मोडेल बन्न गएकी युवतीको सर्वस्व हरण


धरान । म्युजिक भिडियोको मोडल बनाई दिने बहानामा एक युवाले धरानकी युवतिका सुनका गहना र मोबाईल लुटेका छन् । धरानको होटल एम्बासडोरमा केही दिनदेखि बसेका युवाले स्थानीय ब्लाष्ट दैनिकमा अफिस स्टाफ र मोडल चाहियो भनेर सुचना प्रकाशित गरेका थिए ।


 ‘एक्टिभ मिडिया प्रालि’ लाई स्टाफ र मोडल चाहिएको भन्दै सुचना छपाएका उनले सम्पर्कका लागि विज्ञापनमा दिएको मोबाईल नं.९८११८६५२५० मा फोन गरेर बुझ्न गएकी युवतिलाई होटलको कोठमा लगि लुटिएको प्रहरीले जनाएको छ ।
पातलो ज्यान भएका र ब्रुस कट कपाल काटेका ती युवाले होटलमा ठेगाना काठमाडौं र नाम राजकुमार थापा लेखाएका छन् । प्रहरीका अनुसार सुनका गहना खोसेपछि ती युवाले युवतिलाई शौचालयमा थुनेर मोबाईल समेत लिई कोठा छाडेर भागेका थिए । उजुरी गर्ने युवतिबाट २५ हजार भन्दा बढिको सुन लगेपनि अरु युवतिहरुलाई समेत ठगी गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
पत्रिकामा सुचना छापिएपछि मोडल बन्न चाहने र जागिर खोज्ने धेरै युवतिले प्रमाणपत्रको फोटोकपि बुझाएका थिए । युवतिहरुले बुझाएका केही प्रमाणपत्रको फोटोकपी कोठामै भेटिएको होटलले जनाएको छ ।
होटलको समेत करिब ३५ सय नतिरी भागेको एम्बासडर होटलका सञ्चालक धनीराम राईले बताए ।