प्रिन्सिपल र लेखापालको रहस्यमय हत्या
![]() |
भक्तपुर, श्रावण १७ - कमलविनायकस्थित नियोलोजियन एकेडेमीका पि्रन्सिपल सुजन पौडेल र लेखापाल विद्यालक्ष्मी साखकर्मीको धारिलो हतियार प्रयोग गरी रहस्यमय हत्या भएको छ । ताथली ८ चुनदेवी इथोलमा सोमबार साँझ वीभत्स अवस्थामा दुई जनाको शव फेला परेको हो । प्रहरीले अनुसन्धानका लागि युवती निकट मानिएका सुरेन्द्र खाइतु र अनुज झाडालाई मंगलबार राति नियन्त्रणमा लिएको छ ।
पोखरा उपमहानगरपालिका १६ का स्थायी २९ वर्षे पौडेल कौशलटार बस्दै आएका थिए । २३ वर्षीया शाखकर्मी भक्तपुर ५ महालक्ष्मीस्थानकी हुन् । महानगरीय प्रहरी परिसर भक्तपुरका डीएसपी पुष्कर केसीले उनीहरूको हत्याको कारण प्रेम सम्बन्ध, विद्यालयका व्यवस्थापकबीच विवाद र रिसिइबीले हुन सक्ने बताएका छन् । 'घटनाको अनुसन्धान सुरु भएको छ,' उनले भने, 'चिनजानकै व्यक्तिले हत्या गरेको हुनसक्ने अनुमान छ ।'
मृतक पौडेलका साला अमृत थापाका अनुसार पौडेलले एक साताअघि मात्रै पि्रन्सिपलको जिम्मेवारी पाएका हुन् । विद्यालयका अध्यक्ष पुष्पलाल आचार्यले भने पि्रन्सिपल बनाउने बैठकमा चर्चा भए पनि जिम्मेवारी नदिएको दाबी गरे । 'उहाँ फाउन्डर र पार्टटाइम विज्ञान विषयको शिक्षक हुनुहुन्थ्यो । विद्यालयमा विगतमा विवाद भए पनि पछिल्लोपटक थिएन,' उनले भने, 'दुई जनाबीच कुनै सम्बन्ध भएको थाहा छैन ।'
उनका अनुसार पौडेल दुई वर्षदेखि विद्यालयमा आबद्ध थिए । एघार जना संस्थापकमध्ये उनी एक हुन् । शाखकर्मी भने २०६८ साउनदेखि लेखापालको काम गर्दै आएकी थिइन् । पौडेल विवाहित हुन् भने शाखकर्मी अविवाहित हुन् । पौडेलले चार वर्षअघि सिरुटारकी रूपा थापासँग विवाह गरेका थिए ।
घटनास्थल एकान्तमा पर्छ । बस्तीदेखि ३ सय मिटर टाढा बाँसघारी भएको स्थानमा घटना भएको प्रहरीले जनाएको छ । 'उनीहरू त्यहाँसम्म किन गए भन्ने खुल्न सकेको छैन,' केसीले भने, 'चिच्याए पनि कसैले नसुन्ने एकान्त ठाउँमा घटना भएको छ ।' ताथलीको सौडोल र चित्तपोलको देउजा गाउँ जाने कच्ची बाटोमा उनीहरूको शव भेटिएको थियो ।
शवसँगै पौडेल चढेको बा२५प ५१८ नम्बरको पल्सर मोटरसाइकल पल्टिरहेको अवस्थामा भेटिएको थियो । मोटरसाइकल नजिकैको पछिल्लो भागमा शाखकर्मी र दक्षिणतर्फ पौडेलको शव ढलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । पौडेलको टाउको अगाडिको भाग र शाखकर्मीको निधार र टाउकोमा गहिरो चोट रहेको केसीले बताए । पौडेलको साथमा रहेको मोबाइल र पर्स लगे पनि शाखकर्मीको गहना लगिएको छैन ।
'साढे सातदेखि आठ बजेको बीचमा हत्या भएको हुन सक्छ, प्रहरीलाई नौ बजे मात्रै खबर आयो,' डीएसपी केसीले भने, 'हत्या कसले गरायो ? अनुसन्धान जारी
छ ।' घटना जानकारी भएपछि भक्तपुर परिसरका प्रहरी, आयुक्त कार्यालयको टोली र केन्द्रीय प्रहरी तालिम विद्यालयबाट कुकुर सहितको 'डग स्निफिङ' टोली घटना स्थल पुगेको थियो ।
पौडेलले सोमबार साँझ सात बजे घरबाट फोन आयो भन्दै विद्यालयबाट बाहिरिएको विद्यालयका अध्यक्ष आचार्यले बताए । 'विद्यालयकै शिक्षक पुरन कोइरालाको कोठामा बसिरहेको बेला घरबाट फोन आयो भन्दै बाहिरिनुभएको रहेछ,' उनले भने । पौडेल अन्य दिनभन्दा ढिलोसम्म पनि घरमा नआएपछि खोजी भएको थियो । उनका श्रीमती र सालोले उनी सम्पर्क बाहिर गएको भन्दै महानगरीय प्रहरी वृत्त ठिमीमा जानकारी समेत गराएका थिए ।
पौडेलले पेप्सीकोलाको करिअर बिल्डिङ इन्टरनेसन एकेडेमी, गठ्ठाघरको भक्तपुर इङ्लिस स्कुल, ठिमीको एसएस स्कुल र नियोलोजियनमा इङ्लिस स्कुलमा विज्ञान पढाउँथे । उनी मानवअधिकार शान्ति समाज भक्तपुरका सभापति पनि हुन् । प्रहरीले शाखकर्मीको निकट रहेका भक्तपुरकै अनुज हाडालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । विद्यालयका शिक्षक, व्यवस्थापकसँग पनि सोधपुछ गरिरहेको छ । दुवै जनाको फोन रेकर्ड लिइसकेको छ । शाखकर्मी ख्वप कलेजमा व्यवस्थापन संकायमा स्नातक अध्ययनरत थिइन् । सोमबार मात्रै उनले स्नातक तह उत्तीर्ण भएको जानकारी पाएकी थिइन् ।
'तर पास भएको खबर हामीलाई सुनाउन भ्याइनन्,' उनले भने । उनी सोमबार बिहान नौ बजे घरबाट निस्केकी थिइन् । झोला घरमा थन्क्याएर घटना भएको स्थानतर्फ गएको हुनसक्ने विनोदले बताए । बहिनीको हत्या भएको सोमबार राति प्रहरीले खबर गरेपछि मात्रै थाहा पाएको उनले बताए ।
'कोहीसँग पनि रिस भएजस्तो लाग्दैन,' ख्वप कलेजका शिक्षक समेत रहेका उनले भने, 'तर, अनुजसँग निकट सम्बन्ध थियो ।' अनुज एउटै कक्षाका साथी पनि हुन् । दुवै जनाको हत्यापछि मंगलबार विद्यालयको पठनपाठन भएन ।
![]() |