सम्बन्धमा मिठास कायम राख्न

आज हरेक व्यक्ति आफ्नो जीवनमा अत्यन्त व्यस्त हुन थालेको छ। आज संसार मात्र म र मेरो परिवारसम्म मात्र सीमित हुन पुगेको पाइन्छ।  यस्तो होइन कि व्यक्तिले नजिकका सम्बन्धलाई बिर्सन थालेको छ तर समयको मागले व्यक्तिलाई उसका आफन्तजनबाट टाढा बनाउन  थालेको छ। आफूले चाहे र प्रयास गरे व्यस्त जीवनमा पनि थोरै समय निकालेर आफ्नो प्रेमले भरिएको सम्बन्धलाई सम्हालेर राख्न सकिन्छ।

उपहार

जब कोही रिसाएको छ र उसलाई खुसी तुल्याउनु छ भने उपहार कुनै अनमोल खजानाभन्दा कम हुँदैन। कुनै पनि सम्बन्धको डोरीलाई बाँध्न  र मजबुत बनाउन उपहारले महत्वपूर्ण मूमिका निर्वाह गर्छन्। उपहारले व्यक्तिको भावना तथा प्रेमलाई दर्साउँछ। उपहार चाहे सानो होस् वा  ठूलो, जो-सुकैका लागि पनि यो अनमोल हुन्छ। विशेषगरी जब कोही नजिककोले उपहार भेट गर्छ। सम्बन्ध चाहे जस्तोसुकै किन नहोस् व्यक्ति  त्यस सम्बन्धसित जोडिएको अव्यक्त भावनालाई उपहार दिएर प्रकट गर्छ। यदि आफ्नो पनि कुनै त्यस्तो सम्बन्ध जसमा तपाईं केही कुरा भन्न  चाहनुहुन्छ तर व्यक्त गर्न सकिरहनुभएको छैन भने आजै उनको रुचिको उपहार दिएर आफ्नो मनको कुरा व्यक्त गर्नु बुद्धिमानी हुन्छ।

कुराकानी

अब कम समयमा हरेक सम्बन्धलाई सम्हालेर राख्नु सहज छैन तर यदि व्यक्तिसित फोन छ भने उसले आफ्नो सम्बन्धमा मिठास कायम  राख्न सक्छ। घरमा काम गर्दागर्दै व्यक्तिले आफ्नो आफन्तजन, मित्रजन, श्रीमान्को घरका सदस्यहरू वा आफ्नो माइती पक्षसित आरामसित  कुराकानी गर्न सक्नुहुन्छ र तिनलाई आफू व्यस्त भए पनि आफू तिनीहरूसित सम्पर्क रहेको कुराको अनुभूति दिलाउन सकिन्छ। फोन वा  म्यासेजको माध्यमबाट आफ्नो सम्बन्ध बाँधेर राख्न सकिन्छ। त्यसैले जब-जब समय प्राप्त हुन्छ र आफूलाई आफ्नो सम्बन्ध टाढिँदै गएको  महसुस हुन्छ, त्यसलाई जोगाउन उनको नम्बर डायल गरी आफूलाई सम्पर्कमा राखिरहनुपर्छ।

मोजमस्ती

व्यस्तताका कारण चार-पाँच दिनसम्म आफ्ना आफन्तजन, निकटतम साथीसित समय व्यतीत गर्न गाह्रो हुन्छ, तर कुनै अवसरमा तिनलाई  आफ्नो घरमा बोलाउने वा आफू तिनकोमा गएर आपसी सम्बन्धको मिठासलाई अझ सुमधुर बनाउने प्रयास गर्नुपर्छ। महिना दिनमा एक-दुई वटा पार्टी गरी सबैलाई जम्मा गरी पारिवारिक क्षणको आनन्द लिन सकिन्छ।

इन्टरनेट

आधुनिक प्रविधिले हाम्रो जीवनशैलिमा धेरै प्रभावित पारेको देखिन्छ। आज बालबालिकादेखि प्रौढ अवस्थासम्मका हरेक सोसल नेटवर्किङ  साइटको माध्यमबाट हरेक प्रकारको जानकारी चाहे त्यो समाजसित जोडिएको होस् वा आफन्तसित, सबैका बारेमा जानकारी राख्छ। फेसबुक,  हाईफाई, ट्वीटर, अर्कुट, इमेल, च्याटिङ आदि माध्यमबाट जुन सम्बन्ध टाढिएको थियो त्यसलाई सम्हाल्न र लामो समयसम्म कायम राख्न  सकिने भएको छ। आफ्नो जीवनमा के भैरहेको छ र अरूको जीवनमा के भइरहेको छ भन्ने सम्बनधमा इन्टरनेटका माध्यमबाट जानकारी  गराउन र हासिल गर्न सकिन्छ। आफ्नो स्मरणीय तस्बिर साटेर आफ्नो खुसीमा अरूलाई सहभागी गर्न सकिन्छ।

घुम्नु

हरेक सम्बन्ध आफैँमा विशेष हुन्छ र जुन सम्बन्ध मनको नजिक हुन्छ तिनमा हामी सधैँका लागि बाँधेर रहने चाहना राख्छौँ। आफ्नो प्रेमले  भरिपूर्ण सम्बन्धलाई अझ बढी मजबुत बनाउन महिनामा कमसेकम दुई वा तीनपटक बाहिर कतै घुम्न जाने योजना बनाउनुपर्छ। अफिसको  छुट्टीका बेला वा चाडपर्वको छुट्टीका बेला घुमफिर गर्ने योजना बनाएर आफ्नो आपसको सम्बन्ध अरू बढी प्रगाढ बनाउन सकिन्छ। आफ्नो  पार्टनर (जीवनसाथी) लाई मनपर्ने स्थान वा आफूहरूले सँगै बिताएका ठाउँमा पुनः एकपटक गएर अतीतका मीठा एवं सुमधुर स्मृतिलाई पुनः  ताजा बनाउन सकिन्छ। यसले आपसी सम्बन्धमा थप रोमाञ्चकता सञ्चार हुन पुग्छ।