधिकृतले भने ।