बालबालिकालाई बौद्धिक बनाउने विधि





अभिभावकहरू आफ्ना बालबालिकाको पढाइमा लाखौं खर्च गर्छन् । यसो गर्नुमा बालबालिकाको भविष्य सफल होस् भन्ने उद्देश्य हुन्छ । यद्यपि बालबालिकाको उज्ज्वल भविष्यका लागि रुपैयाँ-पैसा खर्च गरेर मात्र हुँदैन अन्य थुप्रै कुरामा विचार पुर्‍याउनु आवश्यक छ ।

के गर्ने ?

बालबालिकाको स्कुल जानुपर्छ महिनामा कमसेकम एकपटक बालबालिकाको स्कुल जानुपर्छ र उनीहरूका कक्षा शिक्षकसित भेटेर कुराकानी गर्नुपर्छ । आपmनो शिशु पढाइमा कस्तो छ सोध्नुपर्छ, स्कुलका सबै कार्यक्रममा सहभागी हुन्छ-हुँदैन, आफ्नो जिज्ञासा राख्छ-राख्दैन, पढाइबाहेक स्पोर्टस्, डान्स, ड्रइङमा रुचि राख्छ-राख्दैन बुझ्नुपर्छ ।

यसो गर्नाले.......

    शिक्षकले बालबालिकामा बढी ध्यान दिन थाल्छन् ।

    शिशुको रुचि-अरुचिका सम्बन्धमा जानकारी प्राप्त हुन्छ ।

    आफूलाई स्कुलमा देखेर शिशु खुसी हुन्छ र आफ्नोपनको अनुभव गर्छ । यसबाट उसको आत्मविश्वास पनि बढ्छ ।

खेल-खेलमा बालबालिकालाई पढ्न सिकाऔँ

बालबालिकाहरूलाई बारम्बार एउटै कुरा पढिरहँदा दिक्क लाग्नसक्छ । त्यसैले उनीहरूलाई नयाँ विधिबाट पढाउनुपर्छ । पुस्तकमा ए, बी, सी, डी पढाउनुको साटो ए, बी, सी, डीका खेलौना ल्याएर दिनुपर्छ । स्टोरी बुकबाट कथा पढेर सुनाउनुको साटो त्यही कथालाई मौलिक ढंगले सुनाउनुपर्छ । यसैगरी हिसाबको जोड, घटाउलाई कागज-पेन्सिलको साटो प्राक्टिकल गरेर सिकाउनुपर्छ । 

यसो गर्नाले.....

    पढाइमा बालबालिकाको रुचि बढ्छ ।

    खेलखेलमा कठिनभन्दा कठिन प्रश्नहरू शिशुले सहज रूपमा सिक्छन् ।

    यसरी सिकाइएको कुरालाई उनीहरूले कहिल्यै बिर्सदैनन् । कारण रटेको कुरा तुरुन्तै भुलिन्छ तर जानेको कुरा लामो समयसम्म ताजा रहन्छ ।

बालकलाई बालक नै रहन दिनुपर्छ

कतिपय अभिभावक आफ्ना बालबालिकालाई आवश्यकताभन्दा बढी दबाब दिएर मेसिनजस्तै बनाउँछन् । बिहान ठीक ८ बजे डाइनिङ टेबलमा हाजिर हुनुपर्छ, दिउँसो ठीक २ बजे नै सुत्नुपर्छ, साँझ ५ बजेभन्दा पहिले खेल्न जानुहुँदैन आदि । आफ्ना बालबालिकालाई यस्तो नियममा बाँध्नु उचित होइन । कारण दबाबमा रहनाले बालबालिकामा कुण्ठा उत्पन्न हुन्छ । परिणामस्वरूप उनीहरूमा डर उत्पन्न हुनुका साथै भावना रित्तिन्छ र कतिपय अवस्थामा यस्ता बालबालिका मानसिक रूपमा बिरामी हुन्छन् ।

यसो गर्नाले...

    शिशुहरू मानसिक रूपले स्वस्थ हुन्छन् भने उनीहरूको स्वास्थ्य पनि ठीक रहन्छ ।

    शारीरिक एवं मानसिक स्वतन्त्रताले उनीहरूको सोच्ने र बुझ्ने क्षमता पनि विस्तृत र स्वतन्त्र हुन्छ ।

    शिशुको विकास स्वाभाविक ढंगले हुन्छ । 

खेलकुदमा सहभागी गराउनुपर्छ

जसरी स्वस्थ रहन शिशुले राम्रोसँग खानपान गर्नु जरुरी छ त्यसैगरी राम्रो अंक प्राप्त गर्न पढाइका साथै खेलकुद सहभागिता पनि उत्तिकै आवश्यक छ । वास्तवमा बालबालिकाहरू अध्ययन गर्दागर्दै थाक्छन् । उनीहरूको त्यो थकान मानसिक हुन्छ र मानसिक थकान हटाउन खेलकुदमा सक्रिय रहनु आवश्यक छ । अतः पढाइका साथै खेलकुदमा पनि प्रोत्साहित गर्नुपर्छ ।

यसो गर्नाले....

    बालबालिका खुसी रहन्छन् र प|mेस माइन्डबाट नयाँ कुरा चाँडै सिक्न सक्छन् ।

    खेलकुदबाट उनीहरूको शारीरिक विकास हुन्छ ।

    बालबालिकाको बुद्धि विकास हुन्छ ।  

प्रोत्साहित गर्नुपर्छ

बालबालिकालाई प्रतियोगितामा जित्दा मात्र होइन विजयको नजिक पुग्दा वा हार्दा पनि प्रोत्साहित गर्नुपर्छ । प्रोत्साहित गर्न उनीहरूलाई रुचिको उपहार दिनुपर्छ वा उनीहरूलाई मनपर्ने ठाउँ घुमाउन लानुपर्छ । यदि कुनै विषयमा शिशुले थोरै अंक प्राप्त गरे पनि गाली गर्नुको साटो प्रेमपूर्वक सम्झाउनुपर्छ । उनीहरूलाई निराश नभई मेहनत गर्न प्रेरणा दिनुपर्छ । सफलता एकदिन अवश्य प्राप्त हुन्छ भन्ने विषयमा उत्साहित गर्नुपर्छ । शिशुले जे गर्न सकेनन् त्यसका लागि गुनासो गर्नुभन्दा उनीहरूले जति गरे त्यसको प्रशंसा गर्नुपर्छ ।

यसो गर्नाले...

    यसबाट शिशुको उत्साह बढ्छ ।

    शिशुभित्र हिम्मत आउँछ, जसबाट उसले हारेको बाजी जित्ने प्रयास गर्छ ।

    शिशुले कडा परिश्रम गर्न सिक्छ ।

के नगर्ने ?

रिजल्ट नै सबै कुरा होइन 

रिजल्ट नै सबथोक हो भन्ने सोच्नु हुँदैन । कारण शिशुको रिपोर्ट कार्डबाट मात्र उसको बुद्धिको जानकारी प्राप्त हुन्छ, न कि उसको भित्री गुण । शिशु पढाइमा कमजोर हुन सक्छ, तर स्पोर्ट, गायन, नृत्य, चित्रकला, अभिनय, पेन्टिङ आदिमा राम्रो हुन सक्छ । अतः रिजल्टलाई नै सबैथोक मान्नु हुँदैन ।

यसो गर्नाले...

    शिशुलाई पढाइदेखि दिक्क लाग्न थाल्छ । परिणामस्वरूप उसले जति पढ्थ्यो त्यो पनि बन्द हुनसक्छ ।

    दबाब वा प्रेसरका कारण ऊ मानसिक रूपमा बिरामी हुनसक्ने सम्भावना हुन्छ ।

    अनावश्यक अपेक्षा राख्नु हुँदैन

बालबालिकाको क्षमतालाई विचार गर्नुपर्छ । उनीहरूबाट अनावश्यक अपेक्षा राख्नु हुँदैन ।

यसो गर्नाले...

    शिशु दबाबमा आउन सक्छ ।

    अपेक्षामा खरो उत्रन नसक्दा उसको आत्मविश्वास कम हुन्छ ।

आपmनो इच्छा थोपर्नु हुँदैन

शिशुमाथि आफ्नो इच्छा थोपर्नु ठीक होइन । शिशुको रुचि जेमा छ त्यही दिशातर्फ अघि बढ्न प्रोत्साहित गर्नुपर्छ । कसैका बुबा वकिल भएर राम्रो आम्दानी गर्छन् भने पनि सन्तानलाई जबर्जस्ती कानुनकै अध्ययनका लागि दबाब दिनु हुँदैन ।

यसो गर्नाले...

    शिशु त्यो क्षेत्रमा सफल हुन सक्दैन, कारण उसलाई उक्त क्षेत्रमा रुचि नै छैन ।

    जबर्जस्ती गर्नाले शिशुको मनमा आफूप्रति पनि नकारात्मक धारणा जागृत हुन सक्छ ।

बारम्बार दोहोर्‍याउनुु हुँदैन

तिमी मूर्ख हौ... तिमीलाई केही पनि आउँदैन... तिमी केही पनि गर्न सक्दैनौ... जस्ता कुरा आफ्ना शिशुसित कहिल्यै गर्नुहुँदैन । यस्ता कुराले शिशुको कोमल मनमा नकारात्मक प्रभाव पार्न सक्छ । 

यसो गर्नाले....

    शिशुले स्वयंलाई आन्तरिक रूपबाट कमजोर महसुस गर्न सक्छ ।

    यस्ता बालबालिका कतिपय अवस्थामा संकुचित प्रकृतिका हुन सक्छन् र संकोचवश आफ्नो मनको कुरा पनि भन्न सक्दैनन् ।

अरूसँग तुलना गर्नु हुँदैन

अधिकांश अभिभावक आफ्ना बालबालिकालाई इन्टेलिजेन्ट बनाउन उनीहरूको तुलना उसका कक्षाका अन्य शिशुसित गर्छन् । यस्ता अभिभावक प्रायः यस्तो प्रतिक्रिया दिन्छन्, विनय हरेक पटक कक्षामा उत्कृष्ट हुन्छ तर तिमी भने जहाँको त्यहीँ । तिमी सधैं कविनभन्दा कम अंक ल्याउँछौ ।

यसो गर्नाले...

    शिशुको मनमा अन्य शिशुप्रति घृणा उत्पन्न हुनसक्छ । उनीहरू ईष्र्यालु बन्न सक्छन् ।

    शिशुको भावनामा आघात पुग्न सक्छ र उसको आत्मविश्वास पनि कमजोर हुन्छ ।