समाचार
»
छोरी बिक्री गर्न खोज्ने बाबु जेल चलान
छोरी बिक्री गर्न खोज्ने बाबु जेल चलान
|
बाँके, मंसिर ४ -
छोरीलाई भारत लगेर बलात्कार गरी बिक्री गर्न खोज्ने बाबु जितबहादुर
सुनारलाई बाँके जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गरेको छ । बर्दिया
कालिका बस्ने सुनारमाथि १५ वर्षीया छोरीलाई भारतको लखनउस्थित छेदीलाल
धर्मशालामा लगी बलात्कार गरेको अभियोग छ । बलात्कारपछि मुम्बईमा बिक्रीका
लागि पैसा मोलमोलाइ गरिरहेका बेला उनी फक्राउ परेका थिए । अदालतले थुनछेकको
सुनुवाइ गर्दै उक्त मुद्दाको फैसला नहुँदासम्म नेपालगन्ज कारागारमा राख्ने
आदेश दिएको हो । न्यायाधीश कृष्णकमल अधिकारीको इजलासले प्रारम्भिक
अनुसन्धानबाट अभियोगसम्बन्धी पर्याप्त प्रमाण भेटिएपछि सुनारलाई गत सोमबार
कारागार चलान गरेको अदालतले जनायो । सुनार भारतको कानपुरमा भान्सेको काम
गर्दै आएका थिए । श्रीमती वैदेशिक रोजगारका लागि कुवेत गएकी छन् । गत
वैशाखमा घरमा आएका उनले छोरीलाई आफूसँगै राख्न कानपुर लगेका थिए । तर
लखनउको होटेलमा पुर्याएर बाबुले बलात्कार गरेको छोरीले प्रहरी कार्यालयमा
लिखित जाहेरी दर्ता गराएकी छन् । मुम्बईबाट अपरिचत व्यक्तिहरूलाई लखनउ
बोलाएर बिक्रीका लागि मोलमोलाइ गरेको सुनेपछि छोरीले कुवेतमा रहेकी आमालाई
मोबाइलमार्फत सम्पर्क गरी घटनाबारे बताएकी थिइन् । आमाले नेपाल प्रहरी र
मानव ओसारपसारविरुद्व काम गर्दै आएका संघसंस्थालाई जानकारी गराएपछि भारतीय
सुरक्षा अधिकारीको सहयोगमा पीडितको उद्धार सम्भव भएको थियो । 'रात
परिसकेकाले बुबाले होटेलमा लगेर राखे । राति मलाई बलात्कार गरे,' छोरीले
अदालतको बयानमा भनेकी छन् । बाँके प्रहरीले सुनारमाथि जबरजस्ती करणी,
हडनाता करणी र मानव ओसारपसार गरेको अभियोगमा मुद्दा चलाएको छ । हडनाता
करणीको अभियोग ठहर भए जन्मकैद, नाबालिका बलात्कारमा थप ५ वर्ष कैद र मानव
ओसारपसार गरेको अभियोगमा १० वर्ष कैद र पीडितलाई क्षतिपूर्तिको माग गरिएको छ
।
एउटै व्यक्तिमाथि जबरजस्ती करणी, हडनाता करणी र मानव ओसारपसारको
अभियोगसहित अदालतमा मुद्दा दर्ता भएको बाँकेमा सम्भवत पहिलो भएको कानुन
व्यवसायीले बताएका छन् । पीडितलाई कानुनी सेवा दिँदै आएका अधिवक्ता वासुदेव
ज्ञवालीले बाबुले छोरीलाई बलात्कार गरी बिक्री गर्ने घटना बर्बरतापूर्ण
रहेको प्रतिक्रिया दिए । 'पीडितले अदालतमा दिएको बयान सुन्दा आङ जिरिंग
हुन्छ,' उनले भने, 'समाजका लागि यो निकृष्ट घटना हो ।' बाबुले पनि अदालतमा
बयान दिँदा आरोप स्वीकार गरेका
छन् । उनले मदिरा सेवन गरी होस गुमाएका बेला त्यस्तो घटना भएको दाबी गरेका छन् ।
|