२२ वर्षीया पूजा १७ दिनदेखि बेपत्ता, दाइजोका कारण बेपत्ता पारेको आरोप


गौशाला, फागुन २९- महोत्तरीको अन्कार-३ बाट एक महिला विगत १७ दिनदेखि बेपत्ता रहेकी छिन्। जिल्लाको अन्कार-३ महादेवपट्टी गाउँ निवासी विशेश्वर सिंहकी बुहारी जितेन्द्र सिंहकी श्रीमती २२ वर्षीया पुजादेवि गत फागुन १३ गते रातिदेखि बेपत्ता भएकी हुन्।




 बेपत्ता पुजाको बुबा भारत सितामढी जिल्लाअन्तर्गत हरिपुर पिपरा पञ्चायत निवासी चतुर्भुज सिंहले पत्रकार सम्मेलन गर्दै छोरीका घर पक्षले दाइजोको कारण आफ्नो छोरीलाई हत्या गरी शव वेपत्ता पारेको आरोप लगाए।
उनले दुई वर्ष अघि छोरीलाई ५० हजार भारतीय रुपैयाँ, टिभी, फ्रिज, कुलर, गोदरेज दराज, फर्निचर लगायतका सर्म्पूण सामानहरू दिएर जितेन्द्र सिंहसँग बिहे गरेको र बिहेको केही दिन पछि नै ज्वाई जितेन्द्रले मोटरसाइकल माग गर्दै छोरीलाई कुटपिट र ज्यान मार्ने धम्की दिँदै आएका उल्लेख गरे।

छोरीलाई माइतबाट मोटरसाइकल मागेर ल्याउन ससुरा विश्वेश्वर, सासु रेखा र नन्द खुस्बु सिंहले पनि पतिसँग मिलेर धेरै पटक कुटेको छोरीले फोनबाट बताउने गरेको बुबा चतुर्भुजले बताए।

'ज्वाइलाई आफूले ५० हजार भारतीय रुपैयाँ मोटरसाइकलको दिन तयार पारी रहेको थिएँ तर उनले नेपाली नम्बर प्लेटको मोटरसाइकलको सम्पूर्ण रकम दिन अडान राखेका थिए', उनले भने।

यसैबीच फागुन १३ गते छोरीका सुसुराले उनलाई छोरी घर छाडि भागेको जानकारी दिएका थिए। यस बारे जिल्ला प्रहरी कार्यालय महोत्तरीमा फागुन १५ गते निवेदन दिँदा प्रहरीले एक सातामा छोरी खोजी दिने आश्वासन दिए पनि हालसम्म कुनै पहल नभएको पीडित सिंहले बताए। रासस