एड्सबाट १९ जनाको मृत्यु




भद्रपुर, फागुन १९ - झापा जिल्लामा पाँच वर्षयता एचआइभी एड्सबाट मृत्यु हुनेको सङ्ख्या १९ जना पुगेको छ। नाइट चेस क्लब काकरभिट्टाले तीन वर्षको अवधिमा गरेको रक्त परीक्षणको तथ्याङ्क सार्वजनिक गर्दै जिल्ला एड्स समन्वय समिति झापाका संयोजक लिबर्टी श्रेष्ठले सो जानकारी दिए।  


मृत्यु हुनेमा १४ जना पुरुष र पाँचजना महिला वा बालबालिका छन्।

बृहत् एचआइभी/एड्स रोकथाम कार्यक्रमअन्तर्गत तीन वर्षको अवधिमा नाइट चेस क्लबले १११ जनाको रक्त परीक्षण गरेको र त्यसमध्ये ९४ जनामा एचआइभी सङ्क्रमण भेटाएको हो।

-->
उक्त अवधिमा एक हजार २७४ जना यौन रोगीको निःशुल्क उपचार, १३ हजार ४१४ वटा कन्डम वितरण, सुई सिरिन्जबाट लागुपदार्थ सेवन गर्ने ३४ जनालाई यौनरोगको उपचार गरिएको थियो। रक्त परीक्षण गरेकामध्ये दुईजनामा एचआइभी पोजिटिभ भेटिएको कार्यक्रम संयोजक नवराज प्रधानले बताए।

वैदेशिक रोजगारीका लागि विदेशिने कामदारलाई लक्ष्य गरी सञ्चालित उक्त कार्यक्रमअन्तर्गत सन् २००९ देखि २०१३ सम्ममा पाँच हजार ८८९ जनाको रक्त परीक्षण गरिसकिएको छ।

एचआइभीबाट सङ्क्रमित ९४ जनामध्ये ५९ जना पुरुष र ३५ जना महिला छन्।-रासस