चार अध्यादेश राष्ट्रपति समक्ष पठाइने


काठमाडौं, भाद्र ११ - मन्त्री परिषद्को सोमबार बसेको बैठकले चार अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति समक्ष पठाउने निर्णय गरको छ । स्वास्थ्यमन्त्री राजेन्द्र महतोका अनुसार शिक्षा सेवा ऐन, स्वास्थ्य सेवा ऐन, निजामती सेवा ऐन र  बेपत्ता नागरिक खोजबिन आयोग गठन गर्ने अध्यादेश पठाउन लागिएको हो ।
विपक्षी दलले अध्यादेशबाट मुलुक चलाउन खोजेको आरोप लगाइरहेका बेला सरकारले यो निर्णय गरेको हो । अत्यावश्यक अध्यादेश राष्ट्रपतिसँग परामर्श गरेरे भए पनि ल्याउनु पर्ने बाध्यता रहेको सरकारले जनाएको छ ।
मन्त्रिपरिषद्का अन्य निर्णयहरु
बैठकले गौरवशमशेर राणालाई प्रधानसेनापतिमा बढुवा गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । उनले कामु प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्दै आएका छन् । प्रधानसेनापति छत्रमान सिंहको पदावधि यही भदौ २४ मा सकिएपछि राणालाई प्रधानसेनापतिमा बढुवा गर्न लागिएको हो । उनको नियुक्ति राष्ट्रपतिबाट हुनेछ ।
त्यस्तै सरकारले नेपाल प्रहरीमा १ हजार ४१ दरबन्दी थपेको छ । बैठकले कानुन तर्फका सबैभन्दा वरिष्ठ सहसचिव राजुमानसिंह मल्ललाई कामु सचिवमा बढुवा गरेको छ । उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदस्थापना गरिएको छ ।
पश्चिम सेतीको समझदारी पत्रबारे निर्णय लिन बैठकले मन्त्रिपरिषदको आर्थिक तथा पूर्वाधार समितिलाई जिम्मेवारी दिएको छ ।
दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्ति गर्न सञ्चार सचिव सूर्य सिलवालको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको छ ।