खुमलटार युवा शीर्षमा
![]() |
काठमाडौं, भदौ ३१ (नागरिक)- खुमलटार युवा क्लब सहिद स्मारक रेडबुल 'सी' डिभिजन लिगअन्तर्गत समूह 'क' शीर्ष स्थानमा उक्लिएको छ। च्यासलस्थित एन्फा टेक्निकल सेन्टर शनिबार झम्सिखेल युथ क्लबमाथि २-० को एकतर्फी नतिजा निकाल्दै खुमलटार पहिलो स्थानमा पुगेको हो। टोलीको जितमा मिलन मगरातीले २६ र ५८औं मिनेटमा गोल गरे।
सोही दिन अघिल्ला तीन खेलमा शीर्षमा रहेको ज्ञानभैरव युवा कलंकी नवज्योति क्लबसँग ४-४ को बराबरीमा रोकिँदै दोस्रोमा झरेको छ। नवज्योतिका उत्सव केसी र ज्ञानभैरवका अर्जुन क्षेत्रीले ह्याटि्रक पूरा गरे। नवज्योतिबाट अर्को गोल सुनिल सुवेदीले थपे। सौगात खनालले ८३औं मिनेटमा बराबरी गोल फर्काएर ज्ञानभैरवलाई हारबाट जोगाए।
ब्वाइज स्पोर्टस क्लबले भगतवी क्लबलाई २-१ ले हराउँदा अब्दुल लाजी मियाले निर्णायक गोल गरे। जोन महर्जनको गोलबाट ब्वाइज स्पोर्टसले खेलमा अग्रता लिए पनि भगवतीका जितेन्दर श्रेष्ठले १९औं मिनेटमा बराबरी गोल फर्काए। ४५औं मिनेटमा अब्दुलले गोल गरेपछि ब्वाइज स्पोर्टसले पाँच खेलमा तेस्रो जित आत्मसात गर्यो।
सतप्रतिशत नतिजा निकालेको खुमलटारको १२, ज्ञानभैरवको १०, ब्वाइज स्पोर्टसको ९ र नवज्योतिको ५ अंक छ। त्यस्तै भगवतीले ३, झम्सिखेलले २ र खालीबारीले १ अंक जोडेका छन्।
![]() |