माओवादीले जनतालाई ढाँट्योः ओली




दमक, श्रावण २६ - एमाले नेता केपी ओलीले माओवादीले जनतालाई ढाँटेर भ्रममा राखेको आरोप लगाएका छन् । उनले जतिसुकै शान्तीको कुरा गरे पनि माओवादीको उद्देश्य सत्ता कब्जा नै रहेको दावी गरे ।
माओवादीले आफ्नो विस्तारित बैठकमा पेस गरेका दस्ताबेजमा कुनै पनि हालतमा सत्ताबाट बाहिर नजाने लिखित उल्लेख गरेबाट उक्त कुराको पुष्टी हुने उनले प्रष्टाय । बिस्तारित बैठकमा पुष्पकमल दाहालले सत्ता छोड्नु हुँदैन भनेको र प्रधानमन्त्री बाबुराम भट्टराईले पहिला सत्ता छोडेर गल्ती गरिएछ अब छोड्नु हुँदैन भनेकाले त्यसबाट पनि उनीहरुको सत्ताकब्जाको योजना स्पष्ट देखिएको ओलीले बताए ।
उनले भने 'बाहिर जतिसुकै सहमतिको कुरा गरेपनि व्यवहारमा माओवादी सहमतिको राजनीतिमा आउन अझै समय लाग्छ ।'
एमाले झापा क्षेत्र नम्बर ७ ले आयोजना गरेको प्रशक्षिण कार्यक्रममा बोल्दै उनले यो सरकारको आफ्नो पाटीले राजिनामा नमाग्ने बताए । 'कामचलाउ सरकारको राजिनामा मागेर हामी यसको हैसियत बढाइदिन चाहदैनौ' उनले भने 'यो बिदेशी र दलालहरुले चलाएको सरकार हो ।आफै नहटे यसलाई गलहत्याएर फाल्नु पर्छ ।'
नेपाली जनताले खुसार्नी रोपेर सुन्तला खाने आस राखेको ओलीले बताए । 'माओवादी जस्तो उद्धण्ड जंगली पाटीलाई ठुलो पार्टी बनाउने अनि शान्ती र संबिधानको आसा राख्ने यो बेकारको कुरा हो,' उनले भने 'जनताले बल्ल यो कुरा बुझ्न लागेका छन् । '