३० करोडको लगानी योजना ल्याउँदै सिद्धार्थ


चैत ११- सिद्धार्थ क्यापिटल लिमिटेडले ३० करोड रुपैयाँको अर्को लगानी योजना ल्याउने भएको छ। कम्पनीले पाँच वर्षे 'सिद्धार्थ इक्विटी ओरेन्टेड स्किम-१' नामको योजना ल्याउन लागेको हो।

 
सिद्धार्थ बैंकको सहायक कम्पनी सिद्धार्थ क्यापिटलले गत पुसमा ल्याएको ५० करोड रुपैयाँका इकाईहरूले बजारबाट राम्रो प्रतिक्रिया पाएपछि नयाँ योजना ल्याउन लागिएको हो। यसमा कम्पनीले लगानीलाई थप विविधीकरण गर्न लागेको छ।
'पहिलो स्किमबाट निकै उत्साहित छौं। त्यही भएर अर्को योजना ल्याउन लागेका हौं,' कम्पनीका प्रमुख कार्यकारी अधिकृत ध्रुवकुमार तिमिल्सिनाले नागरिकसँग भने, 'नयाँ स्किमबाट पनि राम्रो प्रतिफल प्राप्त हुने भएकाले यसलाई लगानीकर्ताले रुचाउने छन्।'
कम्पनीले चैतभित्र नयाँ स्किमका ल्याउन धितोपत्र बोर्डमा स्विकृति आवेदन दिने तयारी गरेको छ। 'नयाँ स्किमका लागि सबै विषय अन्तिम चरणमा पुगिसकेका छन्,' उनले भने, 'यसै साताभित्र सञ्चालक समितिबाट पारित गराएर बोर्डमा जाने छौं।' तिमिल्सिनाले स्वीकृति पाएपछि जेठ पहिलो साता नयाँ स्किम ल्याइने बताए।
उनका अनुसार कम्पनीले ३० करोडको स्किममा आवेदन अधिक परे त्यसलाई २५ प्रतिशतले बढाउन सक्नेछ। आवेदन बढे स्किमको आकार ७ करोड ५० लाख रुपैयाँले बढ्ने छ। 'अघिल्लो पटक ४० करोडको स्किममा पनि आवेदन बढी परेकाले आकार १० करोड रुपैयाँले बढेको थियो,' उनले भने, 'बजारमा हाम्रो युनिटको राम्रो कारोबार भइरहेकाले यसपालि पनि आकार बढेर साढे ३७ करोड पुग्न सक्छ।'
नयाँ स्किमको लगानीलाई कम्पनीले अघिल्लोभन्दा केही परिवर्तन गरेको छ। यसपालि कूल लगानीमध्ये ८० प्रतिशत सेयर र बाँकी २० प्रतिशत ऋणपत्र तथा बैंक निक्षेप खातामा लगानी गरिने छ। अघिल्लो स्किममा ९५ प्रतिशत लगानी सेयर र बाँकी निक्षेप खातामा गरिएको थियो।
मुलुकमा ऋणपत्रको राम्रो विकास नभइसकेकाले यसमा लगानी बढाउन नचाहेको उनले बताए। बजारमा ऋणपत्र खरिद-बिक्री सजिलो नभएकाले यतातिर लगानी बढाउँदा समस्या पर्न सक्ने बताए । 'अहिले बजारमा ऋणपत्र सजिलै उपलब्ध छैन। बैंकले पनि पुँजी कोष कायम राख्न ऋणपत्र जारी गरिरहेको अवस्था छ,' तिमिल्सिनाले भने, 'त्यही भएर सेयर र निक्षेप खातामै बढी केन्द्रित भएका हौं।'
उनले पाँच वर्षे अवधिको नयाँ स्किमबाट लगानीकर्ताले वार्षिक औषत १५ प्रतिशत प्रतिफल पाउने जानकारी दिए। खर्च घटाएर अधिकतम प्रतिफल दिने उद्देश्यले नयाँ स्किम तयार पारिएको उनको भनाइ छ। प्रतिफल बढाउन व्यवस्थापक शुल्क अघिल्लोको भन्दा घटाएर नयाँ स्किम ल्याउन लागिएको उनले बताए।
अघिल्लो स्किमको खुद सम्पत्ति मूल्य (एनएभी) ११ रुपैयाँमाथि छ। निस्कासन भएको तीन महिनामै यसको प्रतिफल १० प्रतिशत पुगिसकेको छ। 'बजारमा पनि राम्रो मूल्यमा इकाई खरिद-बिक्री भइरहेको छ,' उनले भने, 'पुरानोबाट लगानीकर्ताले राम्रो प्रतिफल पाउने अवस्था भएकाले नयाँ निस्कासन गरेर लगानीको अवसर दिन लागिएको हो।'
नयाँ स्किमलाई कम्पनीले सुपरिवेक्षक नियुक्तिका लागि धितोपत्र बोर्डबाट स्विकृति लिने तयारी गरेको छ। प्रत्येक स्किमलाई सुपरिवेक्षक समूह नियुक्त गर्नुपर्ने नियामकको व्यवस्था छ।
नेपालमा सामूहिक लगानी कोषको स्किम बिक्री गर्ने पहिलो कम्पनी सिद्धार्थ हो। सिद्धार्थपछि नबिल इन्भेस्टमेन्ट बैंकिङले अहिले युनिट बिक्री गरिरहेको छ। नबिलले ६० करोड रुपैयाँबराबरको युनिट बिक्री खुला गरेको छ।