ब्याडमिन्टनमा खस्कँदो स्तर


काठमाडौं, चैत १०- नेपालको ब्याडमिन्टनमा ठूला राष्ट्रिय प्रतियोतिगा औपचारिकतामा सीमित हुन थालिसकेका छन्। उपाधिका लागि खेलाडीबीच कडा प्रतिस्पर्धा हुन छाडेको धेरै भइसक्यो। एक पूर्व खेलाडीको भनाई सापट लिने हो भने प्रतियोगिता सुरु नहुँदै समर्थकले फाईनल पुग्नेको नाम सहजै अनुमान लगाउछन्।



माघमा सकिएको कृष्णमोहन स्मृति ब्याडमिन्टनको फाईनल समर्थकको चाहनाविपरित एकपक्षीय भयो। रत्नजित तामाङ र सरादेवी तामाङले सहजै उपाधिमा कव्जा जमाउँदा विपक्षी निरिह देखिए। जसले गर्दा फाइनल हेर्न हल्चोकस्थित एपिएफको कभर्डहल धाएका दर्शकसामु खल्लो मान्दै फर्किनुको विकल्प रहेन।
सरादेवीले सबिना पन्थी र रत्नजितले दिपेश धामीलाई सोझो सेटमै पाखा लगाए। उत्कृष्ट फर्ममा रहेका दिपेश तथा सेमीफाईनलमा चोट बोकेकी सबिनाले कुनै पनि बेला विपक्षीलाई टक्कर दिन सकेनन्। सधैजसो ठूला प्रतियोगिताका फाइनलमा सीमित नामले रजाँइ गर्नुको पछाडि युवा विकास परियोजना सञ्चालन नहुनुलाई पूराना खेलाडी कारण मान्छन्।
प्रशिक्षक सुदिप योन्जनको भनाइमा नयाँ खेलाडी उत्पादन गति सुस्त हुनुले ब्याडमिन्टनको यस्तो हविगत भएको हो। लामो समयदेखि सिमित खेलाडीमात्र सक्रिय भएकाले प्रतिस्पर्धा कम भएको उनको बुझाइ छ। 'ब्याडमिन्टन महँगो खेल हो। खेलाडीलाई नियमित अभ्यासका लागि समेत आर्थिक कठिनाइ छ,' नागरिकसँगको जम्काभेटमा योन्जन भन्छन्, 'विभागीय टोलीका कारण थोरै राहत भएपनि त्यो पर्याप्त छैन। खेलाडीले प्रतियोगिता हुँदा एक महिनाअघि मात्र र्‍याकेट पाउछन्।'
२०५५ सालका राष्ट्रिय च्याम्पिनय योञ्जनको विचारमा धेरै संख्यामा नयाँ खेलाडी आए प्रतिस्पर्धासँगै खेलको स्तर बढछ। खेलाडीको संख्या बढाउन आर्थिक रुपमा खेलाडीलाई सहयोग पुग्ने प्रतियोगिता तथा अन्य कार्यक्रम ल्याउनुपर्ने उनी आवस्यकता देख्छन्। भन्छन्, 'यस्ता कार्यक्रमको अभावका कारण राम्रा खेलाडीले पनि खेलजीवनलाई निरन्तरता दिन सकेका छैनन्। धेरै पलायन भइसके।'
कुनै बेला नेपाली ब्याडमिन्टनको भविश्यका रुपमा उदाएका पशुपति पनेरु, बलराम थापा र सुमिना श्रेष्ठजस्ता खेलाडी उच्च फर्ममा रहँदै अमेरिका पलायन भएका थिए। हालै अमेरिकाबाट बिदा मनाउन नेपाल आएको मौकामा पशुपतिले सन्याँसको घोषणा गरे। त्यही क्रममा पशुपतिले नेपाली ब्याडमिन्टनको स्तर खस्किएको भनाई राखेका थिए। दुई वर्षअघि अमेरिकाबाट बिदा मनाउन आएकै बेला उनले कृष्णमोहन स्मृति ब्याडमिन्टनको उपाधि जितेका थिए। यसबाट नेपालमा यो खेलको स्तर खस्कदै गएको प्रमाण मिलेको खेलकर्मी बताउछन्।
नेपाल ब्याडमिन्टन संघका महासचिव रामजीबहादुर श्रेष्ठ खेलले गति लिन नसकेको स्विकार्छन्। बिगतको उपलब्धि जोगाउन नसकेकोमा सहमति जनाउदै उनी भन्छन्, 'संघ विगतमा जस्तो सक्रिय हुन नसकेको पनि हो। आर्थिक स्रोत प्रर्याप्त जुटाउन सकिएको छैन।'
श्रेष्ठले खेलकुद ब्यावसायिक बन्दै गइरहेका बेला ब्याडमिन्टनमा पनि खेलाडीले जीवन निर्वाह गर्न आर्थिक रुपमा सुरक्षित महशुस गर्न सक्नु पर्ने विचार राखे। 'आर्थिक अवस्था राम्रो नभए खेलाडीले निरन्तरता दिन सक्दैन। त्यसैले संघ अहिले त्यो वातावरण बनाउन लागिपरेको छ,' उनले भने। नेपालमा धेरै प्रतियोगिता नभइरहेका बेला संघले पनि वर्षमा एउटा राष्ट्रिय प्रतियोगिताबाहेक आर्थिक अभावका कारण गर्न नसकेको श्रेष्ठले स्विकारे।
नेपालले नवौ दक्षिण एशियाली खेलकुददेखि हरेक संस्करणको टिम इभेन्टसमा कास्य पदक जित्दै आएको छ। दक्षिण एसियाकै अन्य विपक्षीको ब्याडमिन्टन विश्वस्तरीय हुनु तथा नेपालमा भने कुनै दिर्घकालिन योजना नहुँदा एकल तथा डबल्स बिधामा भने नेपाल उपाधिरहित हुदै आएको छ।
पुलिस क्लब छाडेर गृह जिल्ला भोजपुरबाट खेलिरहेका तीन पटकका नेपाल च्याम्पियन विकास श्रेष्ठ ब्याडमिन्टनमा ब्याबसायिकताको अभाब रहेको बताउँछन। विकासले च्याम्पियनलाई समेत खर्च चलाउन गाह्रो भएको बताउदै भने, 'प्रतियोगिता नै कम छन, विगतमा अग्रज दाईहरुले वर्षमा १२ वटा सम्म अन्तराष्ट्रिय प्रतियोगिता खेल्थे, अहिले हामीले वर्षमा २ वटा प्रतियोगिता पनि मुस्किलले खेल्न पाउने अवस्था छ।'
उनको विचारमा खेलाडीलाई वर्षभरी ब्यस्त राख्ने कार्यक्रम ल्याउन संघले जोड दिनुपर्छ। 'खेलाडीलाई ब्यावसायिक रुपमा खेल्ने वातावरण बनाउनेतिर ध्यान दिनु पर्छ,' उनले भने।