पहिलो टेस्ट बराबरी
![]() |
डुनेडिन, फागुन २८ (रोयटर्स)- स्टिभ फिनले पाँच घन्टा ब्याटिङ गरेपछि इङ्ल्यान्डले न्युजिल्यान्डविरुद्धको पहिलो टेस्ट बराबरीमा टुंगाएको छ। फिनको इनिङ्सले इङ्ल्यान्डलाई तीन टेस्टको शृंखलामा पछाडी पर्नबाट मात्र जोगाएन, अग्रपंक्तिका व्याट्सम्यानलाई ब्याटिङ शिक्षा पनि दियो।
इङ्ल्यान्डले पहिलो इनिङ्समा १ सय ६७ रनमात्र बनाउन सकेको थियो। न्युजिल्यान्डले ४६०-९ मा पहिलो इनिङ्स समाप्तीको घोषणा गरेपछि घरेलु टोलीले शृंखलामा अग्रता लिने बलियो सम्भावना देखिएको थियो। तर, २३४-१ बाट पाँचौं तथा अन्तिम दिनको खेल सुरु गरेको इङ्ल्यान्डले ४२१-६ रन बनाएपछि टेस्ट बराबरीमा टुंगिएको थियो।
इङ्ल्यान्डले १ सय २८ रनको अग्रता लिइसकेका अवस्थामा १५ ओभर मात्र बाँकी थियो। स्पष्ट नतिजा नआउने देखिएपछि न्युजिल्यान्ड कप्तान ब्रेन्डन म्याकलम र उनका इङ्लिस समकक्षी एलिस्टर कुक टेस्ट बराबरीमा टुंगाउन राजी भए। इयान बेल २६ र विकेटकिपर म्याट प्रिरोर २३ रनमा अविजित रहे।
प्राय तल्लोक्रममा ब्याटिङ गर्ने फिनले तेस्रो नम्बरमा ब्याटिङ गर्दै ५६ रन बनाए। अघिल्लो दिन खेलको अन्तमा कुक १ सय १६ रन बनाई आउट भएपछि फिन आएका थिए। उनीसँगै दिनको खेल सुरु गरेका निक कोम्पटन १ सय १७ रनमा आउट भए। कोम्पटनले अघिल्लो दिनको खातामा १५ रनमात्र जोडे।
जोनाथन ट्रोटले ५२, केभिन पिटरसनले १२ रन बनाए। जोइ रुटले खाता खोल्न सकेनन्। न्युजिल्यान्डका नेल वाग्नरले ३ तथा ट्रेन्ट बोउल्ट र ब्रुस मार्टिनले १/१ विकेट लिए।
![]() |