असहमतिका बाबजुद कात्तिकदेखि दुईथरी सिलिन्डर


काठमाडौ, भदौ ३१ (नागरिक)- आयल निगमले व्यवसायीको असहमतिका वावजुद ग्यासमा दुईथरी सिलिन्डर कात्तिकदेखि दुईथरी सिलिन्डर कार्यान्वयनमा ल्याउने भएको छ। कात्तिकदेखि सबै उद्योगीलाई घरायसी प्रयोजनका लागि रातो र व्यवसायिक प्रयोजनका लागि निलो सिलिन्डर बनाउन निर्देशन दिइसकेको छ। 'कात्तिकदेखि दुईथरी सिलिन्डर कार्यान्वयनमा आउनेछ। हामीले ग्यास उद्योगी र औद्योगिक क्षेत्रमा ग्यास प्रयोग गर्नेलाई निलो सिलिन्डर प्रयोग गर्न सार्वजनिक सूचना जारी गरिसकेको छौ,' निगमका कामु कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालले शनिबार नागरिकसँग भने, 'दुई थरी सिलिन्डर कार्यान्वयनमा ल्याउन कुनै समस्या छैन।' उनका अनुसार कात्तिकदेखि दुई थरी सिलिन्डर मात्रै कार्यान्वयनमा ल्याउने तर दुई थरी मूल्य नगर्ने भएकोले समस्या हुँदैन।

 
'दुई थरी मूल्य गर्ने हो भने कार्यविधि आवश्यक पर्ने थियो। अहिलेलाई हामीले दुईथरी सिलिन्डर मात्रै बनाउने हो,' अग्रवालले भने, 'यसमा ग्यास उद्योगीले विरोध गर्नुपर्ने कुनै कारण छैन।'
भदौदेखि दुईथरी सिलिन्डर कार्यान्वयनमा ल्याउने सरकारको तयारीको ग्यास उद्योगीले विरोध जनाउँदै हड्तालमा उत्रिएका थिए। उद्योगीको हड्ताल साम्य पार्न सरकारले कार्यविधि बनाएर मात्रै दुईथरी सिलिन्डर कार्यान्वयनमा ल्याउने सहमति गरेको थियो। ग्यास उद्योग संघका महासचिव कुश मल्लीले दुईथरी सिलिन्डर कार्यान्वयनमा ल्याउने बारे उद्योगीसँग कुनै छलफल नगरेको बताए।
'हामी सरकारसँग वार्तामा बसिरहेका छौ। दुई थरी सिलिन्डरको कार्यविधिको बारेमा छलफलनै सुरु भएको छैन,' उनले भने, 'हामी वार्तामा बसिरहेको बेला हठातमा सार्वजनिक सूचना जारी गरेर जर्वरजस्ती गर्न खोजेको भान भइरहेको छ।'
दुईथरी सिलिन्डर कार्यान्वयनमा आएपछि मूल्य पनि दुई थरी गर्नेछ । अन्तर्राष्ट्रिय बजारमा ग्यासको भाउ आकासिदै गएकोले घरायसी प्रयोजनलाई सहुलियतमा र व्यवसायीक प्रयोजनका लागि परल मूल्यमा ग्यास बिक्री गर्ने सरकारको योजना छ। निगमले गतवर्ष ग्यासबाट मात्रै साढे पाँच अर्ब रुपैयाँ घाटा बेहोरेको थियो। कामु कार्यकारी निर्देशक अग्रवालले दुई थरी सिलिन्डर कार्यान्वयनमा आएपछि भारतमा जस्तै सहुलियतको ग्यासमा कोटा तोकिने जानकारी दिए।
'सहुलियतको ग्यास सिलिन्डर एक परिवारलाई महिनामा एउटा दिने तयारी भइरहेको छ,' उनले भने, 'घरायसी प्रयोजनमा यो भन्दा बढी किन्नेले खुल्ला बजार अनुसार किन्नुपर्नेछ।' भारत सरकारले ग्यासमा दिँदै आएको अनुदान कटौती गर्दै वर्षको ६ वटामा सिमित बनाएको छ। घरायसी प्रयोजनको ग्यास लिन कार्ड लिनुपर्ने निगमले जनाएको छ।
'सहुलियतमा ग्यास लिनको लागि नजिकको डिलरबाट घरायसी उपभोक्ता ग्यास कार्ड लिनुपर्छ,' अग्रवालले भने, 'त्यही कार्डको आधारमा उपभोक्ताले ग्यास पाउनेछन्।' सरकारले ग्यास कारोबारलाई व्यवस्थित बनाउन घरायसी र व्यवसायीक दुईथरी कार्ड वितरण थालेको पाँच महिना भइसकेपनि प्रभावकारी भने हुन सकेको छैन। ग्यास बिक्रेता महासंघले कार्ड वितरणको जिम्मा पाएपनि आम उपभोक्ता सम्म पुग्न सकेको छैन। महासंघले ग्यास वितरण थाल्ने निर्णय विरुद्धमा ग्यास उद्योगीको असहयोग र महासंघको आफ्नै अदक्ष कारणले ग्यास कार्ड वितरण प्रभावकारी नभएको हो। उनले कार्ड वितरण प्रभावकारी नभएको स्विकार गर्दै यसलाई प्रभावकारी बनाउन निर्देशन दिएको बताए।
'कार्ड वितरण प्रभावकारी नभएको सत्य हो। तर हामीले यसलाई प्रभावकारी बनाउन भनिसकेका छौ,' अग्रवालले भने, 'त्यसैले उपभोक्तालाई कार्ड लिन सूचना जारी गरिएको हो।'