दामी दामोदर कुण्ड (फोटो फिचरसहित)


वरिपरी हिमाल, बीचमा ताल । हिन्दू धमावलम्बीहरुको निकै महत्वपूर्ण मानिने कुण्ड । हिमाल पारीको जिल्लाको रुपमा प्रख्यात मुस्ताड जिल्ला । मुस्ताङको पनि अति विकट स्थलमा रहेको दामोदर कुण्ड । दामोदर कुण्ड यात्रा गर्नका लागि निकै कठिन भएपनि उस्तै रोमाञ्चकारी छ । दामोदर कुण्ड जानका लागि दुईवटा बाटो छ । पोखरादेखि जोमसोमसम्म हवाई यात्रा पश्चात सुरु हुन्छ कुन बाटो जाने भनेर । जोमसोम छुकसाङ्ग-ताङवे -द्ये हुँदै दामोदर कुण्ड पुगिन्छ भने अर्को बाटो जोमसोम – घमी- चराङ्ग-यारा- धिमदाढी हुँदै जान्छ । यी दुवै बाटाका लागि चार दिन छुट्याउँदा राम्रो हुन्छ ।
दामोदर कुण्डमा विशेष गरी जनै पूणिर्यमा र चैते दशैको दिन विशेष मेला लाग्ने गर्छ । यो मेला भर्नका लागि नेपालका विभिन्न जिल्लाबाट मात्र नभएर भारतबाट समेत दर्शनार्थी आउँछन् । समुन्द्र सतहबाट ४ हजार ८ सय मिटर उचाईमा अवस्थित यस कुण्डमा पुग्न भने भक्तजनहरुलाई निकै गाह्रो हुने गर्छ ।यस कुण्डमा नुहाएमा पाप पखालिने विश्वास छ । कुण्ड जानका लागि बाटामा बासको राम्रो ब्यबस्था नभएका कारण सबै ब्यबस्था आफै गरेर जानु उपयुक्त हुन्छ ।
पैदल यात्रा गर्न नसक्नेका लागि घोडाको ब्यबस्था समेत छ । कुण्डमा पुग्न जति गाह्रो छ, पुगिसकेपछि त्यहाँबाट देखिने भृकृटी हिमाल लगायतका अन्य हिमालको मनोरम दृश्यले पैदल तथा घोडाको यात्राको पीडा बिर्साउँछ । यात्राको क्रममा कस्तुरी, नाउर, भालु, डाँफे, जागली घोडा, खरायो, फ्याउरो, मुसा समेत देख्न पाईन्छ ।
यात्राको क्रममा ५ हजार ६ सय मिटरको उचाई समेत पार गर्नुपर्ने भएका कारण लेक लाग्ने सम्भावना समेत उत्तिकै हुन्छ । यही कारणले पनि भक्तजनहरुलाई जान गाह्रो हुने गर्छ । नेपालको पर्यटन क्षेत्रमा यो रुटलाई भर्जिन रुट भन्ने गरिन्छ । हिन्दुहरुको प्रमुख तिर्थस्थल मध्य एक मानिने मानसरोबरबाट आएको पानी भएको भन्ने जनविश्वासका कारण पनि हिन्दुधर्मावलम्बीहरुका लागि निकै महत्वपूर्ण मानिन्छ, दामोदर कुण्ड ।
तस्विरहरुः भरतबन्धु थापा/निरञ्जन ढुंगाना