दोहोरो मापदण्डमा महिला





सिनामङ्गलस्थित एक गैरसरकारी संस्थामा जनसम्पर्क अधिकृतका रूपमा कार्यरत सिर्जना खाती अफिस पुग्दा नपुग्दै गलिसकेकी हुन्छिन् । बिहान ५ बजेदेखि सुरु हुने उनको नियमित  काम  राति ११ बजे मात्र सकिन्छ । 

'बिहान ५ बजे नउठ्ने हो भने घरको काम सकिँदैन,  ९ बजे अफिस पुग्न सकिएन भने अफिसको काम सकिँदैन ।' हरेक दिनको यो धपेडीका कारण उनी अफिस पुग्दा घर र्फकन लागेजस्तै देखिन्छिन् । कामको दोहोरो बोझका कारण थकित भए पनि सिर्जना काम छाड्ने पक्षमा भने छैनन् । उनी भन्छिन्-

'आफ्ना लागि केही गर्नैपर्छ, राजधानीमा काम नगरी कहाँ माम मिल्छ र ?' 

'दोहोरो पेलान हुँदा कहिलेकाहीँ वाक्क लागे पनि जेनतेन काम चलेकै छ' उनी चित्त बुझाउन खोज्छिन् । 

पेप्सिकोलादेखि कालिमाटीको एउटा गैरसरकारी संस्थामा काम गर्न आउने रमा शर्माको पीडा पनि सिर्जनाको भन्दा खासै फरक देखिँदैन । उनी हरेक दिन काखमा एक वर्षकी छोरी बोकेर अफिस आउँछिन्, 'टाढाको बाटो त्यसमाथि बच्चासित आउजाउ गर्न निकै मुस्किल छ'  आफूले काम गरुन्जेल बच्चालाई चाइल्ड केयरमा राख्छिन् र अफिस छुटेपछि साथै लिएर घर र्फकन्छिन्-उनी । 'राजधानीको बसाइ निकै महँगो छ, श्रीम्ाान्को कमाइले मात्र यहाँ टिक्न नसकिने रहेछ ।' ग्रामीण विकासमा स्नातकोत्तर रमा शिक्षित महिलाहरू दोहोरो पेलानमा परेको स्वीकार गर्छिन् । 'आफ्ना लागि हो भन्ने सम्झेर  दायित्वबोध गर्नुपर्छ अनि मात्र पूर्ण महिला बन्न सकिन्छ, महिला र जिम्मेवार महिलामा निकै फरक छ' उनको आफ्नै तर्क छ ।  

'कतिपय महिला विवाह गर्नुपूर्व जागिरे भए पनि विवाहपछि जागिर छोड्छन्, पढेलेखेका महिलाहरू गृहिणी मात्र भएको देख्दा भित्रभित्रै मन कुँडिएर आउँछ, मेरो हकमा यो कुरा लागू भएन । बच्चा जन्मिएको दुई महिना बिदा बसेपछि अरू समय कार्यालय गएकै छु र घर पनि भ्याएकै छु' बुटवलकी सदीक्षा अधिकारी भन्छिन् । अधिकारीका श्रीम्ाान् इन्जिनियर हुन् भने अधिकारी माइक्रोबायोलोजिस्ट । 'बच्चालाई सासू-ससुराले हेर्नुहुन्छ, म ढुक्कसँग अफिस भ्याउँछु, पढाइ पनि अघि बढाएकै छु, घरबाट कुनै अवरोध छैन ।' सदीक्षालाई  कुनै गुनासो छैन, 'दोहोरो मापदण्डमा परिएन भने खासै जिम्मेवारीबोध पनि हुँदैन । मेरा श्रीमान् एक मनले ढुक्क भएर काम गर्नुहुन्छ । म दुई-तीनतिर मन बाँडेर काम गर्छु । यही फरकपन भएकैले महिलाहरू बढी जिम्मेवार हुन्छन् ।'   

व्यवस्थापनमा स्नातकोत्तर कीर्तिपुरकी सीमा खनाललाई विवाहपछि र अघिको जिन्दगी नै फरक भएजस्तो भएको छ । गत वर्ष विवाह गरेकी सीमा नयाँ बानेश्वरको ट्राभल एजेन्सीमा लेखापालका रूपमा काम गर्छिन् । घरपरिवारले टाढाको जागिर भनेर छोड्न दबाब दिए पनि उनी त्यसलाई मान्न तयार छैनन् । 'आर्थिक रूपमा सबल भए मात्र महिला हिंसामा पनि कमी आउँछ, महिला आफै कमाउने भए भने पुरुषसँग हात थाप्नु पर्दैन, हात थाप्नु नपरेपछि झगडा पनि हुँदैन । त्यसभन्दा राम्रो अरू के हुन्छ ?'  घरपरिवार अनि पढाइ र अफिस सँगै अघि बढाउँदा गार्‍हो भए पनि सफलताका लागि परिश्रम गर्नैपर्ने उनको ठहर छ । 

महिलाहरूलाई निजी जागिरभन्दा सरकारी जागिर निकै सजिलो भएको तर्क प्रस्तुत गर्छिन्-बनेपाकी गायत्री पोखरेल । 

'विवाहपछिको निजी जागिर निकै चुनौतीपूर्ण हुन्छ, अफिसलाई पर्याप्त समय दिन सकिएन भने जागिर चट्, घरपरिवारलाई समय दिन सकिएन भने घरमै कचकच । यिनै दुई कुराको मारमा पर्नुपर्छ महिलाहरू ।  यो भन्दा राम्रो सरकारी जागिर खायो, अफिसमा पनि त्यति पेलान हुँदैन, घरपरिवारलाई पनि समय दिन सकिन्छ ।' सरकारी जागिर खाएपछि मात्र विवाहका बारेमा सोच्ने अठोटका साथ अहिले लोकसेवाको तयारी गरिरहेकी छिन्-उनी । 

यी प्रतिनिधि पात्रहरूको विचारबाट पनि अहिलेका महिलाको चेतनास्तर निकै विकसित भएको र दायित्वबोध बढेको देखिन्छ । महिलाहरू दोहोरो जिम्मेवारीबाट झन्झट होइन सन्तुष्टि लिइरहेका छन् जुन महिला सबलीकरणको राम्रो उदाहरण हो । महिलाहरू केही गर्न सक्दैनन्, घरगृहस्थीबाट बाहिर निस्कन सक्दैनन् भन्नेहरूका लागि दरिलो उदाहरण बनेका छन्-यी महिलाहरू । घरपरिवारको साथ र सहयोग मिलेको खण्डमा जागरुक महिलाको इच्छा एवं क्षमताको कदर हुने कुरामा दुईमत हुन सक्दैन ।