सिरिया संकटको समाधान त्यहींका जनताले गर्नुपर्छः प्रधानमन्त्री भट्टराई

१५ भदौ, तेहरान । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले करिव एक बर्षदेखि जारी सिरिया संकटको शान्तिपूर्ण समाधान हुनुपर्ने र त्यस्तो समाधानको पहल सिरि
याली जनताले नै गर्नुपर्ने बताउनुभएको छ ।

असंलग्न राष्ट्रहरुको १६ औं सिखर सम्मेलनलाई इरानको राजधानी तेहरानमा सम्बोधन गर्दै प्रधानमन्त्री भट्टराईले सिरियाली जनताको चाहनाअनुसार सिरियाली जनताले नै संकट समाधान गर्नुपर्ने भन्दै बिदेशी हस्तक्षेप र संलग्नताको बिरोध गर्नुभयो । विश्वव्यापी समस्या समाधानका लागि राष्ट्रसंघीय प्रयास निर्विवाद हुने भन्दै उहाँले राष्ट्रसंघीय बडापत्र तथा अन्तराष्ट्रिय कानुनका सिद्दान्त र लक्ष्यहरुको सम्मान हुनुपर्ने बताउनुभयो ।

अहिले खासगरी विकाशशील देशहरु इतिहासको निकै महत्वपूर्ण घडीमा रहेको र यो बेला चुनौति र अवसर उत्तिकै रहेको भन्दै उहाँले अन्तराष्ट्रिय सहकार्यको सुदृढीकरणले मात्र जनताकेन्दि्रत विकाशका लागि शान्ति र सुरुक्षाको प्रत्याभूति गर्नसक्ने नेपालको मान्यता रहेको प्रधानमन्त्रीले बताउनुभयो ।

यसले विश्वव्यापी आतंकवाद तथा अरु विभिन्न खालका अपराध सँग लड्न तथा निसस्त्रीकरण तथा आमविनाशकारी हतियार र आणविक हतियार निर्मूल पार्ने दिशामा ऐक्यबद्धता र विश्वास आर्जन गर्न सघाउ पूराउने प्रधानमन्त्रीको विश्वास छ ।

भुमण्डलीकरणलाई मानवीयतासँग जोड्न आवश्यक रहेको भन्दै प्रधानमन्त्रीले अहिलेको विश्वव्यापीकरण आर्थिक रुपमा सक्षम देश तथा वर्गका लागि मात्र लाभदायी भएको बताउनुभयो ।

विश्वका अति कम विकशित देशका जनताको जीवनस्तरमा परिवर्तन ल्याउनु अहिले विश्व समुदायकै नैतिक दायित्व रहेको भन्दै प्रधानमन्त्रीले अति कम विकशित देशको सूचिमा पर्ने नेपालले व्यापार केन्दि्रत आर्थिक वृद्धिको लाभ हाँसिल गर्न नसकेको बताउनुभयो । सिमापार निर्यातको उच्च मूल्यका कारण निर्यात प्रतिस्पर्धी हुन नसक्दा नेपालले निर्यात व्यापारबाट लाभ लिन नसकेको भन्दै प्रधानमन्त्रीले यस दिशामा विगतमा भएका विभिन्न सहमतिहरुको पालना हुनुपर्ने बताउनुभयो ।

फराकिलो, दिगो तथा समावेशी आर्थिक विकाश गरि अति कम विकशित अवस्थाबाट माथि उठ्ने नेपालको प्रयास अन्तराष्ट्रिय समुदायको सहयोगमा पनि भर पर्ने उहाँको भनाइ छ ।

नेपाल अहिले राजनीतिक समस्या छलफल तथा सहमतिको माध्यमबाट हल गर्दै संविधानसभाबाट संघीय लोकतान्त्तिक संविधान निर्माण गर्ने प्रक्रियामा रहेको भन्दै प्रधानमन्त्रीले नयाँ संविधानबाटै जनताको ससक्तिकरणका साथै समावेशी तथा समतामूलक विकाश सम्भव रहेको बताउनुभयो ।

नेपालसँग प्रसस्त प्राकृतिक श्रोत तथा विकाशको सम्भावना रहेको भन्दै प्रधानमन्त्रीले सरकारले आफ्नो दृष्टिकोणलाई विकाशमा बदल्न विदेशी लगानीलाई स्वागत गर्ने बताउनुभयो । विदेशी लगानी भित्राउन सरकारले लगानी बोर्डको स्थापना गरि सन् २०१२/१३ लाई लगानी वर्षको रुपमा समेत मनाइरहेको बिश्व समुदायलाई जानकारी गराउनुभयो ।

असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुबीच अझै सहकार्यको खाँचो रहेको भन्दै प्रधानमन्त्रीले असंलग्न आन्दोलन आवाजविहीनहरुको आवाज तथा सामाथ्र्यवीहिनहरुको सामाथ्र्य बनाउने प्रण गर्नुपर्नेमा जोड दिनुभयो ।

‘विश्व अहिले विभिन्न क्षेत्रमा असमानता, द्वन्द्व तथा हुने र नहुनेबीचको असमानताबाट गुजि्ररहेको छ ।’ प्रधानमन्त्रीले भन्नुभयो-’ यस्तो अवस्थामा विश्वका अहिलेका विभिन्न समस्या तथा देखापर्न लागेका समस्याहरु जस्तैः वित्तिय तथा आर्थिक संकट, खाद्य तथा उर्जा संकट, जलवायु परिवर्तन जस्ता समस्याहरु विश्वव्यापी समस्याको रुपमा रहेका छन् र यिनीहरुको दिगो समाधानका लागि विश्वव्यापी दृष्टिकोण तथा प्रयासको खाँचो छ ।’

असंलग्न आन्दोलनको संस्थापक सदस्य रहेको हैसियतले नेपाल यसको लक्ष्यप्रति इमान्दार रहेको भन्दै प्रधानमन्त्रीले असंलग्नताको अनन्त कालसम्म महत्व तथा सान्दर्भिकता रहेको बताउनुभयो ।
नेपालको संविधानको निर्देशक सिद्धान्तको रुपमा पनि असंलग्नता रहेको जानकारी गराउँदै उहाँले असंलग्नताको सिद्धान्त सबै मानिसको सम्वृद्धि तथा उन्नतीको लागि अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।