विसङ्गतिको नाङ्गो चिरफारः मुर्दार काठमान्डु

मिलन संग्रौला
शहर बाँचेको हुन्छ मान्छेको सपना बोकेर । हिंडेको हुन्छ मान्छेको आकांक्षा बोकेर । तर सहरमा यस्तो एउटा मान्छे भेट्न मुस्किल छ जसले आफ्नो सपना र आंकाक्षा पुरा भएको आभास पाएको होस् । बरु उल्टै शहरप्रति असन्तुष्टी र वितृष्णा पोखिरहन्छ बाराम्बार । तर पनि मान्छेलाई शहर नभई हुन्न । शहरमा पैसा नभई हुन्न । पुरा नहुने मृगतृष्णाका साथ शहरलाई स्वीकार्न र पैसाको पछि लाग्न बाध्य छ मान्छे । र यसका लागि आफू यन्त्रिक, स्वार्थी र मानवीय संवेदनाविहीन बनिसकेको पत्तै हुँदैन मान्छेलाई ।
नेपालमा शहर भन्ने बित्तिकै स्वतः काठमाडौं नै बुझिन्छ । काठमाडौं ठिम्मर शहर हो । विचित्र चारित्रिक विशेषता बोकेको यो शहर संसारकै सबैभन्दा बढी विसंगतिले भरिएको शहर हो भन्दा पनि अतियुक्ति नहोला । काठमाडौंको यो चरित्रलाई उत्कृष्ट ढंगले चित्रण गर्न सफल कथासंग्रह हो, ‘मुर्दार काठमाण्डु ।’
कथाकार दिलीप शाह नेपाली कथा साहित्यका लागि नयाँ नाम होइन । यसअघि नै तीनवटा कथासंग्रह अर्पण गरिसकेका दिलीप आफ्नै खास व्यङ्ग्यात्मक शैली र प्रस्तुतिका लागि पाठकले रुचाउँदै आइएका कथाकार हुन् ।
यस कथासंग्रहमा केवल शहरीय विसंगति मात्र चिरफार गरिएका कथा छैनन् । शहरको सिको गर्दै विकृति भित्र्याइरहेका गाउँका कथा पनि समेटिएका छन् । पुस्ता परिवर्तन सँगै पुराना पुस्ता र नयाँ पुस्ताबीचको सोच र व्यवहारले निम्त्याएको द्वन्द्धलाई पनि उत्कृष्ट ढंगले चित्रण गरिएको छ कथा संग्रहमा । राज्यको निरीहता र उदासीनतालाई पनि व्यंग्यको दह्रो झापड दिइएको छ । ठाउँ ठाउँमा केही प्रेम प्रसङ्गजस्ता कथानक पनि पाइन्छन् तर ती पनि सामाजिक विकृति र विसंगतिको चेपमा परेर विलाउन पुग्छन् । एक अर्थमा, वर्तमान नेपाली समाजको अति यथार्थवादी चित्रण पाइन्छ यस संग्रहका हरेक कथामा ।
पहिलो कथा ‘कल्पवृक्ष’ सम्रग गाउँले नेपाली जनताले विकासप्रति आकाशको फल आँखा तरी मर भनेझैं गरेको आशालाई उत्कृष्ट ढंगले व्यंग्यात्मक चित्रण गरेको छ । साँच्चै विकास नेपाली जनताको लागि एक कल्पवृक्ष नै बन्न पुगेको छ । दोस्रो कथा ‘अकस्मात्” विसंगतिपूर्ण प्रेम वा आर्कषणलाई चित्रण गर्न सक्षम छ । तेस्रो ‘अन्तिम इच्छा” एक्लो राम बन्न खोज्दा समाजका खराब तत्वहरुद्वारा पिल्सिएको एक मास्टरको दर्द बोकेको कथा हो ।
शहरीय विसंगतिको एक उत्कृष्ट चित्रण हो कथा ‘खाडलभित्रको सम्झौता ।’ निम्नस्तरको सोझो लोग्ने र कथित उपल्लो वर्गकी आडम्बरी स्वास्नीबिचको द्वन्द्व चित्रण गरिएको छ यसमा । दश बर्षे द्वन्द्धको मारमा पिल्सिएको नेपाली समाजको गतिलो ऐना बनेको छ कथा ‘आत्मज्ञान ।’
पैसाप्रति मान्छे निर्भरता ,पैसा भएपछि आकंाक्षा बढ्दै जाने र मान्छे कहिल्यै सन्तुष्टि नहुने मानवीय प्रवृत्तिलाई छर्लग पारिएको छ ‘नगद नारायण’मा । नेपाली समाजमा महिलाले भोग्नु परेको समस्या र पुरुष प्रतिको निर्भरतालाई चित्रण गएकिो छ ‘सुरक्षाकवज’ ।
संग्रहको नाम समेत पाउन सफल कथा ‘मुर्दार काठमान्डु’ काठमान्डुवासीको यन्त्रिकतालाई वास्तविक ढंगमा चित्रण गर्न सफल छ । “पहिचानको खोजी” उपेक्षित र सिमान्तकृत नेपाली जनताको कथा हो ।
दुर्भाग्य र दशाले लखेटेको एक निरीह पात्रको दर्दानक कथा हो “साढे सातको दशा” । यसमा हाम्रो समाजले मानिलाएका पुरातन नियमहरुलाई पनि तर्कका साथ समर्थन गरिएको छ ।
दुनियाका छोरालाई तह लगाएर सुबाटोमा ल्याउन धाउन्न एक स्कूलका संस्थापकले आफ्नै छोरालाई तह लगाउन नसकेको घटना समेटिएको रोचक कथा हो “प्रायश्चित ।”
“बगरे” कथा एक बैंक मेनेजरको कथा हो जसले मानवीय संवेदना समेत नराखी ऋण उसुल गर्छ । बगरेले खसीका कान समातेझैं ऋणि जुन हालतमा भए पनि कठालो समात्ने नेपाली बैंकहरुको प्रवृत्तिलाई सटिक चित्रण गरिएको छ ।
“संयोग” कथा लोग्ने परदेशिएकी एक गाउँले महिलाको परिवेश वरिपरि घुमेको छ । एक्कासी नौलो परदेशीको घरमा आगमन भएर अचानक उनीहरुबीच मालिस र झारफुक गर्ने नाममा यौन सम्बन्ध स्थापित हुन्छ । यो पनि नेपाली समाजको चरम विसंगतिको चित्रण गरिएको राम्रो कथा हो ।
नेपाली समाजका पुरुष अह्म हाबी छ । आफ्नी श्रीमतीलाई नोकरी गर्न नदिने , त्यसो गरे आफू नार्मद भइने सोच पाल्ने पुरुषहरुको कमी छैन । अनि तिनै पुरुष भाषण गर्दा चाहिँ महिलाहरुलाई पनि उचित अवसर दिनुपर्छ भन्छन् । यस्तो प्रवृत्तिको चिरफार गरिएको कथा हो, “मात्र एउटा प्रश्न ।”
सहर पसेपछि मान्छे सपना र बाध्यताले यसरी थिचिन्छ कि उसभित्र रहेको संवेदना दबिएर बाहिर आउनै नसक्ने हुन्छ । गाउँबाट सहर पसेको बललाई आफ्नी आमा सिकिस्त हुँदा समेत ल्याएर औषधी उपचार गर्ने संवेदना पलाएर आउँदैन । यस्तो प्रवृत्तिलाई दह्रो व्यंग्य गरिएको छ”बाध्यात्मक पुकारमा ।” “कुटेरो” कथा मान्छे प्रत्रिक सम्पती छिटो आफ्नो हातमा पार्नका लागि कतिसम्म हतारिन सक्छ भन्ने समाजको नांगो यथार्थलाई चित्रण गर्न सफल छ ।
सम्रगमा कथाहरु अति यथार्थवादी धारमा उभिएका देखिन्छन् । तर कथाहरुमा आशा वा समाजको सकरात्मक पक्ष एकदमै न्युन समेटिएको पाइन्छ । हुन त कथाकारको संग्रह निकाल्नुको ध्येय नै विसंगतिहरुको चिरफार गर्ने हुनाले यी पक्ष खोज्नु पनि उचित नहोला । केही अनुच्छेदहरु अति नै लामा र वणर्ानत्मक भएकाले पाठकले पढ्दा पढ्दै धैर्य गुमाउन सक्छ । संवादको प्रयोग अलिक बढी गर्न सकेको भए कथानक अलिक स्वभाविकताका साथ अघि बढ्न सक्थ्यो होला । तर सरल प्रस्तुति भएका कारण कथाहरु पठनीय नै लाग्छन् । कथाकार दिलीप शाहबाट भविष्यमा अझ गहन कथासंग्रहहरुको आस गर्न सकिन्छ ।
साझा प्रकाशनले प्रकाशन गरेको यस कथा सङ्ग्रहको मुल्य रु. ३०० रहेको छ । –पुस्तक समीक्षा