विनोद चौधरीको जीवन गाथा सार्वजनिक



काठमाडौं, २०६९ माघ २० (नागरिक)- उद्योगी विनोद चौधरीको जीवन गाथा 'विनोद चौधरी - आत्मकथा' शनिबार विमोचन भएको छ। उनले लेखक सुदीप श्रेष्ठसँग सहकार्यमा पुस्तक लेख्न चार वर्षभन्दा बढी समय लगाएका थिए। पुस्तकमा चौधरी र चौधरी गु्रपको आरोह-अवरोहको कथा समेटिएको छ।

'यो किताबमा काम गर्दा मैले आफ्नो विगतलाई सजीव ढंगले सम्भि्कने मौका पाएँ। विभिन्न घटना पछाडि लुकेका निर्णयलाई आत्ममूल्यांकन गर्न र कतिपय निर्णयमा आत्मालोचना गर्न पनि पाएँ,' किताब लेखनको अनुभव बाँड्दै चौधरीले भने,'अतीतका पत्रपत्र केलाउनुपर्ने यो काम यति गहन होला भन्ने मैले सोचेको थिइनँ।'
चौधरीले काठमाडौंको खिचापोखरीमा बाल्यकाल बिताए। क्षेत्रपाटीको जुद्धोदय पब्लिक स्कुल र गणबहालको नेपाल आदर्श विद्या मन्दिरमा पढे। सानोठिमीको सामुदायिक स्कुलबाट एसएलसी दिए। उनका यी अनुभवले पाठकहरूलाई आफ्नो बाल्यकाल सम्झाउनेछ र ५० वर्षअघिको काठमाडौंको झलक पनि दिनेछ।
किताबमा चौधरीले नेपालको उद्योग व्यवसाय र राजनीतिक घटनाक्रमसँग जोडिएका विभिन्न प्रसंग वर्णन गरेका छन्। शाही परिवार, पञ्चायत र प्रजातन्त्रकालीन प्रधानमन्त्री तथा नेताहरूसँगको नालीबेली सम्बन्ध खोलेका छन्। आफ्नो समयका शक्तिशाली राजनीतिक व्यक्तित्वहरूसँगको उठबसले राजनीतिक उतारचढावका विविध आयाम बुझ्न मद्दत मिल्नेछ। नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षका रूपमा उनको अनुभवले समग्र उद्योग व्यवसाय तथा निजी क्षेत्रको अन्तरवस्तुमाथि प्रकाश पारेको छ। अन्तर्राष्ट्रिय व्यापार विस्तारको संस्मरणले पाठकहरूलाई यस्तो यात्रामा लैजान्छ, जसमा नेपालको ब्रान्डलाई अन्तर्राष्ट्रिय पहिचान दिने महत्वाकांक्षी लक्ष्य छ। र, त्यो लक्ष्यसम्म पुग्न चाहिने तीव्र रफ्तार छ।
'चौधरी गु्रपलाई कुनै दिन अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउँछ भन्ने सपना मैले ३० वर्षअघि देखेको थिएँ। मैले सपना मात्र देखिनँ, त्यसलाई हासिल गर्न निरन्तर लागिरहेँ। वाइवाइको अन्तर्राष्ट्रिय सफलता यसको उदाहरण हो,' गत साता युवा उद्यमीहरूको एक समूहमा छलफल गर्दै चौधरीले भनेका थिए,'तीस वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ब्यागेज बेल्टबाट सुरु भएको वाइवाइले आज ३० वटा देशमा बजार विस्तार गरिसकेको छ। वर्षको एक अर्ब प्याकेट उत्पादन हुन्छ, जुन विश्व चाउचाउ उद्योगको १ प्रतिशत हो।'
लेखन अनुभव सुनाउँदै लेखक सुदीप श्रेष्ठले लेखन समयका रोचक प्रसङ्ग सुनाएका थिए। 'हामीलाई आपसमा खुल्न केही समय लाग्यो', उनले भने- 'नियमित भेट र कुराकानीबाट हामीले एकअर्काको विश्वास जित्यौं, त्यसपछि लेखन प्रक्रिया स्वस्फुर्त अघि बढ्न थाल्यो। जब उहाँलाई नयाँ घटना सुनाउनुपर्थ्यो वा पुरानो महत्वपूर्ण घटना सम्झनुहुन्थ्यो मलाई डाकिहाल्नुहुन्थ्यो।' दुई साता लामो थोरङ्ला पास ट्रेकिङले पनि विश्वासको सम्बन्ध बनाउन मद्दत गरेको सुदीपले सुनाए।

नेपाञ्लयका किरणकृष्ण श्रेष्ठले विनोद चौधरीजस्तो सक्रिय उद्यमीले आफ्नो अतीतलाई सार्वजनिक मूल्यांकनको निम्ति प्रस्तुत गर्नु साहसिक कदम भएको उल्लेख गरे।