बाबुराम सरकारलाई वैद्य समूहले ७० बुँदे माग राख्ने

काठमाडौं, भाद्र १८ - एमाओवादीबाट फुटेर बनेको नेकपा-माओवादी ले बाबुराम भट्टराई सरकारसँग ७० बुँदे माग राख्ने भएको छ । माग पूरा नभए आन्दोलन गर्ने उसको चेतावनी छ ।
माओवादी उपाध्यक्ष सीपी गजुरेलले सोमबार राजधानीमा आयोजित साक्षात्कारमा तत्कालिन माओवादीले राखेका ४० बुँदे मागमा ३० थप गरी ७० बुँदे माग राख्ने जानकारी दिए । माओवादी नेता बाबुराम भट्टराई -हाल प्रधानमन्त्री)ले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारसँग ४० बुँदे माग राखेका थिए । माग पूरा नभएको भन्दै माओवादी सशस्त्र युद्धमा गएको थियो ।
गजुरेलले आन्दोलन शान्तिपूर्ण हुने उल्लेख गरे । 'आन्दोलन शान्तिपूर्ण हुन्छ,' उनले भने, 'तत्कालिन विद्रोही माओवादीलेजस्तो जनसरकार ब्युँताउने सम्भावना छैन ।'
गजुरेलले बाबुराम भट्टराई प्रधानमन्त्री पदमा कायम रहेसम्म दलहरुबीच सहमति बन्न नसक्ने ठोकुवा गरे । 'बाबुराम भट्टराई प्रधानमन्त्री रहुन्जेल सहमति बन्नै सक्दैन,' प्रधानमन्त्रीको राजीनामा पहिलो सर्त रहेको बताउँदै उनले भने, 'उहाँ अब पदमा रहनु हुन्न ।'
दलहरुबीच सहमति पनि नहुने, बाबुराम भट्टराईले राजीनामा पनि नदिने हो भने अर्को जनआन्दोलनको विकल्प नभएको स्पष्ट पारे । राष्ट्रपतिले गतिरोध अन्त्यको लागि ठोस पहलकदमी लिनु पर्ने भन्दै गजुरेलले पछिल्ला गतिविधिले राष्ट्रपति निरीह देखिएकोप्रति चिन्ता प्रकट गरे । उनले भने-'राष्ट्रपति निरीह रहने, प्रधानमन्त्री गैरजिम्मेवार भइरहने यस्तो अवस्थामा अब जनताले सडक कब्जा गर्नुको विकल्प छैन ।'
राजीनामा हुन्नः एमाओवादी
साक्षात्कारमा एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले संविधानका विवादित अन्तर्वस्तुमा सहमति नभएसम्म प्रधानमन्त्रीले पदत्याग नगर्ने स्पष्ट पारे । उनले राजनीतिक निकासको उपाय नपहिल्याई सरकार परिवर्तनको मुद्दालाई प्राथमिकतमा राख्नु नै सहमतिको बाधाक भएको भन्दै संविधानका विवादित विषयमा सहमति जुटे संविधानसभा पुनःस्थापना गर्न सकिने स्पष्ट पारे ।
कांग्रेस केन्द्रीय सदस्य मनमोहन भट्टराईले मुलुकलाई राजनीतिक दुष्चक्रबाट निकाल्ने एक मात्र उपाय राष्ट्रपति भएको भन्दै राष्ट्रपतिसँग सकारात्मक हस्तक्षेपको लागि आहृवान गरे ।  
एमाले प्रचार विभाग प्रमुख प्रदिप ज्ञवालीले पर्तमान सरकारको बहिर्गमनसँगै सहमतिको सरकार गठन नै मुलुकमा जारी राजनीति र संवैधानिक संकटबाट निकासको प्रस्थान विन्दु हुने बताए ।