कुलतमा सहाराविहीन बालबालिका



दैलेख, फाल्गुन ८ - श्रीपञ्चमीमा अधिकांश बालबालिका विद्याकी देवी सरस्वतीको पूजा आरधाना गर्नमा व्यस्त थिए त कोहीका अभिभावकले आफ्ना नानीलाई अक्षर शुभारम्भ गराउँदै सुन्दर भविष्यतर्फ डोर्‍याउँदै थिए । सहाराविहीन बनेका चार बालबालिका भने शुक्रबार बिहानैदेखि सडकमा मागिरहेका भेटिए । कसैले नदिएपछि चोरेरसमेत भोक मेटाउने कुलत बसेका तिनीहरू सहाराविहीन हुँदा शिक्षादीक्षा त टाढाको कुरा भइहाल्यो आधारभूत आवश्यकताबाट समेत वञ्चित छन् ।
बाबु कारागार, आमा अस्पतालमा हुँदा उनीहरूका तीन सन्तान सहाराविहीन छन् । नारायण नगरपालिका ६ नमुना बस्तीका कमारो सार्कीले श्रीमती चावलीको शरीरमा अगुल्टो झोसेपछि ११ वषर्ीय छोरा कालु, ९ वषर्ीय छोरी पुष्पा र ५ वषर्ीय छोरा टुनटुन बेसाहारा बनेका हुन् । त्यस्तै, आमाले दोस्रो बिहे गरेपछि उनीहरूका साथीका रूपमा भुर्तीका एक बालक पनि सदरमुकामै अलपत्र छन् । ती बालबालिका अहिले स्थानीय आवाज संस्थाको आपतकालीन सेल्टरमा छन् । आवास र एकसरो कपडाबाहेक उनीहरूको पालनपोषण र शिक्षादीक्षाको जिम्मेवारी लिन कसैले तत्परता देखाउन सकेका छैनन् ।
सदरमुकाम देवकोटा चौक निवासी व्यवसायी माधव अधिकारीले सरोकारवाला निकायले ती बालबालिकाको भविष्यप्रति चिन्तित बन्नुपर्ने बताए । कति दिन उनीहरूले मागेर भोक मेटाउँछन् ? बास दिएरमात्र पुग्दैन । पालनपोषण र शिक्षादीक्षाका लागि सहयोग जुटाउनुपर्छ उनले भने, 'सस्तो लोकपि्रयताका लागि झिनो सहयोग दिएर पन्छिनु भएन ।' कमारो सार्कीका छोराछोरी पुस १३ गतेदेखि र अर्का अर्जुन नेपाली दुई वर्षदेखि बिचल्लीमा परेका हुन् । जिल्ला बाल कल्याण समितिमार्फत मोरङको उर्लाबारी ४ स्थित नमुना बालकल्याण गृहले संरक्षण दिने आश्वासन दिएको थियो । तर महिना दिन बितिसक्दासमेत उसले जिम्मेवारी लिएको छ्रैन । सबै कागजात तयार गर्न लगाए । माइती नेपाल काठमाडौंले लैजाने कुरा चलेको थियो । आवाजकी टिमलिडर तारा खड्काले भनिन्, 'नमुना बालगृहले जिम्मेवारी लिने आश्वासन दिए ।' अब फागुन दोस्रो सातासम्म आउने वाचा गरेका छन् । अधिकारकर्मी दीपा बोहराले उक्त संस्थाले झूटा आश्वासन दिएर बालबालिकाको भविष्य बिगार्न थालेको आरोप लगाइन् । उति बेला अघि नसरेको भए अरू आइसक्थे उनले भनिन्, न त आफूले लियो र न अरूलाई लिन दियो ।
उचित स्याहार र लत्ताकपडा नपाउँदा ती बालबालिकाले जाडोमा कष्टकर दिन बिताउनुपरेको छ । राति आवाजको सेल्टरमा हुन्छन् भने दिनभर सडकमै मागेर गुजारा गरिरहेका हुन्छन् । घटनायता उनीहरूको छाप्रो रित्तो छ । कमारोले दिनभर मजदुरी गरेर कमाएको पैसाबाट परिवार पाल्दै आएका थिए । अति विपन्न भएकाले सार्की परिवारका यी बालबालिकाले अहिलेसम्म स्कुलको ढोका टेकेका छैनन् । तत्कालीन प्रजिअ उमेशकुमार ढकालको संयोजकत्वमा पुस १९ गते बसेको जिल्ला बाल कल्याण समिति बैठकले ती बालबालिकालाई मोरङको उर्लाबारी ४ स्थित नमुना बालकल्याण गृहलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो । जिल्ला बाल अधिकार अधिकृत खगेन्द्र खत्रीले निर्णयबमोजिम मोरङ पठाउने तयारी भइरहेको तर उक्त संस्थाका सचिव जीवन घिमिरे सम्पर्कमा नआएको जानकारी दिए । सम्बन्धित संस्थाको प्रोफाइल मगाएका थियौं उनले भने, ती व्यक्तिको मोबाइल नम्बर ९८४२०१८२४८ मा सम्पर्क गर्दा रजिस्टर्ड गरिएको छैन भन्ने सन्देश आउँछ । जिम्मेवारी लिन नचाहेको भए उक्त संस्थाले आफूहरूलाई खबर गर्नुपर्ने खत्रीको भनाइ छ । उनले भने, 'आश्वासनमात्रै बाँड्नु ठीक होइन खबर गर्नुपथ्र्यो ।'
सामान्य विवादका क्रममा मदिराले मातेका कमारोले पुस १२ गते चावलीको गुप्तांग केन्दि्रत गरी अगुल्टो झोसेका थिए । ज्यान मार्ने उद्योगअन्तर्गत जिल्ला अदालतले कमारोलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । घाइते चावलीको नेपालगन्जमा उपचार भइरहेको छ । घाउ पाक्ने क्रम नरोकिएपछि उनलाई शिक्षण अस्पताल नेपालगन्ज पठाएको हो । अगुल्टोले उनको दाहिने तिघ्रा र योनीको केही भाग जलेको थियो ।