दोहा विमानस्थलमा कतारको उपहार



काठमाडौं, साउन ११ (नागरिक)- कतारको राष्ट्रिय वायुसेवा कम्पनी कतार एयरवेजले दोहा अन्तर्राष्ट्रिय विमानस्थलको ड्युटी फ्री पसलमा किनमेल गर्दा 'सपिङ भौचर' उपहार दिने घोषणा गरेको छ। 
दोहा विमानस्थलबाट उडान गर्ने र ट्रान्जिट हुँदै जाने यात्रुले कतार एयरवेजले विमानस्थलमा सञ्चालन गरेको 'कतार ड्युटी फ्री' पसलमा सामान किन्दा विभिन्न परिमाणको रकमबराबरको भौचर उपहार दिने भएको हो।
कतारको नेपालस्थित कार्यालयले बुधबार जनाएअनुसार दोहा विमानस्थलमा ५ सय कतारी रियाल (१ सय ३६ अमेरिकी डलर) वा त्यसभन्दा बढीको सामान खरिद गर्ने यात्रुले लक्की ड्रमार्फत् १० हजार, ५ हजार र १ हजार डलरबराबरको सपिङ भौचर पाउन सक्नेछन्। यो योजना आगामी भदौ १५ सम्म सञ्चालन हुनेछ।
'दोहा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै जाने र ट्रान्जिटमा बस्ने यात्रुलाई थप आकर्षित गर्न उपहार घोषणा गरेका हौं,' कतार एयरवेजका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकेरले भने, 'हामी अहिले व्यस्त भ्रमण सिजनमा छौं र यसबेला दोहा विमानस्थलमा यात्रु चाप उच्च हुँदै गएको छ।'
कतारको दोहालाई आधार गरी सन् १९९६ बाट काठमाडौं उडान सुरु गरेको कतार एयरवेजले हाल काठमाडौं-दोहा सेक्टरका लागि दैनिक चार उडान गरिरहेको छ।
त्यसबाहेक हाल १ सय ९ जहाजबाट कतारले युरोप, मध्यपूर्व, अफ्रिका, एसिया प्रशान्त, उत्तर र दक्षिण अमेरिकाका १ सय १६ गन्तव्यमा उडान गरिरहेको छ।