को बन्लान् अब नयाँ प्रधानमन्त्री ?

१० मंसिर, काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले नयाँ प्रधानमन्त्रीका लागि नाम सिफारिस गर्न दललाई आग्रह गरेपछि अबको प्रधानमन्त्री को होला भन्नेबारे सर्वत्र चासो शुरु भएको छ ।भावी प्रधानमन्त्रीका रुपमा नेपाली कांग्रेसका शुसील कोइराला र रामचन्द्र पौडेल, एमालेका माधव नेपाल र केपी ओली, माओवादीका प्रचण्ड र बाबुराम भट्टराई, तमलोपाका महन्थ ठाकुर, राष्ट्रिय जनशक्ति पार्टीका सूर्यबहादुर थापा र स्वतन्त्र व्यक्तित्वबाट दमननाथ ढुंगानासमेतको नाममा चर्चा हुन थालेको छ ।
राष्ट्रपति कार्यालयले नयाँ प्रधानमन्त्री चयनका लागि दलहरुलाई विहीबार बेलुका ४ बजेसम्म समयसीमा तोकेको छ । प्रधानमन्त्रीको नाम छनौट गर्न एमालेलगायतका दलले नेपाली कांग्रेसलाई आग्रह गरिसकेका छन् । शनिबार शान्ति मन्त्रालयमा सम्पन्न शीर्ष नेताहरुको छलफलमा एमाओवादीलेसमेत कांग्रेससित नाम मागेको चर्चा बाहिर आएको छ । विगतमा प्रमुख राजनीतिक दलहरुवीच कांग्रेसलाई सरकारको नेतृत्व गर्न दिने भद्र सहमति भएको यसअघि नै सार्वजनिक भैसकेको छ । यसवीच मधेसी मोर्चा र एमाओवादीले आफ्नो तर्फबाट माग दाबी गरेनन् भने कांग्रेसकै नेतृत्वमा नयाँ सरकार बन्न सक्ने बढ्ता सम्भावना देखिन्छ ।
 कांग्रेसबाट सुशील या रामचन्द्र
प्रधानमन्त्रीको नाम छनौट गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार बस्दैछ । बैठककै अघिल्लो दिन बरिष्ठ नेता शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीका लागि लालायित नभएको प्रष्टीकरण दिनुले सो पार्टीबाट प्रधानमन्त्रीका सम्भावित उमेद्वार सुशील कोइराला वा रामचन्द्र पौडेल नै हुन् ।
सोमबार बस्ने कांग्रेस बैठकले उमेद्वार चयन गरेर मात्रै पुग्दैन, त्यो नाममा अन्य दलहरुको पनि राष्ट्रिय सहमति आवश्यक पर्छ । पौडेल वा कोइरालामध्ये जसको नाम सिफारिस भए पनि एमालेका तर्फबाट आपत्ति हुने देखिन्न तर, मधेसी मोर्चा र एमाओवादीले पौडेललाई भन्दा कोइरालालाई नै रोज्ने बढ्ता सम्भावना छ । कांग्रेस बैठकले प्रधानमन्त्रीको उमेद्वार चयन गर्नु अघि राष्ट्रिय, अन्तरराष्ट्रिय परिस्थितिलाई पनि पक्कै विचार गर्ला ।
एमालेको भागमा आयो भने …..
नेकपा एमालेले कांग्रेसलाई नेतृत्व दिनुपर्ने प्रष्ट धारणा राख्दै आएको छ । कांग्रेसले उमेद्वार दिन सकेन भनेमात्रै आफू नेतृत्व गर्न तयार रहेको एमाले नेताहरुले बताउँदै आएका छन् । यसबारे छलफल गर्न एमालेले पोलिटब्यूरो बैठक डाकेको छ ।
कांग्रेसले आफ्नो दाबी छाड्यो र एमालेका भागमा प्रधानमन्त्री पद आयो भने केपी ओलीलाई बनाउनुपर्छ भन्नेतिर लोकतान्त्रिक शक्तिहरु लाग्न सक्छन् भने एमाओवादीले ओलीको विकल्पमा माधव नेपाललाई छान्न सक्छ । तर, एमालेको सम्भावना अहिलेसम्म अलि कमै देखिएको छ ।
फेरि पाउला त माओवादीले ?
एमाओवादी अध्यक्ष प्रचण्डको नाम पनि सम्भावित प्रधानमन्त्रीका रुपमा चर्चामा आउने गरेको छ । प्रचण्डको नाममा मित्रराष्ट्रहरु पनि नकारात्मक छैनन् भन्ने विश्लेषण गर्न थालिएको छ, तर विपक्ष्ी गठबन्धन कुनै पनि हालतमा एमाओवादीलाई सरकारको नेतृत्व दिने पक्षमा देखिन्नन् । यो स्थितिमा एमाओवादीले बाबुारम भट्टराईकै नेतृत्वमा नयाँ सरकार बनाउने प्रस्ताव गर्ने सम्भावना पनि छ, तर यसलाई त झनै विपक्षीहरुले मान्ने अवस्था देखिँदैन ।
तर, बिहीबारसम्म सहमति भएन र नयाँ प्रधानमन्त्रीका लागि हप्तौंसम्म सहमति नभएको अवस्थामा बाबुरामको आयु लम्बिने अनुमान पनि एकथरिले गरिरहेका छन् । एमाओवादीजस्तै वैद्यपक्षबाट रामबहादुर थापा वादलको नाम पनि सामान्य चर्चामा आएको छ, तर प्रचण्ड-बाबुरामकै नेतृत्व नस्वीकार्ने अवस्थामा पुगेका विपक्षीले अझै रेडिकल माओवादीलाई नेतृत्व दिने अनुमान लगाउनु अलि हतारो हुने देखिन्छ ।
महन्थ ठाकुरको आधार
अधिकांश नेता तथा राजनीतिक विश्लेषकहरुले तराई मधेस लोकतान्त्रिक पार्टीका नेता महन्थ ठाकुर भावी प्रधानमन्त्री हुने दाबी गरेका छन् ।
महन्थको नेतृत्वलाई मधेसी मोर्चाले सहजरुपमा स्वीकार्ने र एमाओवादी पनि यसमा सहमति हुनसक्ने अनुमानका आधारमा ठाकुरको नाम अगाडि आएको हो । ठाकुरलाई देशभित्रको सन्तुलनका दृष्टिले मात्रै होइन, दक्षिणकोसमेत विश्वास लिन सक्ने नेताका रुपमा हेरिएको छ ।
कसरी बन्लान् सूर्यबहादुर थापा ?
गत दशैंताका नै राष्ट्रपतिले ‘कु’ गर्न लागेको र सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाउन लागेको हल्ला माओवादी नेताहरुले चलाएका थिए । अहिले पनि कतिपयले सूर्यबहादुर थापा भावी प्रधानमन्त्री हुने तर्क गरिरहेकै छन् ।

तर, थापालाई के आधारमा कांग्रेस, एमालेले समर्थन गर्लान् भन्ने प्रष्ट आधार बाहिर आएको छैन । थापालाई प्रधानमन्त्री बनाउने हो भने राष्ट्रपतिले माओवादीमात्रै होइन, नेपाली कांग्रेसलाई समेत ‘क्रस’ गरेर अघि बढ्नुपर्ने हुन्छ । तर, कांग्रेस र एमालेलाई कसैले मनाउन सकेमा सूर्यबहादुर थापा लोकतान्त्रिक खेमाका नेता बन्न सक्ने सम्भावनालाई अहिल्यै अस्वीकार गरिहाल्न पनि सकिन्न ।
ढुंगानाको सम्भावना फितलो
दलका नेताहरुको नेतृत्वमा प्रधानमन्त्रीको नाममा सहमति हुन सकेन भने स्वतन्त्र व्यक्ति खोजिन सक्ने र त्यसका लागि सबेको उपयुक्त एवं सर्वसम्मत पात्र भनेको दमननाथ ढुंगाना हुन् भन्ने तर्क पनि अगाडि आएको छ । तर, सकेसम्म दलभित्रैबाट प्रधानमन्त्री खोज्ने मामिलामा सबै दलहरु अहिलेसम्म एकमत देखिन्छन् ।
सहमति नभए के हुन्छ ?
आगामी विहीबार बेलुकासम्म प्रधानमन्त्रीको नाममा सहमति भएन भने अन्तरिम संविधानभन्दा अघि बढिसकेका राष्ट्रपतिले बहुमत जुटाउने दलकै नेतालाई प्रधानमन्त्री चयन गर्ने सम्भावना रहन्छ र त्यो अवस्थामा माओवादी र मधेसीको समर्थनविनै प्रधानमन्त्री आउन सक्ने अवस्था छ । राष्ट्रपतिले निर्णय लिन नसक्दासम्म बाबुराम भट्टराई नै प्रधानमन्त्री कायम रहने दाबी एमाओवादी पक्षको छ ।