नेकपा-माओवादीले राष्ट्रियताको मुद्धा चर्काउने

१४ भदौ, काठमाडौं । नवगठित नेकपा-माओवादीले राष्ट्रियताको मुद्धा चर्काउने भएको छ ।
बिहीबारदेखि सुरु भएको माओवादीको केन्द्रीय समितिको बैठकमा अध्यक्ष मोहन बैद्य किरणले राष्ट्रियता, जनतन्त्र, जनजीविका लगायतका मुद्धा लिएर जनतामा जान प्रस्ताव गर्नु भएको छ ।
‘४० बुँदे मागमा केही मागहरु थपेर माग पत्र वा ज्ञापन पत्रका रुपमा अघि सार्छौ’ पोलिटव्युरो सदस्य हरिभक्त कँडेलले अनलाइनखबरसँग भन्नुभयो-’राष्ट्रियता, जनजीविका लगायतका मुद्धा उठाएर संघर्षका कार्यक्रम ल्याउँछौं ।’
गोलमेच सम्मेलनबाट राजनीतिक निकास खोज्नु पर्नेमा जोड दिएको माओवादीको केन्द्रीय समितिको बैठकले यसको ठोस प्रक्रिया अघि सार्नेछ । ‘मुद्धागत रुपमा सहमति नभई संविधानसभा पुनःस्थापना र नयाँ निर्वाचन दुबैको औचित्य छैन’ अर्का पोलिटव्युरो सदस्य धर्मेन्द्र बास्तोलाले अनलाइनखबरसँग भन्नुभयो-’हामी राजनीतिक निकासका लागि ठोस प्रस्ताव लिएर आउँछौं ।’
यसैगरी बैठकमा पुषमा गर्ने भनिएको महाधिवेशन, दलहरुसँग भएको छलफल, मोर्चाबन्दी लगायतका विषयमा छलफल हुनेछ ।