गोलभेंडा खेतीले फेरिँदो जीवनशैली
![]() |
इलाम, फाल्गुन ८ - कोलबुड-३ की शान्ता गुरुडलाई गोलभेंडाको खेती थालेपछि घरबार चलाउन मुस्किल छैन । भएभरको घरबारीमा लटरम्मै गोलभेंडा फलाउने गुरुङ वाषिर्क ५ लाख रुपैयाँसम्मको आम्दानी लिन्छिन् । पञ्चकन्याका दीपेन्द्र गड्तौलाले वैदेशिक रोजगारीमा जान ठिक्क पारेको रकम गोलभेंडामा लगानी गरेर एकै सिजनमा १२ लाख रुपैयाँ आम्दानी गरे । पशुपतिनगर बागवीरे गाउँका कृषकले सामूहिक रूपमा खेती गरेर पहिलो वर्ष नै १५ लाख रुपैयाँभन्दा धेरै आम्दानी गरेका छन् । व्यक्तिगत र सामूहिक रूपमा गोलभेंडा खेतीबाट सफलता कमाउने कृषक यति मात्रै छैनन् । पूर्वी गाउँका हरेकजसो महिलाको आम्दानीको प्रमुख स्रोत गोलभेंडा बन्दै गएको छ । सीमावर्ती गाउँका कृषकले सीधै भारतीय बजारहरू सिलिगुडी, दार्जिलिङ र तराईका बजारमा गोलभेंडा पुर्याउने गरेकाले राम्रो आम्दानी लिन सफल भएका हुन् ।
नगदेबाली उत्पादनमा अग्रणी यहाँका कृषक व्यावसायिक रूपमा गोलभेंडा खेतीमा लागेर थप आम्दानी लिन थालेका हुन् । जिल्लाका पूर्वी गाउँका कृषकले खुला र टनेलमा टमाटर खेती गरेर व्यावसायिक बनेका छन् ।
कोलबुङ, पशुपतिनगर, इरौटार, गोदकलगायत गाउँका कृषक टमाटर खेती गरेर कमाइ गर्नेमा अग्रणी छन् । अधिकांश गाउँमा गोलभेंडा खेतीमा महिलाहरू लागेका छन् । कृषकलाई जिल्ला कृषि विकास कार्यालय, व्यावसायिक कृषि विकास आयोजनालगायतले आर्थिक र प्राविधिक सहयोगसमेत पुर्याउने गरेका छन् ।
खेती बढेसँगै विगत वर्षहरूभन्दा यो पटक संक्रमण ज्यादा भएको र सिँचाइ पर्याप्त नभएको कृषकको दुखेसो छ । पूर्वी गाउँका हरेक कृषकले तीन/चार रोपनी जमिनमा गोलभेंडा लगाउनु सामान्य भइसकेको छ । गत साल ५० रुपैयाँ किलोसम्म गोलभेंडा बिक्री भएकामा यो वर्ष ३५ रुपैयाँले भाउ पाए पनि बजारमा निरन्तर गोलभेंडाको माग भएको गुरुङले बताइन् । यहाँको गोलभेंडा चारआलीको गद्दी हुँदै भारतसम्म निकासी हुने गरेको छ ।खुला आकाशमुनि गोलभेंडा लगाउँदा हिउँदयाममा पनि पर्याप्त आम्दानी लिन कोल्बुङका कृषक सफल भएका छन् । पर्याप्त सिँचाइ अभाव भएपछि जिल्ला कृषि विकास कार्यालयले सिँचाइका लागि पाइप उपलब्ध गराएको प्राविधिक उद्धव पौड्यालले बताए ।
तर पनि पर्याप्त पानीको स्रोत नहुँदा गोलभेंडामा लाई लाग्ने र फुल्न थालेपछि बोट नै ओइलाउने गरेको उनीहरूले बताए । किसानलाई बेलैमा सिँचाइका लागि उपयुक्त योजना ल्याउनुपर्ने र बेला बेलामा प्राविधिकहरूले अनुगमन गरी रोग निदान गरेमा यो क्षेत्रको दसौं वर्ष किसानले गरेको परीश्रम खेर नजाने स्थानीय अर्जुन गुरुङ बताउँछन् । जोखिम मोलेर भए पनि गोलभेंडा खेती लगाउँदा मकै कोदो जस्ता बालीभन्दा सयौं गुणा आम्दानी हुन सक्ने यहाँका महिलाहरूको अनुभव छ ।
![]() |