माधव नेपाल सुटुक्क अमेरिकातिर, सिंह भारत प्रस्थान

१५ भदौ, काठमाडौं । गतिरोध अन्त्यका लागि छलफलमा जुट्नु पर्ने समयमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल भने अमेरिकातिर लाग्नु भएको छ ।
अमेरिकाको इण्डियानामा हुने एशोसिएसन अफ नेप्लिज इन मिडवेष्ट अमेरिका आन्मा र नेप्लिज एशोसिएसन अफ साउथ इष्ट अमेरिका नासाको आठौं संयुक्त सम्मेलनमा भाग लिन भन्दै नेता नेपाल बिहीबार न्यूयोर्क प्रस्थान गर्नु भएको हो । भ्रमण झण्डै हप्ता १० दिनको हुने उहाँका प्रेस सहयोगी विष्णु रिजालले अनलाइनखबररलाई जानकारी दिनुभयो ।
गतिरोध अन्त्यका लागि अमेरिका भ्रमणमा आउन लागेको भन्दै त्यहाँ रहेका नेपालीहरुले भने विरोधको तयारी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा नेपालको भ्रमणको विरोधमा टिकाटिप्पणी हुन थालेका छन् भने जनजातिहरुले कालोझण्डा देखाउनेसम्मको तयारी गरेका छन् ।
कांग्रेस महामन्त्री भारत प्रस्थान
यसैबीच नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंह भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ ।उपचारका लागि नयाँ दिल्ली जानुभएका उहाँले भारतीय नेताहरुसँग पनि भेट गर्ने कार्यक्रम रहेको उहाँका सहयोगी युपी लामिछानेले जानकारी दिनुभयो ।
महामन्त्री सिंहले भारतीय नेताहरुसँगको भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा समेत परामर्श गर्नुहुने जनाइएको छ । विभिन्न राजनीतिक दलका नेताहरु भारत भ्रमणका लागि नयाँदिल्ली जाने क्रम बाक्लै भएको समयमा काँग्रेसका महामन्त्री सिंह पनि त्यसतर्फ जानुभएको हो ।
उहाँले नयाँ दिल्लीस्थित मेदन अस्पतालमा निद्रासम्बन्धी रोगको उपचार गर्नुहुने जनाइएको छ । सिंह केही दिनयता निद्रासम्बन्धी रोगबाट पीडित हुनुहुन्छ ।