दुई दसकभित्र चीनलाई ५२ सय जहाज चाहिने
![]() |
बेइजिङ, भदौ ३१ (एजेन्सी)- अमेरिकी जहाज निर्माता कम्पनी बोइङले आगामी दुई दसकभित्र चीनलाई ५ हजारभन्दा बढी व्यावसायिक प्रयोजनका जहाज आवश्यक पर्ने प्रक्षेपण गरेको छ। बोइङ चीनलाई जहाज आपूर्ति गर्ने प्रमुख कम्पनी हो।
बोइङले सार्वजनिक गरेको प्रक्षेपणअनुसार सन् २०३१ भित्र चीनलाई ५ हजार २ सय ६० जहाज आवश्यक पर्नेछ। यति जहाजको मूल्य ६ खर्ब ७० अर्ब अमेरिकी डलरबराबर हुनेछ। चीन नयाँ व्यावसायिक प्रयोजनका जहाजका लागि संसारकै दोस्रो ठूलो बजार बन्ने प्रक्षेपण पनि बोइङले गरेको छ।
'यो उत्साहजनक तथ्यांक हो किनभने चीनबाट माग भएका मध्ये ७५ प्रतिशत हिस्सा पुराना जहाजलाई विस्थापित गर्न नभई नयाँका लागि हो,' बोइङका बजार उपाध्यक्ष र्यान्डी टिनसेथले भने।
दीर्घकालीन बलियो आर्थिक वृद्धि, बढ्दो व्यापार गतिविधि र निजी सम्पत्ति वृद्धिलगायत कारण चीन अगाडि बढिरहेको छ भने बढ्दो कनेक्टिभिटी, विश्वसनीयता र कम मूल्यले यात्रु पनि सजग हुन थालेको टिनसेथले बताए।
भविष्यमा सानासँगै 'टि्वन एस्ले' बोइङ ७८७ ड्रिमलाइनर र ७७७ सिरिजका जहाजको माग उल्लेख्य दरमा हुने बोइङको अनुमान छ। यी जहाजहरू उच्च मूल्य वर्गतर्फ परेका छन्। आउने दुई दशक अवधिमा यस्ता सिरिजका १ हजार १ सय ९० नयाँ जहाज आपूर्ति हुनेछन्। यो संख्या बजार मूल्यका हिसाबमा ४८ प्रतिशत हो।
टिनसेथका अनुसार चिनियाँ बजार वृद्धिले अन्तर्राष्ट्रिय यात्रुका लागि नसोचेको माग सार्वजनिक गरेको छ। आगामी २० वर्षसम्म चिनियाँ वायुसेवा कम्पनीहरूले तीव्र गतिको वृद्धि दर अनुभव गर्नेछन्, जसलाई वार्षिक औसत ८.९ प्रतिशतको दरले साथ दिनेछ।
'चिनियाँ बजारमा माग बढेको कारण योमात्र होइन तर, चिनियाँ वायुसेवाहरूसँग अहिले क्षमतासँगै लामो दुरीको कडा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने स्रोत पनि छ,' टिन्सेथले भने।
बोइङका अनुसार पर्यटन उद्योगका कारण 'सिंगल एस्ले' जहाजको माग उच्च भएको हो। २०३१ भित्र यस्ता ३ हजार ६ सय ५० जहाज आपूर्ति
हुनेछन्। त्यसै गरी ७३७ म्याक्स सिरिजका जहाजका माग पनि उच्च छ।
बोइङले चिनियाँ हवाई उद्योगलाई व्यावसायिक प्रयोजनका जहाज उपलब्ध गराउन थालेको यसपालि ४०औं वार्षिकोत्सव मनाइरहेको छ। उसले चिनियाँ सरकार, वायुसेवा कम्पनी र उड्डयन उद्योगमा दीर्घकालीन सम्बन्ध स्थापना गरेको छ।
हाल चिनियाँ हवाई यात्रा र कार्गोतर्फ बोइङका जहाजले अग्रस्थान आगटेका छन्। चीनमा हाल सञ्चालनमा रहेका व्यावसायिक प्रयोजनका जहाजमध्ये ५० प्रतिशतभन्दा बढी बोइङका छन्।
हाल संसारमा उडिरहेकामध्ये ६ हजारजति बोइङ जहाजमा चीनमा निर्मित पूर्जा छन् भने त्यहीँ नै जडान गरिएका जहाज पनि उडिरहेका छन्। वर्तमान समयमा व्यावसायिक प्रयोजनका लागि तयार हुने ७३७, ७४७, ७६७, ७७७ मोडेलका बोइङ र सबैभन्दा नयाँ र सिर्जनशील बोइङ ७८७ ड्रिमलाइनर जहाजमा चिनियाँ पूर्जा जडान भएका हुन्छन्।
त्यसै गरी बोइङले आगामी २० वर्षभित्र ४५ खर्ब अमेरिकी डलरबराबरको ३४ हजार नयाँ जहाज आपूर्ति हुने प्रक्षेपण पनि गरेको छ।
![]() |