'टालटुले विकासले मुलुक अघि बढ्दैन'
![]() |
काठमाडौं, भदौ १२ (नागरिक)- प्रधानमन्त्री बाबुराम भट्टराईले मुलुकको विकास प्रक्रियालाई 'टालटुले' को संज्ञा दिँदै यस्तो चालले मुलुक अघि बढ्न नसक्ने बताएका छन्। हालसम्मको विकास प्रक्रिया फाटेको कोट टालेको जस्तो मात्र हो, यसलाई तोडेर अघि नबढेसम्म केही हुँदैन, उनले भने। उनले ऊर्जा र पूर्वाधारबिना देशमा ठूलो लगानी नआउने उल्लेख गर्दै त्यसमा अघि बढ्नैपर्ने बताए।
'आर्थिक विकासका लागि ऊर्जा सबैभन्दा महत्वपूर्ण पक्ष हो, राजधानीमा सोमबार व्यावसायिक पत्रकारिता अध्ययन प्रतिष्ठान (सिपिजेएस) ले आयोजना गरेको कार्यक्रममा उनले भने 'ऊर्जा भए मात्र व्यावसायीहरु लगानी गर्न आकर्षित हुन्छन्।' ऊर्जा र पूर्वाधार नभए विदेशीमात्र होइन स्वदेशी लगानीकर्ता पनि आकर्षित हुँदैनन्, उनले भने। उनले दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्न दुई दशकसम्म कुल ग्राहस्थ उत्पादनको ४५ प्रतिशत लगानी गर्नुपर्ने बताए। वैदेशिक लगानी विना यो लक्ष्य पूरा नहुने बताउँदै उनले लगानी आकर्षित गर्न नै सरकारले बिप्पा सम्झौता गरेको जानकाराी दिए।
बिप्पाको विषयमा विपक्षी दल र आफ्नै पार्टीभित्रबाट पनि आलोचना भएकामा असन्तुष्ट देखिएका प्रधानमन्त्रीले लगानी ल्याउन आवश्यकता अनुसार सन्धि सम्झौता गर्नुपर्ने बताए। 'समझदारी बनाएर हामीले आर्थिक विकासका लागि वैदेशिक लगानी ल्याउनैपर्छ, त्यसैका लागि विप्पा लगायत सन्धि सम्झौता पनि गर्नुपर्छ,' उनले भने।
आर्थिक विकासको 'टेकअफ' गर्न संसारभरि रहेका तीन वटा मोडलको चर्चा प्रधानमन्त्रीले गरे। अमेरिका लगायत पूँजीबादीहरुको मोडल, रुस, चीन, भियतनाम, कम्बोडियालगायत मुलुकहरुको जस्तो क्रान्तिबाट गरिने विकासको मोडल र पछिल्लो समयमा सिंगापुर, ताइवान, दक्षिण कोरिया लगायतका देशहरुले लिएका विकास मोडलमध्ये कुनैलाई पनि नेपालले पछ्याउन सकेको छैन।
'म अर्थमन्त्री भएको समयमा अरु देशले अपनाएको जस्तै विकासका मोडललाई सुरु गर्न प्रयास गरेको थिए,' भट्टराईले भने-'राजनीतिक नेतृत्वसँग स्पष्ट भिजन नभएसम्म विकास प्रक्रिया अघि बढ्न सक्दोरहेनछ भन्ने मैले बुझे।'
राजनीतिक स्थायीत्व नहुनु र नेतृत्वमा भिजन नभएकाले संभावना भएर पनि नेपालले विकासमा फड्को मार्न सकेको छैन। राजनीतिक स्थायीत्व नभएसम्म विकासले 'टेकअफ' लिन नसक्ने उनले उल्लेख गरे।
प्रतिष्ठानका अध्यक्ष तथा नागरिक दैनिकका प्रधान सम्पादक किशोर नेपालले नहर भए पानी नहुने र पानी भए बिजुली नहुने अहिलेको अवस्थाले जनतामा पारेको निरासालाई सरकार र नेतालाई गंभीर भएर सोच्न आग्रह गरे।
कार्यक्रममा जलविद्युत क्षेत्रका उद्यमी, विज्ञ, सराकोरवालाहरुले ऊर्जा संकट समाधान गर्न सरकारलाई तत्काल ठोस रुपमा अघि बढ्न ध्यानाकर्षण गरेका थिए।
![]() |