सेनालाई हेलिकप्टर किन्न ३ अर्ब



काठमाडौ, फाल्गुन ४ - सरकारले नेपाली सेनालाई हेलिकप्टर किन्न ३ अर्ब रुपैयाँ दिने भएको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो । सेनाले ३० सिट क्षमताका रुसमा निर्मित एमआई-१७ दुई वटा हेलिकप्टर किन्ने तयारी गरेको छ ।
हेलिकप्टर किन्ने प्रक्रियाका लागि मान्त्रिपरिषद्ले समिति समेत गठन गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादवले जानकारी दिए ।
त्यस्तै, हङकङको महावाणिज्यदूतमा  महेशकुमार दाहाललाई, हेटौडा सिमेन्टका महाप्रबन्धकमा सुनिलकुमार झा र उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धकमा शिबकुमार पटेललाई नियुक्ति गरिएको छ । बैठकले सगरमाथा अञ्चल अस्पतालको नाम गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राख्ने, चलचित्र विकास कोषलाई ५० लाख, विपन्न नागरिक कल्याण कोषलाई ५ करोड, उपेक्षित तथा उत्पीडित दलित वर्ग उत्थान समितिलाई ४ लाख अनुदान दिने निर्णय गरेको छ । त्यसैगरी  दलित आयोगका अध्यक्ष र सदस्यलाई ४ लाख ५९ हजार आर्थिक साहयाता दिने र १ सय ४० मेगावाटको माथिल्लो सेती जलविद्युत आयोजनालाई युरोपियन इन्भेस्टमेन्ट बैंकले प्रदान गर्ने ५ अर्ब ९५ करोड सहुलियत पूर्ण ऋणलाई स्विकार गर्ने निर्णय भएको मन्त्री यादवले जानकारी दिए । ६० प्रतिशत कैद कटाइसकेका ६६ जनालाई प्रजातन्त्र दिवसका अवसरमा कैद मिनहा गर्ने निर्णय पनि सरकारले गरेको छ ।