०> पहिरोमा आशमाया <०
![]() |
राम्चेमा पहिरो गएपछि त्रिशुली-स्याफ्रु सडकको राम्चे-धुन्चे खण्डको बिल्लिबाठ भएको छ। वर्षको चार महिना पहिरोले मोटरको बाटो छेक्छ। कान्तिपुर पुगेर उपचार गर्नुपर्ने बिरामीहरू र कान्तिपुरबाट सामान ल्याएर बेच्नुपर्ने व्यापारीहरू सबै कष्ट र असुविधामा परेका छन्। पहिरो गएको गयै गर्छ। कहिले त दिनभरि पनि रोकिँदैन।
त्यो दिन अलिकति होस नपुर्याएको भए, आशमायाको टाउकोमा ठूलै ढुंगो बजि्रने थियो। तै, सडक विभागका कार्यकर्ताहरूले आशमायाको पाखुरा समातेर तानिहाले र ऊ जोगिई। मानिसका लागि जीवनभन्दा ठूलो सत्य अर्को केही हुँदैन। बाँचे पो संसार देखिन्छ। आशमाया जोगिएकी थिई। ऊ खुशी थिई। उसले सडक विभागका कार्यकर्तालाई भनी, 'धन्यवाद छ है, दाजुहरूलाई।'
दाजुहरूले जवाफ दिए, 'धन्यवादले कहाँ पुग्छ र हामीलाई? एउटा सेलो नसुनाई कहाँ उम्किन पाउँछ्यौ र आशमाया!'
सुनेर लजाई आशमाया। उसलाई लाजमात्रै लागेको होइन, खुशी पनि उधुम लाग्यो। भोटेसेलोमा उसको स्वर रसुवा जिल्लैभरि नामुद भएको थियो। अब त, बाटोघाटो, हाटबजार, गाउँवस्ती जतासुकैका मानिसले पनि अनुहारले नै चिन्ने भैसकेकी छ ऊ।
आशमायाले जवाफ दिई, 'हैन दाइ, यो सटकमा कताको सेलो गाउनु? अब दशपन्ध्र दिनपछि त धुन्चेमा मेरो प्रोग्राम नै हुँदै छ। त्यही बेला पेटभरि सुन्नुहोला नि सेलो।'
राम्री केटीको विनम्र आवाज सुनेर मख्ख परे, सडक कार्यकर्ता। उनीहरूले अनुरोध गरे, 'उसो भए हामीसँग एक कप चिया त खाएर जाऊ।'
नजिकको छाप्रे चियापसलमा आशमायासँग गफ गर्दै थिए सडक कार्यकर्ता। मानिस जम्मा भैहाले। आशमाया आफूलाई हेर्न र सुन्न चाहनेहरूको भीडले घेरिई। उसले आफ्नी आमालाई सम्झिई। आशमायाले रेडियो नेपालको भ्वाइस टेस्ट पास गरेको सुनेर उनले पाथीभरि भात खाएको जस्तो सन्तोष लिएकी थिइन्। पोहोर साल आमा नखसेको भए अहिलेसम्म आशमायाका सेलोका दर्जनभर सिडी निस्किइसकेका हुन्थे। यसपाला गोसाइँकुण्डको मेलामा नुर्पुले खुब गाउन लगायो र खुब नचायो आशमायालाई। उसले पनि भजन संगीतदेखि प्रेम गीतसम्म सबै गाएर सुनाई। मेलामा कमाइ पनि राम्रै भयो आशमायाको। एउटै कुरो भएन। आशमायाले पुर्पुरै ठोके पनि नुर्पुले उसलाई अलिकति पनि मतलब राखेन। आशमायाले सोचेकी थिई, नुर्पुले अलिकति मतलब राखिदिए, ऊ बिहे गरिहाल्थी। घरमा कोही छैन। नुर्पुलाई घरमा भिœयाउन पायो भने घरै धपक्क बल्ने थियो। आखिर उसले खोजेको पनि त्यति नै त हो।
शनिवार उसको सातौँ एल्बम बजारमा आउँदै छ। यसमा उसले सबै भोटे भाषाका गीतलाई नेपालीमा अनुवाद गरेर गाएकी छ। उसले पहिलो पटक अनुभूत गरी, जुनुसुकै भाषामा पनि प्रेमको अर्थ एउटै हुँदो रहेछ। प्रेमसँग जोडिएका सबै शब्दहरूको राग र अनुराग उस्तै हुने रहेछ।
आशमायाले गीत गाएर पैसा कमाउन सकेकी छैन। गीत मात्रै गाएर त हातमुख जोर्न पनि धौ-धौ हुन्छ। उ बख्खुको व्यापार गर्छे। रसुवाबाट ऊन कातेर वर्षमा एक दर्जन बख्खु बनाएर पठाउँछे ऊ युरोपतिर। बख्खुको व्यापार उसकी आमाले सुरु गरेकी थिइन्। आशमायाले त्यसलाई धानेकी छ, जीवन निर्वाहका लागि।
कहिलेकाहीँ सोच्छे- हाम्रो देशमा गाएरमात्रै खानलाउन पुग्ने दिन कहिले आउला? त्यस्तो दिन आए त ऊ कति गाउँथी, गाउँथी। तर, गर्नु के र? एल्बम मारामार बिक्दा पनि लाख रुपैयाँ जम्मा हुँदैन। कलाकार त मारमा नै छन् सँधैभरि। आशमायाको आँखामा चमक देखियो। नुर्पु हातमा प्लास्टिकको ब्याग झुन्ड्याएर पहिरो तर्दै थियो। ऊ जति-जति नजिक आउँथ्यो, त्यति-त्यति आशमायाको आँखाको चमक बढ्दै गएको देखिन्थ्यो...।
![]() |