त्यो हाते फोन बनाउनेलाई भेटाइदेऊ न है


जताततै तीजको रमझम छ। गाउँदेखि सहरसम्मका महिला आ-आफ्नै धुनमा मस्त छन्। आफ्नो उमेर र क्षमताअनुसार कोही पाँचतारे हो टलमा डिस्को नाच्दैछन् भने कोही पानी नपिई निराहार व्रत बस्ने तयारीमा छन्। आधुनिक बन्दै गएको तीजमा वाइन पिएर डिस्को नाच्नेहरू लाई पुरानो तीज कस्तो थियो, सम्भवतः यो कल्पना बाहिरको कुरा होला। आधुनिक हुँदै गएको यो पर्वको रमझममा पुरानो तीजको कथा सुन्न  यसपटक फोटो पत्रकार नवराज वाग्लेका साथ अश्विनी कोइराला वृद्ध महिला खोज्दै लामो समय भौंतारिए। अन्त्यमा काठमाडौं काँढाघारीमा  भेटिएकी ८४ वर्षीया मनामाया दवाडीको रोचक कथा फेला पर्‍यो। 

आमा, चारैतिर तीजको रमझम छ, कस्तो लागिरहेको छ ?

मन फुरुङ्ग भा'को छ। बाँचिरहनुपर्छ, यस्तो पनि देख्न पाइने रहेछ भन्ने लागिरहेको छ। 

तपाईंलाई तीजको कुन कुरा अचम्म लाग्यो ?

सबै कुरा अचम्म छ नि। टेलिभिजनले पनि तीज नै देखाउँछ, यसो बाहिर हेर्‍यो, आँखै टल्किने राता साडी लगाएर आइमाईहरू बाट्बाटै  नाचिरा'का छन्। सधैंभरि मीठो खाना पाइएको छ। स्वर्गे भएपछि यस्तो देख्न पाइन्छ भन्थे, जिउँदै पो स्वर्ग पुगियो। 

हामीलाई यी कुरा साधारण लाग्छ, तपाईंलाई किन यत्रो अचम्म लागेको नि ?

सधैं खीर खाएपछि त्यसको मिठास पनि आउँदैन क्या। तपाईंहरू पर्नुभो अहिलेको मान्छे, म परेँ उहिल्यै सत्य युगकी। म त आइमाई नाचेको  देखेरै छक्क परेकी छु। 

तपाईंका पालामा महिलाहरू नाच्दैनथे ? 

रहर गर्ने आइमाइहरू माइतीमा नाच्थे। घरमा त यसरी नाच्नै मिल्दैनथ्यो। टाउको नछोपी लोग्नेमान्छेको अघि जानै हुँदैनथ्यो। जेठाजु-ससुरालाई  छुन पनि मिल्दैनथ्यो। अहिले त तालपरे जेठाजुलाई नै आफूसँगै नचाउँछन्। यस्तो त हामी कल्पना पनि गर्न सक्दैनथ्यौं। 

यस्तो देखेर नराम्रो लागेको छ ?

छैन-छैन। यो कुन युग आयो भनेर अचम्म लागेको छ। 

आफूले पहिलो पटक मनाएको तीज सम्झन सक्नुहुन्छ ?

सम्झन्छु। नौ वर्षको उमेरमा विवाह भएको थियो। तीजमा मलाई माइती ल्याइएको थियो। विवाह भएपछि पानी नखाई व्रत बस्नुपर्छ भनेर  सबैले सिकाएका थिए। आमाले अघिल्लो दिन राति उठाएर भोलि गाह्रो हुन्छ, अहिले अघाउजी खा भनेर दर खान दिनुभयो। भोलीपल्ट बिहानै  तिर्खा लाग्यो। पानी खानु भनेको लोग्नेको रगत खानु हो भन्थे, तिर्खा लाग्यो भनेर भन्न पनि सकिनँ, कस्तो गाह्रो ?

पानी पिउनुभएन ?

हुँदैन भनेपछि कसरी पिउनु ? कतै पानी देखें भने तिर्खा लागेको सम्झिहाल्थें, अनि मन भुल्याउन गट्टी खेलेर बसें। साँझ परेपछि त साह्रै  गाह्रो भयो। धेरै तिर्खा लागेपछि त तिर्खा नै हराउँदो रहेछ। 

अहिले त्यस्तो अप्ठ्यारो दिन सम्झँदा कस्तो लाग्छ ?

मेरी कान्छी नातिनी आठ वर्षकी भई। उसलाई अझै पनि आमाले ख्वाइदिनुपर्छ। तीज भनेको पनि थाहा छैन, म आइमाई हुँ भन्ने पनि थाहा  छैन। यो के दिन देख्नुपर्‍यो भनेर छक्क पर्छु। 

तीजमा दर खाने चलन किन आएको होला ?

पहिले सानैमा बिहे गरिदिन्थे। उसले घरका मान्छेलाई ख्वाएपछि मात्रै खानुपर्थ्यो। मीठो-मसिनो कहिल्यै मुखमा नपर्ने। माइतीलाई माया लाग्यो  होला। त्यही भएर तीजमा घर ल्याउने, उसलाई मीठो मसिनो ख्वाउने चलन चल्यो होला। त्यो बेला आजका जस्ता नाना-भाँती खानेकुरा  थिएनन्। चामलको भात देख्नु नै ठूलो कुरा थियो। 

दरमा के खानुहुन्थ्यो ?

ढकनी (गाईको घिउमा चामल भुटेर बनाइने खीर) सबैभन्दा मीठो परिकार थियो। त्यसपछि आलुको पक्कु। वर्षमा एकपटक मात्रै यस्ता  परिकार खान पाइन्थ्यो। 

व्रत कसरी तोडिन्थ्यो ?

भोलिपल्ट बिहान श्रीमान्को गोडा धोएर त्यसको जल पिएपछि व्रत सकिन्थ्यो। तिर्खाले व्याकुल भएर होला, त्यो पानी त अमृतजस्तै हुन्थ्यो। 

श्रीमान् बाहिर गएको बेला पर्‍यो भने के गर्नुहुन्थ्यो ?

सबैको घरमा तुलसीको मोठ हुन्थ्यो। त्यसको छेउमा श्रीमान्लाई राखेर गोडाको जल पिउने चलन थियो। यसरी गोडा धुँदा भिजेको माटो पूजा  कोठामा राख्ने चलन थियो। श्रीमान् बाहिर गएका बेला लोग्नेको गोडाको पानी खानुपर्‍यो भने त्यही सुकेको माटोको डल्लामा पानी चढायो,  अनि त्यसको पानी खायो। 

तपाईंले पनि श्रीमान् नहुँदा काम लाग्छ भनेर तुलसीको मोठको माटो राख्नुभएको थियो ?

थियो नि। श्रीमान् हल्कारा (हुलाकको कर्मचारी) हुनुहुन्थ्यो। भनेको बेला कहिल्यै घर आउन नपाउने। घर आएको बेला श्रीमान्लाई तुलसीको  मोठ लान्थें र पानी खान्थें अनि त्यही भिजेको माटो ल्याएर राख्थें। उहाँ नभएको बेला त्यसको पानी पिउँथें। 

कहिलेसम्म यसरी पानी खानुभयो ?

२००७ सालसम्म। 

सात सालपछि खानुभएन ?

गाउँमा कांग्रेस पस्यो। पुरानो कुरा छाड्न नमान्ने मान्छेलाई गाउँबाट खेदाए, गाउँमा मेरो दाजु पनि कांग्रेस, मेरी बहिनी भएर मान्छेको गो डाको पानी खाने भनेर सम्झाउनुभयो। मेरा दाजुले कहिल्यै पनि भाउजूलाई त्यसो गर्न दिनुभएको थिएन। मेरा श्रीमान्लाई पनि सम्झाउनुभयो।  त्यसपछि श्रीमान् पनि डराउनुभयो कि कसो ? गोडाको पानी खान दिनुभएन। 

त्यो बेला सासू, नन्दहरूलाई गोडामा चिल्लो नलाई सुत्न पाइँदैनथ्यो रे, हो ?

हो त। मेरा दुई नन्द श्रीमान् चाँडै खसेकाले माइतीमै हुनुहुन्थ्यो। सासूसहित तीन जनालाई गोडामा चिल्लो लगाएर मात्र सुत्नुपथ्र्यो। कहिलेकाहीँ  ढिकी कुट्दा-कुट्दा थाकेर त्यहीँ निदाइन्थ्यो। भोलिपल्ट गाउँभरि सबैलाई फुस्रै सुताएको भनेर हल्ला हुन्थ्यो। 

अहिले सम्झँदा त्यो महिलाले महिलामाथि गरेको अन्याय थियो भन्ने लाग्दैन ?

मलाई त लाग्दैन। त्यो बेला त्यही राम्रो मानिन्थ्यो। अहिलेका मान्छेले त्यसो गर्नु नपरेकाले अन्याय लागेको होला। 

तपाईंलाई बुहारीहरूले चिल्लो लगाइदिन्छन् ?

लगाउँदैनन्। म नपढेकी आइमाइले जसो गरें, पढेलेखेकालाई त्यसै गर भन्न मिल्छ र ?

तपाईंले देख्दादेख्दै रेडियो बने, हवाईजहाज उडे कस्तो लाग्छ ?

पहिले त रेडियो देख्दै अचम्म, हवाईजहाज देख्दै अचम्म लाग्थ्यो। अहिले टेलिभिजनमा साक्षात् मान्छे निस्कँदा पनि अचम्म लाग्न छाड्यो। 

त्यसो भए जे भैरहेको छ, ठीकै छ, हो ? 

त्यो हाते फोन (मोबाइल) देख्दा मलाई अचम्मै लाग्छ बा। तार पनि छैन, आफ्नै मान्छेसँग कुरा गर्न सकिन्छ। 

टेलिभिजनमा टाढाको मान्छेको अनुहार देखिन्छ भने यो हाते फोन चल्नु कुन अचम्म हो र ?

तिमीले मेरो कुरै बुझेनौ। टेलिभिजनमा तार (केवुलको लाइन) जोडेको हुन्छ, त्यहीँबाट आउँदो हो। यो हाते मोबाइल त केही नजोडी आफ्नै  मान्छे जहाँ भए पनि कुरा गर्न मिल्छ। टेलिभिजनमा एकोहोरो बोल्छ, त्योसँग कुरा गर्न पाइँदैन, के काम ? हाते फोन बनाउने मान्छे त  साक्षात भगवान् नै हो। कहाँ होलान्, ती मान्छे ?

अमेरिकामा छन्, कम्प्युटरमा उनको फोटो हेर्न पाइन्छ, उनले बोलेका कुरा पनि सुन्न पाइन्छ, हेर्न मन लागेको छ ? 

खै कसरी बोल्नु, कुरा पनि बुझ्दिन होला। एउटा फोटो भए पूजा कोठामा राख्थें, लौ न बा एउटा फोटो पठाइदेऊ। 

हवाईजहाज बनाउने मान्छे पनि ठूलै हो जस्तो लाग्दैन ?

हवाईजहाज त उहिल्यै भगवानले पनि बनाएर चढेका थिए। यो हाते फोन कुन भगवान्ले बोकेका छन् र ?