नेपालका लागि इरान भ्रमण फलदायी : प्रधानमन्त्री


१७ भदौ, काठमाण्डौं । प्रधानमन्त्री डा बाबुराम भट्टराई इरानको राजधानी तेहरानमा सम्पन्न असंलग्न आन्दोलनको १६औँ शिखर सम्मेलनमा भाग लिएर गएराति स्वदेश र्फकनुभएको छ । स्वदेश र्फकेपछि विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री डा भट्टराईले शिखर सम्मेलन नेपालजस्ता असंलग्न परराष्ट्र नीति अवलम्बन गर्ने र खाद्य सुरक्षा तथा जलवायु परिवर्तनको समस्या भोगेका मुलुकका लागि उल्लेखनीय भएको बताउनुभयो ।
उहाँले सम्मेलनले पारित गरेका नौ बुँदे घोषणपत्रलाई कार्यान्वयन गर्ने संयन्त्र बन्ने समेत जानकारी दिनुभयो । प्रधानमन्त्री डा भट्टराईले सम्मेलनका अवसरमा भारतीय प्रधानमन्त्री, संयुक्त राष्ट्रसङ्घका महासचिवलगायत कतिपय राष्ट्रप्रमुखहरूसँग भेटवार्ता भएको र सो क्रममा क्षेत्रीय अधिकार, राष्ट्रिय हितका विषयमा कुराकानी भएको जानकारी दिनुभयो । भारतीय प्रधानमन्त्रीसँगको भेटका क्रममा आफूले नेपालको विद्युत् सङ्कट टार्न २ सय मेगावाट विद्युत् भारतबाट आपूर्तिका लागि आग्रह गरेको र त्यसमा उहाँले सकारात्मक जवाफ दिनुभएको बताउनुभयो ।
त्यसक्रममा भारतीय प्रधानमन्त्री डा मनमोहन सिंहले भारतीय लगानीमा नेपालमा सञ्चालित कर्णाली, मस्र्याङ्दीलगायतका जलविद्युत् आयोजनाहरू छिटो सम्पन्न गर्न नेपाललाई आग्रह गरेको बताउनुभयो । यसैगरी इरानका राष्ट्रपति मोहम्मद अहमदिनेजादसँगको भेटमा इरानबाट पनि भारतीय भूमि हुँदै पाइप बिछ्याएर पेट्रोलियम पदार्थ खरिद गर्ने विषयमा कुराकानी भएको प्रधानमन्त्रीले जानकारी दिनुभयो ।