बसाइँसराइले गाउँ रित्तो


बैतडी, फाल्गुन २८ - दशकअघि ३५ परिवारको बसोबास रहेको कुलाव ६ मा अहिले एक परिवार मात्रै छ । छिमेकी पञ्चेश्वर ९ मा छ/सात वर्षअघि ५५ परिवारको बसोबास थियो । त्यहाँ ८/१० परिवारमात्र छन् । लामो सयमसम्म विकासका पूर्वाधार नहुँदा ग्रामीण भेगमा बसाइँ सर्नेको संख्या बढेको हो । आधारभूत सुविधाको खोजीमा बसाइँ सर्न थालेपछि बैतडीका ग्रामीण क्षेत्रका बस्ती रित्ता हुँदै गएका छन् । सडक, बिजुली, स्वास्थ्यलगायत पूर्वाधार निर्माण सन्तोषजनक नभएपछि बसाइँ सर्ने बाध्यता आएको स्थानीय बासिन्दा बताउँछन् ।
पछिल्ला वर्षमा न्यून आय भएकाहरू पनि घरखेत बाँझो छाडेर कञ्चनपुर र कैलालीतिर सरिसकेका छन् । 'लामो समयसम्म विकास निर्माणमा प्रगति हुन सकेन,' कुलाव ३ का तारा चन्दले भने, 'दैनिक उपभोग्य वस्तु ल्याउन पनि भारत जानुपर्छ, दुर्गम गाउँतिर टिक्नै गाह्रो हुन
थाल्यो ।' जिल्ला विकास समितिको पञ्जीकरण शाखाका अनुसार बसाइँ सर्नेमा दुर्गम भेगको तल्लोस्वराड र पुरचौडी क्षेत्रका बासिन्दाको संख्या बढी छ । वषौर्ंसम्म गाउँमा यातायात, विद्युत्, स्वास्थ्य सेवाको सुविधासँगै उच्च शिक्षा र रोजगारी पाउन नसक्ने स्थिति भएपछि सुविधा भएको ठाउँमा सर्न बाध्य भएको स्थानीय बासिन्दा सुनाउँछन् । 'अझै १०-२० वर्ष सडक र बिजुली पुग्ने सम्भावना छैन,' मठैराजका सोबानसिंह बोहराले भने, 'छिमेकीका भरमा घरजग्गा छाडेर हिँडेको हुँ ।'
बसाइँ सरेर रित्ता भएका गाउँमा सानातिना अन्य विकासे गतिविधि समेत शून्य अवस्थामा छ । गाउँमा बसोबास गर्नेमध्ये अधिकांशले तराई र सहरतिर घरजग्गा जोडेका छन् । बसाइँ सराइ दर्ता गरेरै नभए पनि आधा परिवार नसरेका थोरै छन् । पुख्र्यौली थलो भएकाले छाडेरै जान नचाहे पनि सुविधाको खोजीमा घरखेत छाडेर अस्थायी बसाइँ सर्ने धेरै छन् । 'तराईमा दुई-चार घन्टा हिँडेर सडकमा पुग्न सकिन्छ,' कञ्चनपुरमा बसाइँ सरेका हाटका वीरेन्द्र बोहराले भने, 'उपचार गराउन र यातायातको सुविधा लिन यताको भन्दा सहज छ ।'  
दिनहुँ बसाइँ सराइ दर्ता गराउनेको तथ्यांक बढेको जिविसले जनायो । वैशाखदेखि पुससम्म ५० गाविसका झन्डै ९ सय परिवारले बसाइँ सरेका छन् । तीन वर्षयता ३ हजार ५ सय परिवारले बसाइँ सराइ दर्ता गराएको जिविसले जनायो । 'गाउँमात्रै हैन सदरमुकाम र बजार क्षेत्र आसपासका बासिन्दा पनि अन्यत्र सर्न थालेका छन्,' जिविस पञ्जीकरण शाखाका राजेश खत्री भन्छन्, 'आधारभूत सुविधा नपाएकाहरू र आय स्रोत बढ्दै गएपछि सुविधा सम्पन्न ठाउँतिर बसाइँ सर्न थालेका हुन् ।'