यसरी गर्भ फाल्दा बेफाइदा हुन्छ ?

म २३ वर्षको भएँ। मेरो  हालसालै १९ वर्षकी युवतीसँग विवाह भयो। हाम्रो दुई-तीन वर्ष बच्चा नजन्माउने सल्लाह थियो, तर गर्भ बसेछ। फाल्न मिल्छ रे तर पछि बच्चा हुँदैन भन्ने सुन्छु। के औषधी खाएर बच्चा फाल्दा बाँझोपन हुन्छ ? दुई महिना पुग्न लाग्यो। तीन महिना पुग्यो भने फाल्न मिल्दैन भनिन्छ। यसरी गर्भ फाल्दा बेफाइदा हुन्छ ? 



विवाह र गर्भनिरोध

विवाह गरे पनि तपाईंहरूले केही समय सन्तान नजन्माउने सल्लाह गर्नुभएको कुरा राम्रो लाग्यो, तर विचार वा सल्लाह गरेर त्यसका लागि  ठोस कदम चाल्न सकिएन भने त्यसको केही अर्थ हुँदैन। हामी विवाहका लागि कति धेरै तयारी गर्न सक्छौं र सबै साधन-स्रोत जुटाउन सक्छौं।  विवाहपछि यौन सम्पर्क हुन्छ भन्ने कुरा पनि हामीलाई थाहै छ। यौनसम्पर्क गरेपछि गर्भ रहन सक्छ भन्ने पनि हामीलाई थाहा हुन्छ। यद्यपि  हामी गर्भनिरोध कसरी गर्ने भन्ने विषयमा भने राम्रो तयारी गर्दैनौं। महत्वपूर्ण कुरा के भने शारीरिक तथा मानसिक रूपमा तयार भैसक्ने  भएकाले सन्तान २० वर्षको उमेरपछि मात्र जन्माउनु श्रेयष्कर हुन्छ। मेरो अनुरोध के भने यौनसम्पर्कका साथसाथै गर्भनिरोधका बारेमा पनि  सोच्नुहोस्। गर्भपतनको तुलनामा गर्भनिरोधका साधनको कुअसर नगण्य छ। 

गर्भको शिशु (भू्रण) बाँच्न सक्ने अवस्थामा पुग्नुभन्दा पहिले नै गर्भावस्थाको अन्त्य हुनुलाई नै गर्भपतन (abortion) भनिन्छ। सामान्य  अवस्थामा यस्तै २४ हप्तासम्मको गर्भको अवस्थालाई शिशु बाँच्न सक्ने भनेर मानिएको छ। नेपालमा मुलुकी ऐन एघारौं संशोधनले गभर् पतनलाई प्रजनन स्वास्थ्य अधिकारका रूपमा व्यवस्था गरेर केही निश्चित अवस्थामा गर्भपतन गर्न पाउने अधिकार प्रदान गरेको छ। गर्भवती  महिलाको मञ्जुरीमा १२ हप्तासम्मको गर्भपतन गर्न पाइन्छ। जबरजस्ती करणी वा हाडनाता करणीबाट गर्भ रहन गएको भए १८  हप्तासम्मको गर्भ पतन गर्न पाइन्छ। विकलाङ्ग बच्चा जन्मन सक्ने वा गर्भवती महिलाको ज्यानमा खतरा हुनसक्ने वा गर्भवती महिलाको  शारीरिक, मानसिक स्वास्थ्यमा असर पर्न सक्ने अवस्थामा चिकित्सकको रायअनुसार गर्भवती महिलाको मञ्जुरीमा जहिलेसुकै गर्भपतन गर्न  पाउने व्यवस्था छ। 

अब विस्तारै यी कुराको कार्यान्वयन भएपछि र दक्ष व्यक्तिवाट स्तरीय सेवा प्राप्त हुन थालेपछि गर्भपतन सुरक्षित हुने र कतिपय असर न्यून  हुने कुरा आशा गर्न सकिन्छ। यस्तो सेवा सर्वसुलभ हुन भने अझै केही समय लाग्ला। दक्ष व्यक्तिबाट १२ हप्तासम्मको गर्भपतन गराउँदा  स्वास्थ्यमा नकारात्मक असर पर्ने खतरा बच्चा जन्माउँदाको भन्दा न्यून हुन्छ भनिन्छ, तर गर्भको समय जति बढी भयो खतरा पनि त्यही  अनुपातमा बढी हुनसक्छ। चिकित्सकहरूले पनि गर्भको समय हेरी गर्भपतन गर्ने उपयुक्त विधि चयन गर्छन्। पाठेघरको संक्रमण, केही  रक्तश्राव, पाठेघरमा चोट लाग्ने, अत्यधिक पीडा हुनेजस्ता कुरा केही प्रमुख उदाहरण हुन्। गर्भपतनलाई सुरक्षित बनाउन यो दक्ष व्यक्तिवाट नै  गरिनुपर्छ। दक्ष व्यक्तिबाट सुरक्षित तरिकाले गरिएका गर्भपतनको प्रजनन क्षमतामा खासै नकारात्मक असर पर्दैन, अर्थात् पछि सन्तान नहुने  भन्ने होइन। अहिले औषधी प्रयोग गरी गर्भपतन गराउन सकिने कार्यको सुरुवात भएको छ यसका लागि तालिम प्राप्त स्वास्थ्यकर्मीसंग  सम्पर्क गर्नु बेस होला। गर्भपतन गराइहाल्नुभएको स्थितिमा आफूले उपयुक्त गर्भ निरोधको साधन प्रयोग गर्न पनि नबिर्सनु होला।