'बाधक कांग्रेस-एमाले'
![]() |
काठमाडौं, भदौ ३१- सत्ताको विषयमा कुरा नमिल्दा दलहरूसँग सहमति नजुटेको एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रस्ट पारेका छन्। शनिबार पार्टी निकट पत्रकारहरूलाई प्रशिक्षण दिने क्रममा दाहालले सत्ता नेतृत्व कसले गर्ने भन्नेमा सहमति प्रक्रिया गाँठो परेको बताए। 'कांग्रेस र एमालेले (संविधानभन्दा) सत्ता पहिले भन्ने मागमा अडान लिएपछि सहमति जुट्न सकेन,' प्रशिक्षणमा सहभागी एक सञ्चारकर्मीले दाहाललाई उद्धृत गरे।
प्रमुख तीन दलबीच यसअघि भदौ मसान्तसम्म संविधानसभा पुनर्स्थापना नभए 'प्रक्रियामा जाने' सहमति भएको थियो।
'संविधान सभाका अन्तर्वस्तुमा छलफल हुँदैनन्। कांग्रेस र एमाले पहिले हामीले सत्ता छाड्नुपर्ने अडानमा छन्। सहमतिको गाँठो सत्तामा गएर अड्किएको छ,' दाहालले भने। कांग्रेस, एमालेले राष्ट्रपतिमार्फत 'कु' गराएर सत्ता लिन खोजेको उनले आरोप लगाए।
'पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान, संविधानसभाबाट संविधान जारी गर्ने' एजेन्डा माओवादीको हुने डरले कांग्रेस-एमाले सहमतिमा बाधक बनेको उनले दाबी गरे।
पार्टीको सूचना तथा सञ्चार ब्युरोद्वारा आयोजित प्रशिक्षणमा दाहालले भने, 'घुमिफिरी पुरानै एकात्मक सत्तामा जाने कुरा गर्छन्, कांग्रेस एमाले। संघीयताको घाँडो माओवादीले लियो भन्ने बुझाइ छ उनीहरूको।'
उनले नयाँ चुनाव, पुनर्स्थापनामा सहमति हुनै गाह्रो भएको बताए। 'कांग्रेस, एमाले बाहिर चुनाव वा पुनर्स्थापना भन्छन्,' उनले भने, 'सहमतिमा आउनै चाहँदैनन्, जसरी पनि सत्ता लिने दाउमा छन्।'
'संविधानका अन्तर्वस्तुमा सहमति नभएसम्म सरकार छाड्दैनौं,' उनले भने- 'अहिले राजनीतिक पहल कदमी माओवादीकै हातमा छ।'
यथास्थितिवादीसँगको लड्ने शक्ति पत्रकारहरू रहेको दाहालले बताए। 'युद्धकालमा जनमुक्ति सेना जस्तै अहिले पार्टीको विचारलाई प्रचार प्रसार गर्ने मोर्चामा तपाईं (पत्रकार)हरू हुनुहुन्छ। अहिलको लडाईमा तपाईंहरूले मुख्य भूमिका निभाउनु पर्छ', उनले भने।
सञ्चारकर्मीहरूसँगको नियमित भेटघाटमा प्रवक्ता अग्नि सापकोटाले दाहालको भनाईलाई पुष्टि गरे। 'म दलहरूसँगको वार्तामा नियमित छु। कुरा मिल्ला/मिल्ला जस्तो हुन्छ। आखिरमा आएर सरकारमै गएर कुरा अडकिन्छ', सापकोटाले भने।
भदौ मसान्तसम्म पुर्नस्थापनामा सहमति नभए प्रक्रियामा जाने सहमतिमा कांग्रेस उदासिन भएको सापकोटाले बताए। 'सहमति गर्नेमा पार्टीको आन्तरिक कलहले कांग्रेस उदासिन देखियो। केन्द्रीय कार्य समितिको बैठकले केही निर्णय लिन्छ भन्ने थियो। उहाँहरू उपत्यका बाहिरको कार्यक्रम बनाएर हिड्नु भयो। उनीहरूको निर्णय हेर्दा सहमतिमा उदासिन बनेको प्रष्ट हुन्छ', उनले भने।
माओवादी हाबी हुने देखेर कांग्रेस, एमाले सहमतिमा आउन नचाहेको जिकिर सापकोटाले गरे। 'उनीहरू चुनावमा सहमति हुन्छन। संसदीय हुनुपर्छ भन्छन। संसदीय चुनावले देशलाई पछाडी फर्काउने काम गर्छ, त्यसमा सहमति गर्न सकिन्न', सापकोटाले भने- 'राष्ट्रपतिलाई कदम चाल्न प्रेरित गरिएको छ। राष्ट्रपतिले कदम चाल्नु हुन्न।'
चौतर्फी दबाब दिएर सहमति जुटाउने तयारी भएको उनले बताए। 'मुलुकले मुठभेड थेग्न सक्दैन। त्यतातर्फ जानु दिनु हुँदैन। त्यसकै लागि सहमतिको विकल्प छैन', उनले भने। सहमतिको लागि अध्यक्ष दाहालले पहल लिइरहेको सापकोटाले बताए।
![]() |