उदाहरणीय नेत्रहीन राई दम्पती



अपाङ्गहरूले पनि अवसर र सीप पाएको खण्डमा जे पनि गर्न सक्छन् भन्ने उदाहरणका रूपमा लिन सकिन्छ-मोरङ उर्लाबारीका एक नेत्रहीन राई दम्पतीलाई । उर्लाबारी-२ का ३१ वषर्ीय राजकुमार राई र ३५ वषर्ीयाइन्दिरा राई सबलाङ्गहरूलाई चुनौती दिँदै मुढा बुनेर उदाहरणीय व्यवसायी बनेका हुन् । ४ वर्षअघि प्लान नेपालको सहयोगमा नेत्रहीन संघ, मोरङले तालिम दिएपछि उनीहरूले व्यावसायिक रूपमा मुढा बनाउने काम गर्दै आएका छन् । आफन्तको जग्गामा बस्दै आएका उनीहरू मासिक रूपमा ३० भन्दा बढी मुढा बनाएर स्थानीय बजारमा आफै बेच्न पुग्छन् । मुढा बुनिरहेको अवस्थामा भेटिएका उनीहरूले यही पेसाबाट दुःखसुख खान पुगेको धारणा व्यक्त गरे।

उनीहरूले मासिक रूपमा ५ हजार बराबरका मुढा बेच्ने गरेका छन् । राजकुमार राईले भने-दुवै जनाले काम गर्ने हो भने त हप्तामा १२/१३ वटा मुढा बनाउन सकिन्थ्यो तर के गर्नु एक जनालाई घरको काम गर्दै फुर्सद हुँदैन । फुर्सद भएको बेला पत्नी इन्दिराले पनि मुढा बुन्ने राईले बताए । अधिकांश मानिस बेरोजगार भएको अवस्थामा यी राई दम्पतीबाट पाठ सिक्नुपर्ने स्थानीयबासीहरू बताउँछन् । आर्थिक अवस्था निकै कमजोर रहेको यो दम्पतीलाई खुल्ला दिसामुक्त समन्वय समितिले खानेपानीको ट्युबेल प्रदान गरेको छ । समितिले प्रदान गरेको आर्थिक अनुदानमा केही रकम थप गरी उनीहरूले आफैं शौचालय बनाएका छन् । यो दम्पतीका तीन वर्षकी छोरी छिन् । राजकुमार राईले ८/१० वर्षको उमेरसम्म आँखा देखे पनि पछि आँखा देख्न छोडेको बताए । उमेर बढ्दै जाँदा मेरा आँखाले काम गरेनन्। के गर्नु समयमै उपचार गरेको भए संसार देख्न पाइन्थ्यो कि ? उनले दुःख पोखे-२०५६ सालमा संखुवासभाको खाँदबारीबाट मधेस झरियो। त्यतिबेला अस्पतालमा देखाउँदा धेरै ढिलो भैसकेको रहेछ।

इन्दिरा राईको व्यथा भने अर्कै छ। उनको १ वर्षकै उमेरमा आँखाको ज्योति गुमेको थियोे । राई दम्पतीको भेट तालिमको सिलसिलामा भएको रहेछ । डी.पी.ओ. संस्थामार्फत उर्लाबारी नगरपालिकाले १-१ हजार रुपैयाँबाहेक अन्य सहयोग कतैबाट नपाएको गुनासो यी राई दम्पतीको छ । आफूहरूलाई अपाङ्गको नीलो कार्ड दिए पनि अहिलेसम्म राहत नपाएको इन्दिराले बताइन्। काम गरेर खानुपर्छ, बिरामी भइन्छ अलिअलि सहयोग दिए हुन्थ्यो। असारसम्म फारम भरे पनि सहयोग नपाएका कारण अहिले भने फारम भर्न छोडेको राजकुमारले बताए । रातो कार्ड हुनेलाई १ हजार र नीलो कार्ड हुनेलाई ५ सय दिन्छन् रे तर खै अहिलेसम्म हामीहरूले पाएका छैनौं। श्रीमतीलाई पत्थरीको अप्रेसन गर्नुपर्ने भए पनि पैसा नहुँदा अप्रेसन गर्न नसकिएको र १० हजार खर्च भैसकेको राजकुमार बताउँछन्।