काँग्रेस-एमालेले सहमतीय प्रधानमन्त्री छान्न पहल थाल्ने

'राष्ट्रपतिको कदम स्वागतयोग्य'

1
९ मंसिर, काठमाण्डौ । सरकारविरुद्ध आन्दोलनमा उत्रिएका काँग्रेस-एमालेले राष्ट्रपतिको कदमलाई स्वागत गर्दै सहमतिका लागि अन्य दलसंग छलफल थाल्ने भएका छन् । काँग्रेस पदाधिकारी र एमाले स्थायी समितिको वैठकले सहमतिको प्रधानमन्त्री सिफरिस गर्न राष्ट्रपतिले शुक्रवार गरेको आहृवानको स्वागतलाई स्वागत योग्य भनेका हुन् ।

शनिवार विहान पार्टी मूख्यालय  बल्खुमा बसेको एमाले स्थायी समितिको बैठकले राष्ट्रपतिको कदमको स्वागत गर्दै सहमतिको प्रधानमन्त्री सिफारिस गर्न पहल गर्ने निर्णय गरेको छ ।’राष्ट्रपतिले चाल्नु भएको कदमको स्वागत गरेका छौं’ स्थायी समिति सदस्य भरतमोहन अधिकारीले अनलाइनखबरसँग भन्नुभयो-’अब सबै दलहरुले सहमति गरेर प्रधानमन्त्री सिफारिस गर्नुपर्छ । एमालेले त्यसका लागि थाल्ने निर्णय भएको छ ।’ सहमतिको प्रयासमा आजै कांग्रेससँग छलफल गर्ने र त्यसपछि आन्दोलनका सहभागीहरुसँग कुरा हुने उहाँले बताउनु भयो ।
यस्तै शनिवार नै बसेको काँग्रेस पदाधिकारीको वैठकले पनि राष्ट्रपतिको कदमको स्वागत गरेको छ । महाराजगञ्जस्थित सभापति सुशील कोइरालाको निवासमा बसेको पदाधिकारी वैठकले  राष्ट्रपतिले तोकेको समयसीमाभित्रै दलहरुको सहमतिमा  प्रधानमन्त्रीको सिफारिस गर्न पहल गर्ने निर्णय गरेको उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार सहमतिका लागि काँग्रेसले आजैवाट दलहरुसंग छलफल अघि वढाउने छ ।
पौडेलले भन्नुभयो,’राष्ट्रपतिको कदम स्वागत योग्य छ । राष्ट्रपतिले मुलुकमा जारी संकट समाधानका लागि चालेको कदम हो । त्यसलाई सवै दलले सकारात्मक रुपमा लिनु पर्छ ।’ पौडेलले एकीकृत माओवादीले राष्ट्रपतिको कदमलाई असंवैधानिक कदम भनेकोमा आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो,’त्यही संस्था जसले सरकारले सहमतिविना ल्याएको बजेट स्वीकसत गर्दा एमाओवादीले स्वागत गर्‍यो । तर त्यही व्यक्ति जसले राष्ट्रलाई संकटवाट बचाउन सहमतिमा प्रधानमन्त्रीको उम्मेदवार ल्याउ भन्दा कसरी असंवैधानिक हुन्छ ।’ पौडेलले एमाओवादीको यस्तो निर्णयले उसले सत्ता छोड्न चाहादैन भन्ने नियत छर्लङ्ग पारेको वताउनुभयो ।