सुन महँगो भएपछि गहना चोरी बढ्यो
![]() |
पोखरा, भदौ ३१- पसलमा बसेकी पोखरा-१० बुद्वचोककी इन्दिरा कटेल ग्राहकले सामान मागेपछि झिक्न निहुरिएकीमात्र थिइन् त्यही व्यक्तिले गलाको सिक्री लुटेर भाग्यो। तत्कालै चिच्याउँदै गुहार मागेपछि स्थानीय युवाले लखेट्दै प्रहरीको सहयोगमा सिक्री चोर्ने खिमलाल रिजाललाई पक्राउ गरे।
रिजालमाथि अरु महिलाको पनि गरगहना यसैगरी चोरेको आरोप लागेको छ। प्रहरीले भने अनुसन्धान भईरहेकाले थप चोरीको पुष्टि हुन बाँकी रहेको जनाएको छ। रुकुमको प्वाङ गाविस-६ का रिजालले ग्राहक बनेर पसलमा सामान किन्ने बहाना बनाई निहुँरिएको मौका पारी कटेलको दुई तोला १० लालको सुन लुटेका थिए। अहिले बजार मुल्यअनुसार उक्त सिक्रीको सवा लाख रुपैयाँ पर्छ। अर्की एक महिलाले पनि तिनै व्यक्तिले यसैगरी आफ्नो एकतोला सुनको सिक्री चोरेको उजुरी गरेकी छिन्। प्रहरीले रिजाललाई जबरजस्ती चोरी मुद्वामा म्याद थप गराई अनुसन्धान अघि बढाएको छ।
सुन महंगिएर प्रतितोला ६० हजार रुपैयाँ नाघेपछि पोखरामा गरगहना चोरीका घटना यस्ता बढेका छन्। महंगो सुन र नजिकिंदो चाडबाडसँगै महिलाका गरगहना लुट्ने गिरोह सक्रिय भएको कास्की प्रहरीका प्रवक्ता रवीन्द्र पौडेलले बताए। उनकाअनुसार जिल्ला प्रहरी कार्यालयमा चोरीका यस्ता घटनाको उजुरी दिनदिनै पर्न थालेको छ। केही समययता गरगहना चोरीका दैनिक २-३ वटा घटना दर्ता हुन थालेको पौडेलले बताए।
यस्तो अवस्थामा गरगहना लगाएर सार्वजनिक स्थानमा जाँदा होसियारी अपनाउन र घरमा पनि सुरक्षितसाथ राख्न प्रहरीको सुझाब छ। कतिपयले लाखौं मुल्यका गरगहना बैंकमा नराखी घरमै राख्दा पनि ठूला चोरीका घटना भएका छन्। मिरुवाचोकस्थित एक घरबाट हालै ७ तोला सुन चोरी भएको हो। उक्त घटनामा संलग्नको खोजी भईरहे पनि अझै पत्ता लाग्न नसकेको प्रहरी प्रवक्ता पौडेलले बताए।
चाडबाड नजिक आएपछि सहर-बजारमा वर्षेनी चोरीका यस्ता घटना दोहोरिने गर्छन्। यसलाई प्रहरी पनि सिजनेवल 'चोर' सक्रिय भई हुने घटनाका रुपमा लिने गर्छ। चाडबाड नजिकिदै गएपछि सानातिना चोरीका घटनामा बृद्वि हुनु प्रहरीको नजरमा सामान्य हो।
'अहिले सुन निकै महंगो भएपछि गरगहना चोरीका घटना बढेका छन्' प्रहरी प्रवक्ता पौडेलले भने,'दिनमा सरदर २-३ चोरीका घटना प्रहरीमा आउने गरेको छ। हामी यस्ता चोर समूहको खोजीमा छौं।'
विशेषगरी महिलाहरु घरमा राखेको तथा कानमा लगाएका गरगहना समेत चोरी भएको उजुरी गर्दै प्रहरी कार्यालयमा पुग्न थालेको बताए। पोखरा-६ स्थित वडा प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक शेरबहादुर चन्दले पनि रहर, बाध्यता र खराब नियतले चोरीका घटना बढेको बताए। आर्थिक हिसाबले पारिवारीक र व्यक्तिगत समस्या पर्नेहरु समेत चोरीमा संलग्न हुन थालेको उनले बताए। उनको टोलीले हालै मालेपाटनबाट एक बालकले कानमा लगाएको बाला चोरेर ८ हजार रुपैयाँमा बेच्ने एक महिलालाई पक्राउ गरेको छ। ती महिलाले आफ्नो बच्चा विरामी भएपछि उपचार खर्चका लागि अर्का बालकले लगाएको बाला चोरेको बयान दिएकी छिन्।
यस्तै केही दिनअघि पोखरा-४ पर्स्याङमा केटाकेटीले लगाउने गरगहना (मुन्द्रा) लुट्ने खोज्ने दुई भारतीय नागरिकलाई स्थानीयले लखेट्दै समाए। बाबुआमासँग सरसामान सफा गरिदिने बहानामा कुरा गर्दा गर्दै उनीहरुले नजिकै खेल्दै गरेका बालबालिकाको मुन्द्रा चोर्न खोजेपछि स्थानीयले समातेका हुन्।
यसैबीच, प्रहरीले केही समययता चोरीमा सक्रिय दुई र उनीहरुका सामान किन्ने एक गरी तीनजनालाई विभिन्न विद्युतिय सामग्रीसहित पक्राउ गरेको छ। चोरीमा सक्रिय पोखरा-९ बस्ने वर्ष १७ का साजन ठकुरी र १६ वर्षीय राजु भूजेल तथा उनीहरुसँग सामान्न किन्ने वर्ष २७ का बुद्विबहादुर सार्की पक्राउ परेका हुन्।
उनीहरुले हालै पोखराका विभिन्न ठाउँबाट ७ थान ल्यापटप, ६ थान मोबाइल सेट, एक मुभी क्यामेरा, एक डिभिडी प्लेयर लगायत सामग्री चोरेका थिए। तीमध्ये चारवटा ल्यापटप, तीनवटा मोबाइल सेट र एउटा मुभी क्यामेरा मात्र फेला परेको प्रहरीले जनाएको छ।
![]() |