मूल्यवृद्धि रोक्न सरकारले बजारमा हस्तक्षेप गर्ने


काठमाडौ, भाद्र ११ - अस्वाभाविक रूपमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले बजारमा हस्तक्षेप गर्ने भएको छ । खाद्य वस्तुको मूल्य अकासिएपछि सरकारलाई अनुगमनका लागि दबाब परेको हो । 
प्रधानमन्त्री बाबुराम भट्टराईले सोमबार सिंहदरबारमा सरोकारवाला निकायसँगको छलफलमा अनुगमन प्रभावकारी बनाउन निर्देशन दिए । उनले कालोबजारी नियन्त्रणका लागि भएका नियम कानुनको कार्यान्वयनमा जोड दिँदै त्यसकार्यमा संलग्नलाई कडा कारबाही गरिने चेतावनी दिए ।
उनले चाडबाडका बेला सहज र सुलभ मूल्यमा उपभोग्य सामग्री सर्वसाधारणलाई उपलब्ध गराउन सहरी क्षेत्रमा घुम्ती पसल र विकट क्षेत्रमा अनुदानको व्यवस्था मिलाइने बताए । उनले कृत्रिम अभाव र मूल्य वृद्धि नियन्त्रणमा उपभोक्ताले पनि सरकारलाई सहयोग गर्नु पर्ने उल्लेख गरे ।
त्यस अवसरमा मूख्य सचिव लीलामणि पौडेलले सरकारी स्वामित्वका साल्ट ट्रेडिङ र नेसनल ट्रेडिङलाई अधिकतम ७५ रुपैयाँ किलोमा चिनी उपलब्ध गराउन निर्देशन दिए । बजारमा केही समय यता चिनीको मूल्य ९० रुपैयाँसम्म पुगेको छ । चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालले चिनीको मूल्य वृद्धि कृत्रिम रहेको बताए । उनले ७५ रुपैयाँ किलोमा चिनी उपलब्ध गराउन उद्योगीहरू तयार रहेको बताए । वाणिज्य विभागका महानिर्देशक नारायण प्रसाद विडारीले प्रशासन, प्रहरीसहितको अनुगमन टोलीले सोमबारदेखि बजारमा अनुगमन थालिने बताए । 'ठूला ब्यापारीका गोदामै अनुगमन गर्ने छौं, उनले भने, दोषी देखिए कडा कारबाही हुन्छ ।'