आमाले धानेको पर्यटन


उमेरले ६७ वर्ष पुगिन् थिरमाया गुरुङ । तर उनको जोसजाँगर देख्दा सोह्रवर्षे जवानीको याद दिलाउँछ । रातभरि नाचगान, बिहान सबेरैदेखि पाहुनाको स्वागतसत्कार, दिनमा घर तथा वरपरको वातावरणीय सरसफाइ र पाहुनाका लागि तयारी । उनी मात्र हैन, उत्तरी लमजुडको खुदी- ८ र ९ सिउरुङका ७६ पुगेका तार्खु घले, ५० नाघेका बैसमाया गुरुङ लगायतका आमाहरूको यो सधैंको दैनिकी बनेको छ । 'हरेक दिन यस्तै हो, नाचगान, खानपिन अनि सुग्घरसफा गर्ने,' तार्खु घलेले सुनाइन् ।
२०६२ सालमा ग्रामीण पर्यटनको अवधारणा भित्र्याएदेखि नै आमाहरू यसरी पाहुनाको स्वागतसत्कारमा हौसिएका हुन् । उनीहरूले पाहुनाका लागि सामुदायिक होमस्टे सञ्चालन गरेका छन् । गाउँमा १० जनाभन्दा बढी पाहुना भएपछि आमा समूहले व्यवस्था गर्ने गर्छ । समूहसँग १० जना अट्ने आफ्नै सामुदायिक पाहुनाघर छ । यसका साथै खाना पकाउने भन्साघर, ट्वाइलेट बथरुम, नाँच्ने स्टेज लगायत पूर्वाधार समेत आफ्नै छ । यी सारा सम्पत्ति आमाहरूले गाउँमा आएका पर्यटक र लाहुरे दाजुभाइसँग नाचगान गरी जम्मा पारेको रकमले जोडेका हुन् ।
पछिल्लो समय विदेशी पर्यटकसँगै स्वदेशी पर्यटक आगमन क्रम बढेकाले आर्थिक स्रोत बढ्दै गएको स्थानीय जनचेतना आमा समूहकी अध्यक्ष समेत रहेकी थिरमाया गुरुडले बताइन् । यसरी उठाएको ७ लाख रुपैयाँबाट गाउँमा लघु जलविद्युत् आयोजना मर्मत, पाटीपौवा, निजी स्रोतमा शिक्षक तलब खुवाउन, बालविकास केन्द्र सञ्चालन गर्न र अन्य पर्यटन पूर्वाधार निर्माण गर्न खर्च गरिसकेको उनले बताइन् ।
१८५४ मिटर उचाइमा रहेको सिउरुङ सदरमुकाम बंेसीसहरबाट हिँडेर ५/६ घन्टामा पुगिन्छ । बिजुली, खानेपानी, टेलिफोन लगायतका सुविधा राम्रो भए पनि मोटरबाटो नपुगेकाले दुःखबिमार पर्दा अनि केटाकेटीलाई निमावि तहपछिको अध्ययन गर्न गाह्रो छ । त्यसैले अब आमाहरूको योजनामा मोटरबाटो छ । युवापुस्ता रोजगार र अध्ययनका लागि गाउँबाहिर हुँदा दुःखबिमार पर्दा झन् बढी बूढाबूढी मर्कामा परेको उनीहरूको बुझाइ छ ।
सिउरुङकै आमाहरूझैं घलेगाउँका आमाहरूलाई पनि भ्याइनभ्याई छ ।  'राति १२ बजे आएनि १ बजे आएनि पाहुनाको स्वागत सत्कार गर्ने हामी बूढाबूढी नै हौं,' उमेरले ६७ वर्ष नाघेकी योगकुमारी गुरुडले भनिन्, 'तर हामी धेरै खुसी छौं ।' ३ छोरीकी आमा योगकुमारीका २ छोरी बिहेपछि केटाकेटी पढाउन सदरमुकाम झरेका छन् भने कान्छी छोरी पनि अध्ययनका लागि सदरमुकाममै बस्छिन् । त्यसैले बुढेसकालमै भए पनि होमस्टे सञ्चालन, खेतीपाती अनि भैंसीगोठ योगकुमारी र श्रीमान् खमनसिंहले नै समाल्दै आएका छन् । उनको घरमा अहिले ७ जना पाहुना बस्न सक्ने व्यवस्था छ ।
'पाहुना धेरै भयो र दुःखबिमार भए छोरीलाई बोलाउँछु नत्र बाउले गोठ हेर्छ, म पाहुनालाई खाना बनाउँछु,' योगकुमारीले सुनाइन् । दुःख पाए पनि यो आम्दानीको स्रोत बनेकाले रमाइलो लागिरहेको उनले सुनाइन् ।
छोरानाति रोजगार र अध्ययनको सिलसिलामा बिदेसिने र छोरीबुहारी छोराछोरी पढाउने भन्दै सहर र्झन थालेपछि गाउँ बूढाबूढीले धान्नुपरेको हो । प्राकृतिक छटा, सांस्कृतिक विविधता र धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको यहाँका अधिकांश गाउँबस्ती अहिले पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेका छन् । घलेगाउँमा मात्र अहिले दैनिक २० देखि ३० जनासम्म पर्यटक पुग्छन् । बूढापाका मात्र हुँदा होमस्टेको मापदण्डअनुसार सेवासुविधा नपाएको गुनासो सुनिने गरेको छ । यसका साथै आर्थिक स्रोतको मेरुदण्ड ग्रामीण पर्यटन व्यवसायको निरन्तरतामा प्रश्न उठेको छ ।
प्रचारप्रसारले स्थान पाएपछि गाउँबासी अहिले धमाधम पूर्वाधार निर्माणमा जुटेका छन् । तर, जति पहल गरे पनि युवापुस्तालाई अझै गाउँमा थेग्न गाह्रो भएको घलेगाउँ ग्रामीण पर्यटनका अगुवा प्रेम घले बताउँछन् । 'केही युवा विदेशबाट फर्किएर आएका पनि छन् तर सोचेअनुसार गाउँमै थेग्ने वातावरण अझै बनेको छैन ।'
लमजुडको पर्यटकीय सम्भावनालाई उजागर गर्न अनि व्यावसायिकता प्रदान गर्न मास टुरिजममा जोड दिनुपर्ने पर्यटन व्यवसायी रामकुमार श्रेष्ठ बताउँछन् । तर मास टुरिजमले गाउँलेको जीवनस्तरमा सुधार ल्याउन नसक्ने ग्रामीण पर्यटनका अगुवा घलेको जिकिर छ । त्यसैले सरोकारवाला निकाय र राज्यले समेत बल पुर्‍याएर युवालाई गाउँमै रोजगार सृजना गर्ने वातावरण तय गर्न जरुरी रहेको उनको तर्क छ । अहिले आमाहरूले पर्यटन व्यवसाय धान्नुपर्दा एकातिर आमाहरूको नेतृत्व विकास हुनुका साथै अर्कातिर युवापुस्ता अब गाउँ र्फकनुपर्छ भन्ने सन्देश दिएको उनी बताउँछन् ।