अब ह्याकिङबाट छुट्कारा



निकट भविष्यमा कम्प्युटर तथा मोबाइल फोन ह्याक हुने समस्याबाट छुट्कारा पाइने सम्भावना छ। अनुसन्धानकर्ताहरूका अनुसार अबको  दस वर्षभित्र क्वान्टम कम्प्युटर निर्माण गर्न सकिनेछ, जसबाट मोबाइल तथा कम्प्युटर ह्याकिङ असम्भव बन्नेछ। अनुसन्धानकर्ताहरूका  अनुसार उनीहरूले क्वान्टम कम्प्युटरको निर्माण सम्भव तुल्याउन एउटा सिलिकन चिपको विकास गरेका छन्। क्वान्टम कम्प्युटर बनाउने  प्रक्रिया अहिले प्रारम्भिक चरणमा रहेको र यस्तो कम्प्युटर बनेपछि कम्प्युटर जगत्मा नयाँ क्रान्ति हुने अनुसन्धानकर्ताहरूको दाबी छ। 

बेलायतको ह्यारियट वाट विश्वविद्यालय तथा ब्रिस्टल सहरका अनुसन्धानकर्ताहरूले क्वान्टम कम्प्युटरमा प्रयोग हुने उक्त चिप तयार पारेका  हुन्। आफूहरूले बनाएको सिलिकन चिपले ठूलो परिमाणमा क्वान्टम चिप उत्पादनका लागि बाटो खोल्ने उनीहरूको दाबी छ। यस्तो चीप  प्रयोग हुने कम्प्युटर तथा मोबाइल फोनको ह्याकिङ तथा कोड चोर्न असम्भव हुन्छ।