चकलेटले राख्छ मुटुलाई स्वस्थ

चकलेट खानु स्वास्थ्यका लागि त्यतिधेरै राम्रो मानिँदैन । गुलियो चकलेट धेरैँ खाँदा त्यसले मोटोपनको समस्यालाई पनि बढावा दिने तथा अन्य स्वास्थ्य समस्या उत्पन्न गर्ने मान्यता रहिआएको छ । तर यावत् विभिन्न नकारात्मक प्रभावका अलावा चकलेट मुटुको स्वास्थ्यका लागि निकै फाइदाजनक रहेको तथ्य फेला परेको छ ।
पछिल्लोपटक भएको एक अध्ययनले चकलेटको नियमित सेवनले मानिसलाई हृदयाघातबाट बचाउने देखाएको छ । स्विडेनमा गरिएको यस्तो अध्ययनले चकलेट खाने मानिसमा हृदयाघातको समस्या तथा खतरा कम रहेको देखाएको हो । झण्डै ३७ हजार स्विडिसहरुमा गरिउको अध्ययनका क्रममा सबैजनालाई उनीहरुको चकलेट खाने आदत तथा स्वास्थ्यको बारेमा प्रश्न गरिएको थियो । झण्डै एक दशकसम्मको यस्तो अध्ययनको नतिजाले नियमित चकलेट खाने अर्थात् दिनमा एउटा चकलेट खाने मानिसमा हृदयाघातको समस्या १७ प्रतिशत कम पाइयो ।
अनुसन्धानकर्तामध्येकी एक प्राध्यापक सुसाना लार्सनका अनुसार चकलेटमा हुने फ्लाभिनोइड्स भन्ने तत्वले मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ । यो तत्वमा हुने एन्टी अक्सिडेन्ट, एन्टी क्लटिङ तथा एन्टी इन्फ्लामेटरी गुणका कारण मुटु तथा रगत सम्बन्धि रोग लाग्नबाट बचाउनँछ । नियमित चकलेटको सेवनले रगतमा कोलेस्टेरोलको मात्रा तथा उच्च रक्तचाप कम गर्न समेत सघाउ पूराउने बताइएको छ ।
तर धेरै चिनी तथा चिल्लो भएको चकलेटको बढी सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक हुने विज्ञहरुको भनाइ छ ।