वृद्धद्वारा पेट चिरेर आत्महत्या प्रयास



बाग्लुङ,भदौ १८- सानो छँदासम्म बाबुआमालाई छोराछोरी हुर्काउने बढाउने चिन्ता हुन्छ। बुढेसकालमा वृद्ध बाबुआमाको हेरचाह गर्नु दायित्व हो। तर,कर्तव्यबिमुख आफ्नै छोराछोरीले पालनपोषण नगरेपछि यहाँका एक वृद्धले आत्महत्याको प्रयास गरेका छन्। 

श्रीमती गुमाइसकेका बुर्तिवाङ-२ शेरा ६४ वर्षीय कासिराम महतले एक्लो जीवन जिउन गाह्रो भएको भन्दै आइतबार आत्म हत्याको प्रयास गरे। महतले ब्लेटले आफ्नै पेट चिरेर आत्महत्याको प्रयास गरेको ईलाका प्रहरी कार्यालय बुर्तिवाङले जनाएको छ। घाइते महतको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ।
छोराले बेवास्ता गरेपछि बुढेसकालमा हेरचाह गर्ने कोही नभएको भन्दै दारी काट्ने ब्लेडले पेट चिरेको प्रहरी निरिक्षक दुर्गा बहादुर श्रेष्ठले बताए। ' मर्ने योजनाकासाथ वृद्धले पेट चिरेका रहेछन्,' उनले भने,' पेट चिरेको देखेपछि स्थानीयले खबर गरेपछि स्वास्थ्य संस्था ल्यायौं।' 'मलाई बाच्ने मन नभएर विलेटले काटेर मर्ने तयारी गरेको हुँ,'घाईतेको भनाई उदृत गर्दै प्रहरी निरीक्षकले भने।
घाइते महतको पेटमा करिब २२ टाँका लगाइएको छ। पेटको बाहिरी छाला चिरिएको भएपछि आन्द्रामा समस्या नदेखिएको प्रहरीले जनाएको छ। महत खतरामुक्त रहेको प्रहरीले जनाएको छ। महतका एक छोरा तराई तिर बसाई सरेका छन्। एक छोरी भारत पलायन भएको र अर्की छोरीको बिहे भएपछि एक्ला थिए। अहिले आफन्तकोमा बस्दै आएका थिए। फोक्सो र कलेजोको समस्याबाबाट पीडित महत आफ्नै छोराबाट सहयोग नपाएपछि निकै तनाबमा थिए। नङ काट्छु भन्दै ब्लेट मागेर पेट चिरेको महतका आफन्त भिम बहादुर महतले बताए। 'पेट चिर्दा पिडा भएर चिच्चाएपछि प्रहरीलाई खबर गरेर अस्पताल ल्यायौं,' उनले भने। महतका अनुसार आफ्नो साहारा कोही नभएको भन्दै आफूलाई बाच्ने मन नभएको बताएका थिए। 'छोरा भएरपनि बुढेशकालमा स्याहारसुसार गर्ने कोही भएन भन्नु हुन्थ्यो,' भिम बहादुरले भने,' यस्तो गतल निर्णय लिनु होला भन्ने त लागेको थिएन।'
अघिल्लो महिना पर्वतका एक बृद्धले उपचार गर्न नसकेपछि आत्म हत्या गरेका थिए। पिपलटारी - ९ का ६१ वर्षीय मेघनाथ शर्मा पौडेलले झुण्डिएर आत्महत्या गरेका हुन्। लामो समय सम्मको पेट दुखाईको समस्या झेल्दै आएका पौडेलले दुखाई सहन नसकेपछि आत्म हत्या गरेको प्रहरीले जनाएको छ। झुण्डिएको अवस्था भेटिएका पौडेल दुखाई र रोगकै कारण आत्महत्या गरेको प्रारभ्मिक रुपमा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक श्याम अर्यालले बताए।